सेरामिक कारखानामा भिषण आगलागी १८ भारतीयको मृत्यु



खार्तुम, (एजेन्सी)। 

सुडानको एक सेरामिक फ्याक्ट्रीमा लागेको भिषण आगलागीमा १८ भारतीय सहित २३ जनाको मृत्यु भएको छ। एलपीजी ट्यांकर विस्फोटका कारण भएको उक्त दुर्घटनामा १ सय ३० भन्दा धेरै घाइते भएका छन्।

यसअघि सुडानस्थित भारतीय दूतावासले खार्तुमस्थित सिला सेरिमिक फ्याक्ट्रीमा भएको यस घटनामा १६ भारतीय बेपत्ता रहेको जानकारी दिएको थियो। दूतावासले कम्पनीका काम गर्ने भारतीयमध्ये ३४ सुरक्षित रहेको बताएको छ।

दूतावासको विज्ञप्तिमा १८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको तर त्यसको आधिकारिक पुष्टि नभएको उल्लेख गरिएको छ। मृतकहरू बेपत्ता सुचीमा परेका हुन सक्ने दुतावासले जनाएको छ। जलेका कारण मृतकको पहिचान हुन नसकेको जनाइएको छ।

सुडान सरकारले उक्त घटनामा २३ जनाको मृत्यु भएको र १ सयभन्दा धेरै घाइते भएको जानकारी दिएको छ। घटनास्थलमा सुरक्षाका लागि आवश्यक उपकरण नभएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। ज्वलनशील पदार्थलाई अनुचित तरिकाले राखिएको र त्यसकै कारण आगो फैलिएको सरकारले जनाएको छ।

अस्पतालमा उपचार गराइरहेका ७ भारतीयमध्ये ४ को अवस्था नाजुक भएको बताइएको छ। घटनामा बच्न सफल ३४ भारतीयलाई सलुमी सेरामिक फ्याक्ट्रीको आवास गृहमा राखिएको छ। यसबीच भारतका विदेशमन्त्री जय शंकरले ट्विटमा उक्त त्रासदीपूर्ण घटनाको जानकारी दिँदै केही भारतीय कामदारको मृत्यु भएको पुष्टी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्