निर्जीवन बीमा कम्पनीहरूले ११ अर्ब रुपियाँभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी



नेपाल समाचारपत्र, काठमाडौं
निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको प्रथम त्रैमाससम्म ११ अर्ब रुपियाँभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ। निर्जीवन बीमा कम्पनीहरूले प्रकाशित गरेको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीमध्ये १९ वटा कम्पनीले ११ अर्ब १६ करोड ८४ लाख रुपियाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको हो।

उक्त अवधिमा सबैभन्दा धेरै भुक्तानी हुन बाँकी दाबी रकम प्रिमियर इन्स्योरेन्स कम्पनीको रहेको छ। कम्पनीको भुक्तानी हुन बाँकी दाबी रकम एक अर्ब ८५ करोड ९७ लाख रुपियाँ रहेको छ। त्यस्तै दोस्रोमा हिमालयन जनरल इन्स्योरेन्सको रहेको छ। कम्पनीमा भुक्तानी हुन बाँकी दाबी रकम एक अर्ब ५४ करोड ३० लाख रुपियाँ रहेको छ। तेस्रो कम्पनीमा एभरेष्ट इन्स्योरेन्स रहेको छ। पहिलो त्रैमासको अवधिसम्ममा भुक्तानी हुन बाँकी रहेको दाबी रकम ९९ करोड २१ लाख रुपियाँ रहेको छ। नेपाल इन्स्योरेन्सले ९७ करोड ६५ लाख रुपियाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ।

यस्तै शिखर इन्स्योरेन्सको भुक्तानी गर्न बाँकी दाबी रकम ८५ करोड८१ लाख रुपियाँ रहेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्रकाशित वित्तीय विवरणअनुसार एनएलजी इन्स्योरेन्सले ८२ करोड ४० लाख रुपियाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ। यसैगरी सिद्धार्थ इन्स्योरेन्सको भुक्तानी हुन बाँकी दाबी रकम ७० करोड २८ लाख रुपियाँ रहेको छ।

चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा आइएमई जनरल इन्स्योरेन्सले ६३ करोड ३३ लाख रुपियाँ दाबी भुक्तानी गर्न बाँकी रहेको देखिएको छ। यसैगरी लुम्बिनी जनरल इन्स्योरेन्सले ५७ करोड ५७ लाख रुपियाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ। प्रुडेन्सियल इन्स्योरेन्सले ५३ करोड ९२ लाख रुपियाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ। नेसनल इन्स्योरेन्सको भुक्तानी गर्न बाँकी दाबी रकम ४५ करोड ७२ लाख रुपियाँ रहेको छ। नेको इन्स्योरेन्सले ३९ करोड ३७ लाख रुपियाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ।

युनाइटेड इन्स्योरेन्सको भुक्तानी गर्न बाँकी दाबी रकम ३० करोड ३ लाख रुपियाँ रहेको छ। यस्तै प्रभु इन्स्योरेन्सले १५ करोड ७ लाख रुपियाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ। सगरमाथा इन्स्योरेन्सको भुक्तानी गर्न बाँकी दाबी रकम १० करोड ५८ लाख रुपियाँ रहेको छ। यस्तै सानिमा जनरल इन्स्योरेन्सले ९ करोड ५ लाख रुपियाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ।

जनरल इन्स्योरेन्सले ४ करोड ३७ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ। यस्तै अजोड इन्स्योरेन्सले ४ करोड ११ लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ। राष्ट्रिय बीमा कम्पनी र दि ओरियन्टल इन्स्योरेन्स कम्पनीको दाबी भुक्तानी सार्वजनिक हुन बाँकी छ। यी दुई कम्पनीहरूको भुक्तानी गर्न बाँकी दाबी रकमसमेत गरेर १२ अर्बभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी देखिएको छ।

प्रतिक्रिया दिनुहोस्