“शायर” टेलरमास्टर



कुमार श्रेष्ठ, बाँके

प्रत्येक महिनाको अन्तिम शनिबार मोहम्मद मुस्तफा अहसन कुरैसी महेन्द्र पुस्तकालयमा भेटिन्छन्। उनी त्यहाँ उर्दु शेर वाचन गर्न पुग्छन्। महिनाको अन्तिम शनिबार हुने विशेष गजल गोष्ठीका कुरैसी मियो नै हुन् भन्दा हुन्छ।

२०३३ साउन १ गते स्थापना भएको साहित्यिक संस्था गुल्जर–ए–अदवका कुरैसी सचिव छन्। विशेष गोष्ठीमा एक लाइन दिने र त्यसैमा गजल बनाउनुपर्छ। त्यो लाइन दिने काम कुरैसीले गर्छन्। ‘घरमै बनाएर ल्याएर त जसले पनि पढ्न सक्छ नि ! हामीले कार्यक्रममा उपस्थित भएपछि एक लाइन दिएर त्यही गजल बनाउन लगाई वाचन गर्न लगाउँछौं’, उर्दु शायर कुरैसीले भन्नुभयो– ‘त्यही भएर विशेष गजल गोष्ठी भनिएको हो।’

घृणाबाट होइन, प्रेमबाट अगाडि बढ्दा गन्तव्यमा पुगिन्छ। जन्मस्थललाई घृणा होइन प्रेम गर्नुपर्छ। देशबाट कुनै जात, समुदाय विशेषले मात्रै फाइदा लिने होइन, सूर्यले बराबरी प्रकाश छरेजस्तो हुनुपर्छ।

महिनाको अन्तिम शनिबार हुने विशेष गजल गोष्ठीमा ८/१० जना सहभागी हुने गर्दछन्। कहिलेकाहीं धेरै हुन्छन्। त्यहाँ नेपाली, उर्दु, हिन्दी, अवधि भाषामा गजल गुञ्जिन्छन्। गजल बनाउन सजिलो हुँदैन। काफिया, रदिफ, छन्द (बहर) मिलाउनुपर्छ। शायर कुरैसी नेपाली गजलमा काफिया र रदिफ मिले पनि छन्द मिलाउन धेरैले नसक्ने बताउनुहुन्छ। कतिपय नेपाली साहित्यकारहरू उर्दुजसरी नेपालीमा छन्द मिलाउन सजिलो नहुने बताउँछन्। कुरैसी यो कुरा मान्न तयार छैनन्। उहाँ भन्नुहुन्छ– ‘मोतीराम भट्टले छन्द मिलाउँथे। घनश्याम न्यौपानेले छन्द मिलाउँछन्। नेपालीमा शब्द नै नभएको त कहाँ हो र ?’

उर्दु शायर कुरैसीको जीवन धान्ने पेसा टेलरिङ हो। ५९ वर्षका कुरैसीले १७ वर्षको हुँदादेखि सिलाइको काम गर्दै आएका छन्। उनले नेपालगन्ज–८ मा रहेको आफ्नै घरमा टेलर राखेका छन्। कुरैसीको पपुलर टेलर त्यसअघि २२ वर्षसम्म त्रिभुवनचोकमा थियो। प्रत्येक महिनाको अन्तिम शनिबार कुरैसीको पपुलर टेलर बन्द हुन्छ। विशेष गजल गोष्ठीको आफैंले सबै चाँजोपाँजो मिलाउनुपर्ने भएकाले त्यो दिन उनी टेलर बन्द गरेर खटिन्छन्। साहित्यकारको जमघट बनाउने मात्रै होइन, उनीहरूलाई चियाको व्यवस्था उनैको जिम्मामा पर्दछ। ‘व्यवसाय (टेलर) पनि बन्द गरौं। उता गएर खर्च पनि गरौं, यस्तै भइरहेको छ’, कुरैसीले भन्नुभयो– ‘शौख न पर्यो। गरिरहेको छु।’
अरू दिन पनि कुरैसी कपडा सिलाइरहेको त हुन्छन्। तर, गजल गुन्गुनाइरहन्छन्। कपडामा हात हुन्छ। मेसिनको पाउदानमा खुट्टा। आँखाले सियो र कपडाको जोर मिलाइरहेको हुन्छ। कुरैसी गुन्गुनाउन छोड्दैनन्।

