पूर्वगृह तथा वित्त मन्त्रीलाई जमानत



नयाँ दिल्ली, (एजेन्सी)। 

भ्रष्टाचारको अभियोगमा विगत १ सय ६ दिनदेखि कारागारमा थुनिएका भारतका पूर्ववित्तमन्त्री पालानियाप्पान चिदम्वरण जमानतमा रिहाइ हुने भएका छन्। बुधबार भारतको सर्वोच्च अदालतले थुप्रै सर्तको पालना गर्ने गरी उनलाई रिहा गर्न आदेश दिएको हो।

उनीमाथि सन् २००७ मा आफू वित्तमन्त्री रहँदा घूस लिएर विदेशी लगानी मिनाहा गरेको भन्ने आरोपमाथि अनुसन्धान भइरहेको छ तर उनले आफूमाथि लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गर्दै आएका छन्। भारतको प्रमुख विपक्षी पार्टी कंग्रेसका वरिष्ठ सदस्य रहेका ७३ वर्षीय चिदम्वरण सन् १९८४ देखि विधायक रहेका छन्।

साथै उनले भारतको गृहमन्त्रीको हैसियतले पनि सेवा गरिसको छन्। सर्वोच्च अदालतले उनी सरकारी अनुमति बिना विदेश भ्रमण गर्न नपाउने, कुनै पनि साक्षीसँग बस्न नपाउने तथा आवश्यक परेको खण्डमा कुनैपनि बेला हाजिर हुनपर्ने सर्त अघि सारेको छ।

साथै उनीमाथि कुनै पनि सञ्चार माधयमलाई अन्तर्वार्ता दिन तथा यस भ्रष्टाचार मुद्दासम्बन्धमा कुनै पनि सार्वजनिक अभिव्यक्ति दिनमाथि रोक लगाइएको छ। गत २१ अगस्टमा निकै नाटकीय शैलीमा उनलाई गिरफ्तार गरिएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)का अधिकारी पर्खाल चढेर उनको नयाँ दिल्लीस्थित निवासमा प्रवेश गरेका थिए। अचानक उनका समर्थक र सञ्चारकर्मीले उनको कारमा घेराबन्दी गरेपछि उनलाई करामा राखेर कुदाइएको थियो। यसअघि उनको वकिलको टोलीले जमानका लागि पटक पटक गरेको प्रयास असफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्