‘सरकार बिचौलियाको प्रभावमा पर्दा तरकारीको भाउ आकासियो’



भूपराज बस्याल,काठमाडौ

सरकार बिचौलियाको प्रभावमा पर्दा तरकारी तथा फलफूलको बजार भाउ आकाशिएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभएको छ। बुधबार नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले सरकारले आफ्नो अधिकार प्रयोग नगर्दा बजार भाउमा एकरुपता आउन नसकेको गुनासो गर्नुभयो।

उपभोक्ताका लागि दैनिक जीवनमा आवश्यक पर्ने २९ वटा वस्तुमा सरकारले बजार मुल्य तोक्न सक्ने प्राबधान भएतापनि सरकार यसलाई कार्यान्वयन गर्न नसक्दा बजारभाउ आकाशिएको उहाँले उल्लेख गर्नुभयो। बजारमा जति मुल्यमा उतारचढाव आएपनि त्यसले उत्पादित वस्तुलाई कुनै असर पार्न नसकेको भन्दै उहाँले बिचौलियाको हातमा बजार हुँदासम्म यसको निराकरण हुन नसक्ने स्पष्ट पार्नुभयो।

नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘हामीले यस विषयमा पटकपटक सरकारको ध्यानाकर्षण गराएका छांै। कि बजार मुल्य बराबरको उत्पादन गर्ने कृषकले उचित मुल्य पाउनुपर्छ कि उपभोक्ताले सस्तोमा पाउनुपर्छ।’ उहाँले बजार मुल्य बराबरको उत्पादन गर्ने कृषकले पनि पाउन नसकेको बताउँदै विचौलियाको हातमा बजार हुँदा उपभोक्ताले पनि सस्तोमा सामान पाउन नसकेको उल्लेख गर्नुभयो।

कालिमाटी फलफुल तथा तरकारी बजार बिभाग नै बिचौलियाको चंगुलमा फसेको उहाँले आरोप लगाउनुभयो। उहाँले उसले सार्वजनिक गर्ने तरकारीको मूल्यले कृषक र उपभोक्तालाई मारमा पारेको र बिचौलियालाई सहयोग गर्ने गरेको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, ‘टमाटरको मंगलबारको कालिमाटीको खुद्रा मूल्य ९० देखि १०० रुपियाँसम्म भनेको छ तर ललितपुरमा ५० देखि ५५ मा पाइएको छ।

अब कालिमाटीको खुद्रा मुल्य अनुसार बजारमा १५० किलो सम्म टमाटरको भाउ पुग्ने देखिन्छ।’ खुद्रा कारोबार नै नहुने कालिमाटीले खुद्रा मूल्यको विवरण राख्न आवश्यक नहुने उहाँको तद्मर्क छ। उहाँले कालिमाटी तरकारी तथा फलफूल बिकास समिति स्वतन्त्र र निष्पक्ष भई उपभोक्ताको हितमा काम गर्न लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले समितिमा नागरिक समाज तथा उपभोक्ता समितिलगायतलाई पनि समेटेर अघि बढ्नेतर्फ ध्यानाकर्षण गराउनुभयो।

उहाँले कालिमाटी तरकारी बजारको एकाधिकार अन्त्य गर्नका लागि सरकारको प्रत्यक्ष निगरानीमा हुने गरी अन्य क्षेत्र पनि उपलब्ध गराइनुपर्नेमा जोड दिनुभयो। उपभोक्ताको दैनिक जीवनमा आवश्यक पर्ने २९ वटा वस्तुमा मुल्य निर्धारण गर्न सक्ने भएपनि यसको लागि सरकारले कुनै चासो नदेखाएको उहाँको गुनासो छ।

यता कालिमाटी तरकारी तथा फलफूल विकास समितिका अध्यक्ष रघुराम बिष्टले भने बजारमा तरकारीको अभाव भएका कारण बजार भाउ आकाशिएको बताउनु भयो। ‘म भर्खर आएको छु, म आएदेखि कालिमाटीलाई कृषक मैत्री बनाउन लागी परेको छु।’ केहि कुरा सच्याउनुपर्ने स्विकार गर्दै उहाँले आफू आए देखि नै त्यसमा लागि परेको दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्