विपन्न परिवारलाई नगरको सहयोग



अमृत अर्याल, स्याङजा ।

जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर ४ को एक विपन्न परिवारलाई गल्याङ नगरपालिकाले सहयोग गरेको छ ।

गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीको नेतृत्वमा गएको टोलीले गल्याङ नगरपालिका वडा नम्बर चारको अधिकारीडाँडाका मनबहादुर थापाको परिवारलाई राहत सहयोग गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका मनबहादुर थापाको निधन भएपछि उनको परिवारलाई राहत स्वरुप चामल, दाल, तरकारी, नुन, तेल सहितका सामाग्री लिएर नगरप्रमुख अधिकारी थापा परिवारलाई भेट्न अधिकारीडाँडा पुग्नुभएको थियो । थापाको निधन भएको दशौं दिनको दिन करिब २० हजार रुपैयाँ बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको नगरपालिकाका प्रेस संयोजक केपी खनालले जानकारी दिनुभयो ।

मनबहादुर थापाका चार छोरा छन् । आफ्नै घर जग्गा नभएको विपन्न परिवार भएकाले अन्य सहयोग गर्न आफन्त तथा परिवारजनले आग्रह गरेका थिए ।

जवाफमा नगरप्रमुख अधिकारीले घर बनाउनका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो । नगरपालिकाले गरिब तथा विपन्नका लागि बढि प्राथमिकता दिएको भन्दै उहाँले आगामी दिनमा आवश्यक पर्ने सबै खालको सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

राहत सामाग्री लिएर सँगै पुग्नुभएका वडा नम्बर चारका अध्यक्ष नेत्रप्रसाद पाण्डेले थापाको परिवारलाई घर बनाउनका लागि आवश्यक जग्गाको प्रबन्ध गर्ने बताउनुभयो ।

राहत सामाग्री वितरणमा नेपाल कम्युनिष्ट पार्टी नेकपा गल्याङ नगरपालिकाका कार्यलय प्रमुख छविलाल भूषाल, नेपाली काङ्ग्रेसका स्थानीय नेता ढाकाराम न्यौपानेको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्