टोकियोमा नेपाली विद्यार्थीको निधन



राजबिन थापा, टोकियो ।

टोकियोमा एक जना नेपाली युवाको निधन भएको छ । अध्ययनका लागि जापान आएका डडेलधुरा भद्रपुर ५ घर भई हाल काठमाडौं निवासी २५ वर्षिय सुरज मल्लको गत आइतवार बिहान उपचारको क्रममा अस्पतालमा निधन भएको प्रहरी स्रोतले जनाएको छ ।

स्रोतकाअनुसार टोकियोको इकेबुकुरोमा बस्दै आएका मल्लको नेक्रोटाइजिंग एन्टरोकोलाइटिसका कारण मृत्यु भएको बताईएको छ । विरलै सुनिने यस रोग लागेमा आन्द्रामा समस्या उत्पन्न भई पाचन प्रणाली एवं रक्तसंचारमा गडबडी हुन जाने र हृदयघात पनि हुन सक्ने खतरा रहने बताईन्छ ।

नोवेम्वर ३० को राति उनलाई सास फेर्न असजिलो भएपछि इताबासीस्थित निहोन युनिभर्सिटी हस्पिटलमा भर्ना गरिएको रउपचारकै क्रममा आइतवार बिहान करीव ११ बजे तिर उनको निधन भएको प्रहरी जनाएको छ ।

प्रहरीले नेपाली राजदूतावासमार्फत नेपालमा रहेका उनका परिवारलाई खबर गरिसकेको र संभव भएसम्म स्व. मल्लका पिता आफै जापान आएर अन्त्येष्टि गर्ने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्