गजल कति बेला लेख्नुहुन्छ ? कुरैसी भन्नुहुन्छ– ‘लेख्छु भनेर गजल लेखिँदैन। बस्दाबस्दै, हिँड्दाहिँड्दै, कुनै घटना सम्झिँदा गजल बन्छन्।’
कुरैसीले बोल्दाबोल्दै त्रिभुवनचोकमा राखिएको पूर्वराजा त्रिभुवनको शालिकबारे लेखिएको गजल गुन्गुनाइहाले।

‘चेहेरेको किया जख्मी, बाजुको भी तोडा हे,
पर वो न मेटा पाए, होटे पे तबस्सुमको।’

दोस्रो जनआन्दोलन २०६२/२०६३ सालमा त्रिभुवनचोकमा रहेको पूर्वराजा त्रिभुवनचोकको शालिक तोडफोड भएको थियो। एक दिन सुनारमन्डीमा रहेको नेपाली मस्जिदमा नमाज पढ्न जादा कुरैसीले शालिक तोडफोड भएको देखे। उत्तिनैखेर उनले यो शेर बनाइहाले, ‘अनुहारलाई घाइते बनाए। हातलाई पनि भाँचे। तर, उनीहरूले मुस्कानलाई मेटाउन सकेनन्।’

नेपालगन्जमा विभिन्न जातजाति, भाषाभाषीका समुदाय बस्छन्। बेला–बेलामा यहाँ आपसी मतभेद सिर्जना हुन्छन्। सानो विवादले ठूलो धनजनको क्षति पुर्याउँछ। भाषा, धर्म, जात, समुदाय भन्दा उठ्ने साहित्यकारलाई यस्तो बेलामा ठूलो पीडा हुने गर्दछ। आपसमा लडेर होइन, जुटेर अघि बढ्न प्रेरणा दिन्छन्। लडाइ, झगडा, घृणाले घर, समाज, देश बन्न सक्दैन। व्यक्ति, समाज र देशको उन्नतिका लागि आपसमा मेलमिलाप आवश्यक पर्छ। नेपालगन्जमा बेला–बेलामा हुने आपसी भेदभावका झगडालाई सम्झिएर कुरैसी लेख्नुहुन्छ–

नफरत और ताअसुवका माहौल बना क्यू है ?
क्या इन्ही फसादो से नेपाल नयाँ होगा ?
जब एक बनेंगे हम तब नेक बनेंगे हम
नेपाल दुनिया मे फिर रुतवा वडा होगा।

घृणाको वातावरण किन बढेको छ। यस्तै दंगाबाट नेपाल नयाँ हुन्छ ? हामी सबै एक भएर राम्रो भएपछि नेपालको नाम उच्च रहन्छ। शायर कुरैसीले दिन खोजेको सन्देश यस्तो थियो। समाजमा देखिएका विकृति, विसंगतिलाई उर्दु साहित्यबाट उजागर गर्छन् कुरैसी। नेपालगन्जमा उर्दु साहित्यकारको नाम लिँदा ओठमा झुन्डिहाल्ने परिचय बनाएका कुरैसीले २०५३ सालदेखि शेर वाचन गर्न शुरू गरेका हुन्।

उनी कसरी उर्दु शायर बने भन्ने पनि रोचन नै रहेको छ। उनका एक जना साथी (सिनियर) जमिल हासमी थिए। उनी शेर भन्थे। काफिया र रदिफ मिलाउँथे। बहर (छन्द) मिलाउन गाह्रो मान्थे। नेपालगन्जका पुराना शायर अब्दुल ललित शौककहाँ सिक्न जान्थे। जमिलले कुरैसीलाई शौकबाट बहर सिकेर आफूलाई सिकाइ दिन आग्रह गरे। त्रिभुवनचोकमा सिलाइको काम गर्ने कुरैसी शौकको घरमा पुगे। शौकका छोरा कुरैसीका साथी नै थिए। शौकले छन्दका साथै काफिया, रदिफ सिकाइदिए।

उनीले जमिललाई भनिदिए। अनि, आफ्नै काममा लागि रहे। शौकले भने भेट्ने बित्तिकै मैले सिकाइ दिएअनुसार खोई त तिमीले शेर बनाएको भन्न थाले। पटक–पटक भन्न थालेपछि कुरैसीले एक दिन शेर बनाएर शौकलाई देखाइदिए। शौकले तिमीले धेरै राम्रो गर्यौ। धेरै वर्षदेखि शायर बनेकाले मिलाउन नसक्ने कुरा तिमीले मिलाइदियौ भनेर हौसला प्रदान गरे। शौकको त्यो हौसलाले कुरैसीलाई शायरमा तान्यो। कुरैसी भन्नुहुन्छ– ‘हौसला भन्ने एक शब्दले मान्छेको गन्तव्य बदल्न सक्छ। म पनि शौकको एक शब्द हौसलाले गर्दा शायर भएँ।’

