नेपालको स्वर्ण संख्या २९ पुग्यो



नेपाल समाचारपत्र, काठमाडौं। 

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजक नेपालले अहिलेसम्म २९ स्वर्ण पदक जितेको छ। बुधबार नेपालले तेक्वान्दो र साइक्लिङमा २/२ तथा कराँते र उसुमा १/१ स्वर्ण गरी जम्मा ६ स्वर्ण जितेको हो। तर भारतले हिजै १७ स्वर्ण जितेर पदक तालिकामा नेपाललाई दोस्रो स्थानमा चिप्लन बाध्य तुल्यायो। नेपाल अघिल्ला दुई दिन पहिलो स्थानमा रहेको थियो।

बुधबार सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा तेक्वान्दोतर्फ ६ स्वर्णको प्रतिस्पर्धा हुँदा नेपालले २ स्वर्ण हात पार्यो। जसमा सक्षम कार्की र संगीता बस्यालले स्वर्ण जिते। महिला ६२ केजी तौलसमूह मुनिको फाइनलमा संगीताले भारतकी गगनजोत गिललाई १८–९ ले हराएकी हुन्। त्यस्तै सक्षमले भने फाइनलमा पाकिस्तानका वकर अलिलाई २७–९ ले हराउँदै स्वर्ण जितेका थिए।

महिलातर्फ ७३ केजीमाथि नेपालकी निसा रावल भारतकी रोदाली बरुवासँग ३२–९ ले हार्दै स्वर्णबाट वञ्चित भइन्। यस्तै अन्य नेपाली खेलाडीमा पुरुष ७४ केजीमुनि निश्चल श्रेष्ठ, ६३ केजीमुनि ज्ञानेन्द्र हमाल र ५३ केजीमुनि अस्मिता खड्काले कांस्य जिते।

त्यस्तै कराँतेतर्फ अनुपमा मगरले नेपाललाई स्वर्ण दिलाएकी छन्। अनुपमाले ६८ केजी तौलमाथिको महिलातर्फ फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराएकी हुन्। योसँगैं कराँतेमा नेपालले १९ स्पर्धामा १० स्वर्ण हासिल गरेको छ।यसैगरी साइक्लिङमा नेपालले दुई स्वर्ण हासिल गरेको छ। 

उसुमा नेपालका लागि दीपक हमालले स्वर्ण दिलाएका हुन्। लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा दीपकले पुरुष थाउलोको नानछ्वान अलराउन्डरमा १९.३२ अंक बटुल्दै स्वर्ण जितेका हुन्। यसअघि पुरुष थाउलोको चवाङक्वाङमा विजय सिञ्जाली र महिला थाउलोको चवाङक्वाङमा सुस्मिता तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए।

यस स्पर्धामा भारतका साजन लामाले १९.१२ अंक बटुल्दै रजत जित्दा बंगलादेशका मोहमद अमिर हुसेनले १७.१७ अंकका साथ कांस्यमा चित्त बुझाए।साइक्लिङतर्फ नेपालले २ स्वर्णसहित २ रजत र १ कांस्य जितेको हो।

डाउन हिल १ किलोमिटरअन्तर्गत् पुरुषतर्फ राजेश मगरले १ मिनेट ४९ सेकेन्ड समयसहित स्वर्ण जिते। गोकर्णस्थित शहीद पार्कमा भएको साइक्लिङको महिलातर्फ निश्मा श्रेष्ठले नेपाललाई स्वर्ण दिलाइन्।

लनटेनिसमा नेपाललाई कांस्य

१३औं सागअन्तर्गत लनटेनिसतर्फ नेपालले पुरुष र महिला इभेन्टमा कांस्य पदक जितेको छ। दुबै टोली भारतसँग समान ३–० सेटले पराजित भएका हुन्। पुरुष टोलीमा प्रणव खनाल, संरक्षक वज्राचार्यले प्रतिस्पर्धा गरेका थिए। त्यस्तै महिला टोलीबाट सलोनी तामाङ, प्रेरणा कोइरालाले खेलेका थिए।

खो खोमा नेपाललाई रजत

१३औं सागअन्तर्गत खो खोको महिलामा नेपालले बुधबार रजत जितेको छ। कीर्तिपुरस्थित नयाँ बजारमा भएको फाइनलमा भारतले नेपाललाई १७–५ ले पराजित गर्यो। पुरुषतर्फ भने नेपालले श्रीलंकालाई १३–७ ले हराएर कांस्य पदक जितेको छ। यसमा भारतले स्वर्ण जितेको हो। यसअघि १२औं सागमा दुबै विधामा नेपालले कांस्य जितेको थियो।
सरस्वती र कृष्णा हिट चरणबाटै बाहिरिए

१३ औं सागअन्तर्गत एथ्लेटिक्सको दोस्रो दिन पनि भारतको दबदबा कायम हुँदा नेपाली खेलाडीको प्रदर्शन कमजोर बनेको छ। महिला २ सय मिटर दौडमा नेपालका सरस्वती चौधरी र कृष्णा चौधरी हिट चरणबाटै बाहिरिए। सो विधामा भारतकी अर्चना सुरिन्थले स्वर्ण जितेकी छन्।

उनले पाकिस्तानकी नजमा प्रवीनलाई ३ सेकेन्डले पछि पारेकी हुन्। पुरुष १० हजार मिटर दौडमा भने नेपालका दीपक अधिकारीले ३० मिनेट ५०.०६ सेकेन्डमा दौड पुरा गर्दै कांस्य पदक प्राप्त गरे। सो विधामा भारतका सुरेश कुमारले स्वर्ण र श्रीलंकाका सानमुगेश्वरनले रजत पदक हात पारेका थिए।

अन्तिममा नेपाल स्तब्ध

१३औं सागअन्तर्गत् पुरुषफुटबलतर्फ श्रीलंकाविरुद्ध नेपाल खेलको अन्तिममा गोल बेहोर्दै स्तब्ध हुन पुगेको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा जिततर्फ अग्रसर भएको नेपालले इन्जुरी समयमा गोल बहोरेपछि १–१ बराबरीको नतिजा आत्मसात गरेको हो।

फ्रिकिकमा जुड सुपानले गोल गरेका थिए। यसअघि नेपाली कप्तान सुजल श्रेष्ठले ३६औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए। यो नतिजापछि नेपाल ४ अंकसहित ५ टोली सम्मिलित प्रतियोगितामा शीर्ष स्थानमा रहेको छ।

भुटान तीन अंकसहित दोस्रो स्थानमा छ। यस्तै श्रीलंका र माल्दिभ्सको समान दुई अंक छ। बंगलादेश एक अंक जोडेर पुछारमा छ। लिग चरणको समाप्तीमा शीर्ष दुई स्थान प्रँप्न गर्नेले फाइनलको यात्रा गर्नेछन्।

तस्वीर उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्