उत्कृष्ट कार्य सम्पादन गर्ने महिला स्वास्थ्य स्वयम सेविका पुरस्कृत  



किरन धामी, दार्चुला ।

दार्चुलाको महाकाली नगरपालिकाले विभिन्न स्वास्थ्य चौकीमा काम गर्दै आइरहनु भएका महिला स्वास्थ्य स्वयम सेविकालाई विहीबार एक कार्यक्रमका विच पुरस्कृत गरेको छ ।

१६ औं महिला स्वास्थ्य स्वयम सेविका दिवसको अवसरमा महाकाली नगरपालिका र स्वास्थ्य कार्यालय दार्चुलाको सयुक्त आयोजनामा जिल्ला सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा १६ जना महिला स्वास्थ्य स्वयम सेविकालाई पुरस्कृत गरिएको महाकाली नगरपालिका स्वास्थ्य उपसंयोजक लालजिरा भट्टले जानकारी दिनुभयो ।

‘गाँउ नगरमा महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य प्रवद्र्र्धनमा अहम भुमिका’ भन्ने मुल नाराका साथ १६ औं महिला स्वास्थ्य स्वयम सेविका दिवस मनाइएको उहाले बताउनुभयो ।

दिवसको अवसरमा महाकाली नगरपालिका भित्र रहेको ५ वटा स्वास्थ्य चौकीमा कार्यरत १६ जना महिला स्वास्थ्य स्वयम सेविकालाई छनौट गरी पुरस्कृत गरिएको उहाको भनाई छ । महिला स्वास्थ्य स्वयम सेविकाले वर्ष भरी गरेका कामको मुल्याङ्कन गरी दिवसको अवसरमा पुरुस्कृत गरिएको उहाले जानकारी दिनुभयो ।

नगरपालिकाको खलंगा स्वास्थ्य चौकीमा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयम सेविका मध्ये ४ जनालाई पुरस्कृत गरिएको छ ।

मुल्याङ्कनमा महिला स्वास्थ्य स्वयम सेविका पाता महरा प्रथम, जननी ऐतवाल द्धितिय, लक्ष्मी महरा तृतिय र गौरी अवस्थी सानत्वना स्थानमा परेको स्वास्थ्य उपसंयोजक भट्टले बताउनुभयो ।

नगरपालिकाकै छापरी, कांटै, दत्तु र धापमा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकालाई समेत दिवसकै अवसरमा पुरस्कृत गरिएको उहाले जानकारी दिनुभयो ।

पुरस्कार वितरण गर्नु हुँदै महाकाली नगरपालिकाका उपप्रमुख सुना बोहराले स्वास्थ्य प्रवद्र्र्धनमा महिला स्वास्थ्य स्वयम सेविकाको अहम भुमिका हुने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्