कुरैसीले धेरै पढेका छैनन्। उनको नेपाली भाषा राम्रो छैन। उनले उर्दु शेरभन्दा जो–कोहीको मुखबाट वाहवाही निस्किन्छ। ताली बज्छन्। मदरसा सत्तरिया (फैजनब्बी) बाट आठ पास गरेका कुरैसीले भारतको अलीगढ उर्दु विश्वविद्यालयबाट (प्राइभेटमा परीक्षा दिएर) अदिव (एसएलसी सरह) उत्तीर्ण गरेका छन्।
कुरैसीको शब्द चयन गजबको छ। नेपाल कहिल्यै कसैको गुलाम भएन। विश्वका मै हुँ भन्ने शक्तिशाली राष्ट्रहरू कयौं वर्षसम्म अर्काको अधीनमा परे। कुरैसी भन्नुहुन्छ–

फख्र से सर सदा जिसका ऊँचा रहा
जिसका रौशन अमि माजी–ए–हाल है
जिसने तौके गुलामीको महना नही
सिर्फ ऐसा मेरा देश नेपाल है।

नेपालगन्ज मुसायराको धनी शहर हो। २०३० को दशकमा यहाँ धेरै मुसायरा हुन्थे। नेपालका मात्रै भएर भारतका प्रसिद्ध साहित्यकारहरू मुसायरामा आउँथे। फारुक अहमद आरिफले सञ्चालन गरेको बज्म–ए–अदब चर्चित थियो। मो. अमिन खयाली, मो. उमर असर, मो. युनुस अदिव, अब्दुल लतिफ शौक चर्चित नाम थिए। खाना खाएर रातभरि रचना वाचन गर्नुलाई मुसायरा भनिन्छ। मुसायरा आयोजना गर्दा खर्च बढी लाग्छ। २०३३ सालमा त्यही बज्म–ए–अदबबाट छुट्टिएर गुज्लर–ए–अदब बनेको कुरैसी बताउनुहुन्छ।

कुरैसीको परिवारमा कोही शायर छैनन्। उनको समुदायमा नै एक जना मात्रै शायर थिए, नन्हे कैफ कुरैसी। अब अर्को मान्छे अगाडि आउने छाँट पनि देखिँदैन। कुरैसीले शायर हुन नयाँ पुस्ताले चासो नदेखाएको गुनासो गर्नुहुन्छ। ‘हामीले प्रत्येक महिना विशेष गजल गोष्ठी गर्छौं। त्यहाँ नयाँ पुस्ता आएको पाइँदैन’, कुरैसीले भन्नुभयो– ‘नयाँ पुस्तालाई साहित्यमा खासै चासो छैन। उनीहरू मोबाइल, पैसाको पछि दौडिरहेका छन्।’

कुरैसीले गजल संग्रह प्रकाशित गरिसकेका छन्। उनको ‘सोज ए दिल’ (मुटुको जलन) गजल संग्रह २०६९ सालमा प्रकाशित भएको थियो। महिनैपिच्छे गजल लेखिरहने कुरैसीका ६ सय बढी गजल रहेका छन्। तर, त्यसलाई छापिदिने कसले ? एउटा गजल संग्रह त बल्ल–बल्ल प्रकाशित भयो।

नेपाल र भारतबाट विभिन्न ठाउँमा गजल भन्न पुगेका छन् कुरैसी। भारतको नानपारा, बहराइच, बारबन्की, नेपालको काठमाडौं, कपिलवस्तुमा भएका ठूल्ठूला साहित्यिक सम्मेलनमा पुगेर रचना वाचन गरेका छन्। अन्य ठाउँहरूबाट पनि कुरैसीलाई बोलावट आइरहन्छ। तर, उनी घरायशी समस्याले गर्दा जाँदैनन्। तर, जहाँ–जहाँ गएर उर्दुमा शेर भनेका छन्। त्यहाँ वाहवाही र तालीको गडगडहाट पाएका छन्। पत्रिकाको हेडलाइन भएका छन्।

