एडीपीसी र उद्योग वाणिज्य महासंघबीच सहमतिपत्रमा हस्ताक्षर



एसिएन डिजेस्टर प्रिप्यर्ड्नेस सेन्टर (एडीपीसी) र नेपाल उद्योग वाणिज्य महासंघबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। दक्षिण र दक्षिण पूर्वी एसियामा प्राकृतिक विपत्तिका बखत आइपर्ने समस्या एवं चुनौतीहरूबाट हुन सक्ने क्षति न्युनिकरणमा यस क्षेत्रका राष्ट्रहरूबीच सहकार्य गरी यस क्षेत्रका जनताको सुरक्षित व्यवस्थापन र दीगो विकासमा कार्यरत संस्थाबीच मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सोमबार र मंगलबार म्यानमारमा आयोजना भएको एशियन प्रिप्यर्डनेश पार्टनरशीप को पांचौ क्षेत्रीय बैठकका क्रममा महासंघका उपाध्यक्ष किशोर प्रधान र एडीपीसीका कार्यकारि निर्देशक ह्यान्स गुटम्यानले सहमतीपत्रमा हस्ताक्षर गर्नुभयो। उक्त कार्यक्रममा भाग लिन उपाध्यक्ष प्रधान हाल म्यानमारको भ्रमण हुनुहुन्छ।

हरेक वर्ष दक्षिण र दक्षिण पूर्वी एशियाका राष्ट्रहरूमा बाढी, पहिरो, भूक्षय, आँधी, भुकम्प लगायतका प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति हुंदै आएको छ। प्राकृतिक विपत्तिबाट यस क्षेत्रका जनताहरूको जीवन रक्षा एवं प्राकृतिक विपत्ति पूर्व अपनाउनु पर्ने सुरक्षा उपायहरूमा संयुक्त रूपमा सहकार्य गर्ने उद्देश्यले यो समझदारी भएको हो।

प्रतिक्रिया दिनुहोस्