सिद्धबाबामाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप



सरोज यादव, विराटनगर ।

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले दोस्रो पटक ७ दिनको म्याद थप गराएको छ । गत सोमबार ४ दिनको म्याद थप गरेको सुनसरी प्रहरीले जिल्ला अदालतबाट शुक्रबार सात दिनको म्याद थप गराएको हो । ‘माइनर हर्टएट्याक’का कारण विराट नर्सिङहोममा उपचार गराइरहेका गिरीलाई शुक्रबार एम्बुलेन्समा हालेर र्पुयाएपछि सुनसरी जिल्ला अदालतले म्याद थप गरेको हो । विराट नर्सिङहोममा उपचार गराइरहेका सिद्धबाबालाई सोमबार प्रहरीले आईसीयूबाटै नियन्त्रणा लिएर चार दिन म्याद थप गरेको थियो ।

शुक्रबार अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिनुभयो । अदालतमा म्याद थप पछि उनलाई विराट नर्सिङहोममा नै भर्ना गरिएको छ । सुनसरीको चतरा धाममा जगतगुरु श्रीरामानन्दचार्य सेवापिठ सञ्चालन गरिरहेका गिरीमाथि अनुयायी महिलाले बलात्कारको आरोप लगाउनु भएको छ ।

गत कात्तिक ४ गते आफू बलात्कृत भएको दाबी गर्दै कास्कीकी महिलाले एक महिनापछि प्रहरीमा जाहेरी दिनुभएको थियो । अस्पतालको डिलक्स कोठालाई हिरासत कक्ष बनाएका सिद्धबाबाको अस्पतालमै बयान लिइने सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिए । प्रहरीले कृष्णदासको सुरक्षामा खटिएका प्रहरी हवल्दारसहित अन्य सहयोगी र अनुयायीसँग बयान लिएको हो ।

विराट नर्सिङहोममा उपचार गराइरहेका सिद्धबाबाको बयानका लागि अनुसन्धान टोली अस्पताल आएको थियो । तर बिरामी भएको बताउँदै सिद्धबाबाले बयान दिन मानेका थिएनन् । पुनः म्याद थप भएपछि अस्पतालमै बयान लिने प्रहरीले बताएको छ । सुनसरी जिल्ला अदालतबाट म्याद थप गर्न उनलाई प्रहरीले शुक्रबार उनी उपचाररत विराटनगरको विराट नर्सिङ होमबाट लिएर गएको छ । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको को १ च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर उनलाई बिहान ११ बजे सुनसरीतर्फ लगिएको हो । कृष्णदासजीलाई लिनका लागि सुनसरी प्रहरीका प्रवक्ता डीएसपी विनोद शर्मा नेतृत्वको टोली विराटनगर आएको थियो । मंसिर १६ गते सोमबार उनी विरुद्ध अनुसन्धान गर्न अदालतबाट पहिलो पटक चार दिनको म्याद थप गरिएको थियो ।

पहिलो म्यादको समयसीमा सकिएपछि थप अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गर्न लैजानु परेको डीएसपी शर्माले बताउनुभयो । सुनसरीको चतरा धामस्थित आफ्नो आश्रममा लगेर कात्तिकको पहिलो साता बलात्कार गरेको भन्दै एक महिला अनुयायीले उनी विरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि मंसिर १२ गते बिहीबारबाट कृष्णदासजी अस्पताल भर्ना भएका थिए । उपचाररत अवस्थामै अनुसन्धान गर्न भन्दै उनलाई पक्राउ गरेर प्रहरीले गत सोमबार म्याद थपका लागि सुनसरी अदालतमा उपस्थित गराएको थियो ।

अदालतले कृष्णदासजी विरुद्ध चार दिनको म्याद थप गर्दै उपचारका लागि अस्पतालमै भर्ना गर्न आदेश दिएको थियो । साथै अदालतले अनुसन्धान अधिकृत र सरकारी वकिललाई अस्पतालमै गएर उनीसँग बयान लिन पनि आदेश दिएको थियो । डीएसपी शर्माले बयान लिन अस्पतालको आईसीयूमै पुगे पनि बिरामी रहेको भन्दै कृष्णदासजीले बोल्न अस्वीकार गरेको जानकारी दिनुभयो । चिकित्सकले पनि ‘माइनर हटअट्याक’ भनेर कृष्णदासजीसँग दोहोरो गफगाफ नगर्दा राम्रो हुने सुझाव दिएको शर्माको भनाइ छ । डीएसपी शर्माले दोस्रो पटक म्याद थप गरेपछि अनुसन्धानका लागि अदालतले दिएको आदेशअनुसार अघि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्