ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा



नेपाल समाचारपत्र, काठमाडौं ।

लुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ।

पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने चार्ज लक्ष्यका साथ जीआईएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ। मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्कबेर सबस्टेसन ठूलो हब बन्नेछ। सबस्टेसन चार्ज भएपछि नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुनेछ। ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो।

‘सबस्टेसनमा रहने ट्रान्सफर्मको क्षमता ९४५ केभीए छ, २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ, वर्षायाममा बढी भएको खण्डमा ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ,’ उहाँले भन्नुभयो– ‘हिउँदमा आवश्यक परेमा न्यूनतम ६०० मेगावाट आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ।’ दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ।

ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइने २२० केभीमा सञ्चालनमा छ। ढल्केबरमा ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४०० केभीमा सञ्चालन हुने छ। माथिल्लो तामकोसीबाट असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ। आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोंगरबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हँुदै ढल्केबर ल्याइनेछ। यसका लागि आयोजनाले गोंगर–खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएको छ। खिम्ती– ढल्केबर प्रसारण लाइन यसअघि नै सञ्चालनमा आइसकेको छ।

सबस्टेसनको कन्ट्रोल रुम रहने भवनसहित अन्य उपकरण रहने भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। सबस्टेसनमा रहने तीन वटा ट्रान्सफर्मरमध्ये एउटा निर्माणस्थलमा आइसकेको छ। बाँकी दुई वटा एकहप्ताभित्र आयोजनास्थलमा ल्याइसकिने छ। यसैगरी, ८० एमभीएआर क्षमताको रियाक्टर पनि ल्याइसकिएको छ। अन्य उपकरणहरू निर्माणस्थलमा आइसकेका छन्। उपकरणहरूको जडान धमाधम भइरहेको छ।

सबस्टेसनमा ३१५ एमभीएका तीन वटा गरी ९४५ एमभीए क्षमताको ट्रान्सफर्मर रहने छन्। जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन्। करिब दुई अर्ब रुपियाँ लगानीमा निर्माणाधीन ४००÷२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो। सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरेकोछ।

प्रतिक्रिया दिनुहोस्