विकास र समृद्धिको मनोविज्ञान तयार हुनै बाँकीः मुख्य मन्त्री पोखरेल   



काठमाडौँ ।

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास र समृद्धिका बारे अहिलेसम्म राजनीतिक दलको मनोविज्ञान तयार भइनसकेको अवस्था रहेको बताउनुभएको छ ।

‘आर्थिक समृद्धि र राजनीतिक दल’ विषयक आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनता र राजनीतिक दलका कार्यकर्तालाई व्यवस्था परिवर्तनका लागि लामो समयसम्म राज्यविरुद्ध उतार्ने काम गरिएको हुँदा राज्य बनाउने मनोविज्ञानमा रूपान्तरण गर्न चुनौती भइरहेको धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “हामीले राज्य निर्माणको शिक्षा पर्याप्त दिन सकेका छैनौँ । राज्यको शक्तिका रूपमा रहेका जनता र कार्यकर्तालाई विगतमा राज्यविरुद्ध परिचालन गरिएको हुँदा अहिले राज्यको आवश्यकता र जनताको मनोविज्ञानबीच तालमेल हुन सकेको छैन ।”

पर्यटन र जलस्रोतका साथै कृषिका माध्यमबाट आयात प्रतिस्थापन गर्ने उद्योग स्थापनामा जोड दिँदै उहाँले प्रदेशको समृद्धिका लागि काठमाडौँकै जस्तो कम्तीमा पनि एक–एक वटा स्वास्थ्य र शिक्षाका गुणस्तरीय पूर्वाधार निर्माण आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा राजन भट्टराईले लोकतान्त्रिक माध्यमबाट समृद्धिको मार्गमा अघि बढ्ने क्रममा आइपर्ने चुनौतीलाई पन्छाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो ।

प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जनताको अपेक्षा सम्बोधन गर्ने मामिलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले अग्नि परीक्षामा रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रदेश नं १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले असल नागरिक उत्पादन गर्न र मुलुकमा अहिले अवलम्बन भएको विकासको ढाँचा परिवर्तन गर्ने कार्यमा सरकारले विशेष ध्यान पु¥याउन आवश्यक छ भन्नुभयो ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङगेलले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक स्थायित्वका साथै प्राविधिकरूपमा छलाङ मार्ने अहिलेको अवसरलाई उपयोग गर्न युवाशक्तिको परिचालन नै महत्वपूर्ण आधार भएको बताउनुभयो ।

युवा स्वरोजगार कोषका उपाध्यक्ष डा प्रेम दङ्गालले बहुराष्ट्रिय कम्पनीले कृषि बीउबिजनमा आधिपत्य कायम गर्न खोजिरहेको प्रति सरकार सचेत हुन आवश्यक छ भन्नुभयो ।

सांसद खेम लोहनी र पूर्वसांसद सावित्रा भुसालले स्थानीय तह विकास र समृद्धिको पक्षमा अग्रसर भएकै कारण स्वास्थ्य, शिक्षा, सडक यातायातका क्षेत्रमा निकै प्रगति भएको बताउनुभयो ।

पूर्वसांसद सुरेश आलेमगरले मुलुकले समृद्धि हासिल गर्न आर्थिक, सामाजिक, औद्योगिक, साँस्कृतिक र राजनीतिक विकास आवश्यक पर्ने धारणा व्यक्त गर्नुभयो ।

समारोहमा डा अधिकारी, उपाध्यक्ष ढुङगेल र डा दङ्गालले क्रमशः ‘नेपालमा समृद्धि र राजनीतिक दलहरु’, ‘समृद्धिका लागि युवा र कृषिप्रणाली’ तथा ‘खाद्य सम्प्रभुता र समृद्धि’ विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गरिएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्