प्याज किन्ने पैसाले बरु शेयर किनौं



नेपालीहरूको बानी नै हो, जुन चिजको मूल्य धेरै बढ्छ, धेरै हल्ला गरेर त्यही चिज बढी किन्ने। त्यसपछि झन् मूल्य बढाउन भूमिका खेल्ने। जुन चिजको मूल्य धेरै घट्छ, त्यतिखेर सित्तैमा दिए पनि कसैले नकिन्ने।
|
शेयर बजारमा अहिले यस्ता बैंक तथा वित्तीय संस्था र कम्पनीहरूका शेयर छन्, जसले वार्षिक १० प्रतिशत लाभांश मज्जाले दिँदै आएका छन् र यस बर्ष पनि दिन सक्छन्, उनीहरूको भाउ २५० रुपियाँभन्दा तल झरेको छ। एक किलो प्याज किन्ने पैसाले लाभांश दिने र राम्रै कम्पनीको तीन कित्ता शेयर मज्जाले आउँछ। यस्ता कम्पनीहरू तीन दर्जनको हाराहारीमा छन्, कुन कम्पनी कस्तो हो भनेर लगानीकर्ता स्वयंले गहन अध्ययन र विश्लेषण गरी एउटा हैन, १० वटा कम्पनीमा लगानी गर्नुपर्छ। गतवर्षहरूमा लाभांश नदिएका र यस वर्ष पनि दिन नसक्ने खराब कम्पनीहरूको शेयर जति सस्तो भए पनि किन्नु हुँदैन।

प्याज र शेयरमा फरक धेरै छ। आज किनेर ल्याएको प्याजले तरकारी र मासुलाई स्वादिलो त अवश्य बनाउँछ तर त्यो अर्को दिन दिसा बनेर गएपछि उपयोगिता सकिन्छ। प्याज बेच्नेले धेरै नाफा कमाएर धनी बनिरहेको हुन्छ। वास्तवमा त्यो प्याज नेपाली किसानहरूको उत्पादन पनि हैन, भारत र चीनबाट आयात हुने वस्तु भएकाले विदेशी मुद्रा बाहिरिन्छ। प्याज नराखे पनि तरकारी र मासु स्वादिलो नै हुन्छ। थप स्वादको आवश्यकता परे धनियाँको पात, लसुन र अरू सस्ता मसलाहरू उपयोग गर्न सकिन्छ। शेयर बजारमा सस्ता तर राम्रा कम्पनीको शेयर किनेर लाभांशमा आधारित लगानी विविधीकरण गर्ने हो भने त्यो पैसा हामीसँगै रहन्छ। आवश्यक परेको बेला शेयर बेचेर तीन दिनमा पैसा निकाल्न सकिन्छ।

प्याज किन्नुको सट्टा लाभांश दिने सस्ता कम्पनीका शेयर किन्ने हो भने भोलि कैयौं केजी प्याज किन्न सकिने गरी लगानीकर्ताको भविष्य बन्न सक्छ। कम्पनीले दिने लाभांशले लगानीबापतको ब्याज सजिलै धान्छ भने भविष्यमा हुने पूँजीगत लाभले प्याजै प्याजको भण्डार किन्छु भन्नेलाई पनि लगानीयोग्य रकम मज्जाले उपलब्ध हुन्छ। सर्वसाधारण लगानीकर्ताले यदि आफूलाई भविष्यमा धनी बनाउन चाहन्छन् भने प्याज बजारमा जान बन्द गरी अहिले शेयर बजारमा शेयर सस्तिएको बेलामा धमाधम छानी–छानी सस्ता तर राम्रा कम्पनीको शेयर उठाउँदा राम्रै हुन्छ। प्याजको भाउ बढ्यो भनेर हल्ला र रुवाबासी गर्नेहरूलाई छाडिदिऊँ, उनीहरू त्यसै गरिरहून्। प्याजको भाउ कसरी घटाउने भन्ने जिम्मा हाम्रो हैन, अर्थमन्त्री युवराज खतिवडाको हो। किनभने उनले शेयरको भाउ पनि कसरी अरू घटाउने भनेर गज्जबको जुक्ति निकालेका थिए र अहिलेको अवस्था आएको हो। अब प्याजको जिम्मा पनि उनैलाई दिऊँ र हामी चाहिँ शेयर बजार छिरौं।
– दीपेन्द्र गिरी, बालुवाटार, काठमाडौं।