भेरी साहित्य समाज तथा प्रगतिशील लेखक संघ, बाँकेका सदस्यसमेत रहेका कुरैसीलाई वाङ्मय प्रतिष्ठान केन्द्रीय समिति ५ नम्बर प्रदेश कपिलवस्तुले सम्मान गरेको छ। उर्दु भाषा साहित्यमा पुर्याएको योगदानको कदर गरेको छ।

लामो समय साहित्यमा लाग्नुभयो। के पाएजस्तो लाग्छ ? प्रश्न सोध्दा कुरैसीले भन्नुभयो– ‘तपार्इं मलाई खोज्दै आउनुभयो नि। त्यसै गरी अरू पनि आउँछन्। चिनिने मौका पाएँ। साथीभाइको माया पाएँ।’

मुस्लिमको चाडबाडमा कुरैसीको घरमा साहित्यकारहरूको जमघट हुने गर्दछ। साहित्यकारहरू मीठो पकवान खाँदै साहित्यिक माहौलमा झुम्मिन्छन्। अरूभन्दा पनि नेपाल परिवार दलका नेता पूर्वमन्त्री एकनाथ ढकाल दलबलसहित कुरैसीको घरमा पुगेर ‘मितज्यू’ लगाएर फर्किएछन्। यो दिन कुरैसी याद गरिरहन्छन्। ‘उहाँ (ढकाल) आउँदा ९० जना आएका थिए। मेरो घरवरिपरि मान्छे अटेका थिएनन्, त्यो दिन सम्झिएका कुरैसीले भन्नुभयोे– ‘मितज्यू लगाएर उहाँ फर्किनुभयो।’ क्रिस्चियन धर्मका अगुवा नै भनिने ढकालले मुसलमान कुरैसीलाई घरमा पुगेर मितज्यू लगाउनु पनि गजबकै संयोग मानिएको छ।

हुन त कुरैसी कुनै पार्टीमा आबद्ध छैनन्। नेताहरू मेरो पार्टीमा लागिदेऊ भन्न आइरहन्छन्। पार्टीमा लागेपछि निष्पक्षरूपमा साहित्यिक सिर्जना गर्न सकिँदैन भन्ने कुरैसीलाई लागेको छ। ‘घोचपेच भइहाल्छ। उसले मलाई नै भनेको हो भन्न बेर लाग्दैन’, कुरैसीले भन्नुभयो– ‘साहित्यकार, लेखक कुनै पार्टीको हुनुहुँदैन।’
घृणाबाट होइन, प्रेमबाट अगाडि बढ्दा गन्तव्यमा पुगिन्छ। जन्मस्थललाई घृणा होइन प्रेम गर्नुपर्छ। देशबाट कुनै जात, समुदाय विशेषले मात्रै फाइदा लिने होइन, सूर्यले बराबरी प्रकाश छरेजस्तो हुनुपर्छ। शायर कुरैसी लेख्नुहुन्छ–

मुस्लिम, पहाडी, थारू, मधेसी के वास्ते
अम्न व अमाँ जरुरी है सवही के वास्ते
सुरज की रोशनी ए भला किस के लिए है
थारू के वास्ते कि मधेसी के वास्ते
मुस्लिम फकत उठाता है सुरज के फाइदे
या रोशनी है इसकी पहाडी के वास्ते
सुरज चमक रहा है कहाँ एक कम पर
सुरज ही रोशनी तो है सब ही के वास्ते
बेसक इसी तरह है मेरा मुल्क की मिसाल
नेपाल प्यारा देश है सबही वास्ते।।

कुरैसीको घरमा अगाडिपट्टीको सटरमा टेलर सञ्चालन गरिएको छ। त्यो सानो सटरमा उनले पाएका पुरस्कारहरू टाँगिएको छ। अनि, अहिलेसम्म पत्रपत्रिकामा उनका बारेमा आएको समाचारहरू कटिङ गरेर झुन्ड्याइएको छ। कुरैसी नेपालगन्जका मात्रै होइन, काठमाडौंमा बस्ने ठूला पत्रिकाका सम्पादकको नाम लिँदै बेला–बेलामा फोन आइरहने बताउनुहुन्छ। नेपालगन्जका चल्ताफुर्ता उर्दु शायरलाई फोन नगर्ने पनि को होला र ?

साहित्य फाँटमा लागेका या साहित्यिक व्यक्तित्वको खोजी गर्ने जो कोही नेपालगन्जमा ठोक्किने भनेकै कुरैसीसँग हो। उनको घरमा पुग्दा आतिथ्यले पनि उनमा साहित्यिक गुण भरिपूर्ण नै देखाउँछ।

प्रतिक्रिया दिनुहोस्