चिसोमा विशेष ध्यान
दिन जरुरी
गर्मी महिना सकिएसँगै क्रमिकरूपमा जाडोले छोप्न थालेको छ। विशेषतः गर्मी समयमा भन्दा जाडो मौसममा बालबालिका र वृद्धवृद्धालाई चिसोका कारण स्वास्थ्यमा विभिन्न समस्या देखा पर्ने गर्छ। चिसोबाट जोगिन सकियो भने धेरै रोगबाट बच्न सकिन्छ। चिसोले कठ्यांग्रिएर मजदुर र विपन्न वर्गको बिजोग हुने गरेको पाइन्छ। पूर्वी नेपालको तराई मधेस र पश्चिम नेपालको पहाडी जिल्लाहरूमा बढ्दै गरेको चिसोको कारण जनजीवन प्रभावित भएको छ। चिसो बढेसँगै देशभरका अस्पताल, स्वास्थ्य चौकीहरूमा बिरामीको चाप पनि बढेको छ। चिसोसँगै भाइरल ज्वरोको प्रकोप बढ्ने सम्भावना देखिएको छ। पश्चिम नेपालको जुम्ला र हुम्ला जिल्लामा तापक्रम घटेको छ। त्यस क्षेत्रको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको छ। मुगुमा तापक्रम घट्ने क्रम रोकिएको छैन। पूर्वी तराईका विभिन्न जिल्लामा पनि चिसो बढेको छ।
तराईका जिल्लामा न्यानो कपडाको अभावमा गरिब र विपन्न समुदायका ज्येष्ठ नागरिकको बर्सेनि चिसोले कठ्यांग्रिएर मृत्यु हुने गरेको छ। यसपालि पनि बेलैमा ध्यान दिइएन भने त्यसो नहोला भन्न सकिन्न। बढ्दो चिसोका कारण स्वास्थ्य संस्थाहरूमा कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रश्वासका बिरामीको संख्या बढेको छ। चिसोले दम, निमोनिया, कोल्ड डायरिया, घाँटी दुख्नेजस्ता समस्याले पीडित मानिसहरू बढेका छन्।

पश्चिम र पूर्वी तराईमा बाक्लो हुस्सु देखिन थालिसकेको छ। यसका कारण जनजीवन कष्टकर बन्न पुगेको छ। चिसोको कहरले हरेक वर्ष गरिब तथा विपन्न मानिसको अकालमै मृत्यु हुने गरे पनि सरकारले पर्याप्त न्यानो कपडा वितरण गर्न सकेको छैन। तराईमा फुसको छानामा बस्नेहरूको आङमा न्यानो कपडा नपरेरै मृत्यु हुनुपर्ने नियति छ। महोत्तरी, सिरहा, सप्तरीलगायत धेरै जिल्लामा बसोबास गर्ने मुसहर, माझी, दलितलगायतका समुदाय चिसोको चपेटामा पर्ने गरेको खबर यसपालि सुन्न नपरोस्। उनीहरूलाई चिसोको कहरबाट जोगाउन ज्यान छोप्ने न्यानो लुगा र ओढ्ने–ओछ्याउनेको प्रबन्ध गर्नुका साथै चिसोका कारण बिरामी पर्नेहरूलाई उचित उपचारको व्यवस्था मिलाउन जरुरी देखिन्छ।

अझैसम्म घर नबनाएका भूकम्पपीडित टहरोमै बस्न विवश छन्। तराईका जाडो पीडितलाई सरकारले चिसोबाट बच्न स्थायी उपाय सिकाएको छैन। यस्तै पहाडी क्षेत्रमा भूकम्प प्रभावितलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समयमै घर निर्माण गर्ने वातावरण नमिलाउँदा समस्या झनै बढेर गएको छ। यी सबै प्रतिकूल परिस्थितिको मार खेप्न विवश भएका छन् गरिब र विपन्न जनता। अब चिसोको चपेटामा परेकाहरू र पर्न सक्ने सम्भावित स्थानहरूको तथ्यांक संकलन गरेर उनीहरूलाई राहत दिने व्यवस्था थालनी गर्नुपर्छ। सर्वप्रथम चिसोमा ओत लाग्न नसक्ने घरलाई शीत नचुहिने बनाएर पीडितका लागि लत्ताकपडा र खाद्यान्नसमेत व्यवस्था गर्नु जरुरी हुन्छ। चिसोमा झोलयुक्त तातो परिकारले स्वास्थ्य स्थिति सहज हुन्छ। त्यसैले सरकारले जनप्रतिनिधिमार्फत दाल, गेडागुडीलगायत खाद्यान्न वितरण गर्नुपर्छ। चिसोको कहर सहन विवश जनताका लागि स्थायी उपाय खोज्नेतर्फ सरकारले गम्भीरतापूर्वक पहल गर्नु आवश्यक देखिएको छ। नेपाल सरकारले यो विषयलाई गम्भीरतापूर्वक लेओस्।
चिसोबाट जोगिन धुवाँ–धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसमअनुसारका ताजा फलपूmल तथा सागपात पर्याप्त मात्रामा खाने गर्नुपर्छ। साथै सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा तातो झोल पदार्थ खाने गर्दा पनि चिसोबाट बच्न सकिन्छ। यसका अतिरिक्त धूलो, धुवाँ, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नुपर्छ। शरीर तथा कोठा न्यानो बनाउने निहुँमा धूमपान–मद्यपान गर्ने, झ्याल–ढोका थुनेर गुइँठा–दाउराको आगो बाल्ने जस्ता कार्य गर्नुहुँदैन। सबै नागरिस सचेत बनेर पुस र माघलाई कसरी सकुशल धकेल्ने भन्ने विषयमै केन्द्रित हुनुपर्ने भएको छ। बिरामी र केटाकेटीका लागि कालकै रुप भएर चिसो आएको छ। चिसो र हुस्सुबाट जोगिएर खानपिनमा पनि विशेष ध्यान दिनु जरुरी छ।
– सविता कार्की, कोटेश्वर, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्