तीनै तहको सरकार बलियो : रक्षामन्त्री पोख्रेल



इलाम, (नेस)। 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले संविधानले दिएको अधिकारको प्रयोग गर्दै तीनै तहको सरकार उत्तिकै मजबुत भएको बताउनुभएको छ। बुधबार किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ६६औं जन्मोत्सवको अवसरमा भएको एक कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो।

मांसेबुङ गाउँपालिकामा भएको कार्यक्रममा मन्त्री पोखरेलले सरकारले सबै जाति र धर्मलाई समानरूपमा लिएको बताउँदै महागुरु फल्गुनन्दको ज्योती हिजो, आज र भोलि पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

यस्तै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले यो पवित्र स्थान भएर आवतजावत हुने दमक–रवि सडक पनि अबको तीन वर्षभित्रमा कालोपत्रे भइसक्ने बताउनुभयो। यस सडकभित्र पर्ने सबै खोलामा पक्की पुल पनि आगामी माघ महिनाभित्रमा शिलन्यास भइसक्ने बताउँदै अब यहाँ विकासको यात्रा शुरू भइसकेको बताउनुभयो।

नेकपा संसदीय दलका उपनेतासमेत रहनुभएका नेम्वाङले महागुरु फाल्गुनन्दको जन्म क्षेत्रमा विकासका लागि गुरुयोजना तयार भइसकेकाले दिगो विकासका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताउनुभयो।

धर्मगुरुको जन्मोत्सव उद्घाटनमा जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो। धर्मगुरु आत्मनन्द लिङदेनको जन्मोत्सवमा गाउँपालिकाले बुधबार सार्वजनिक बिदासमेत दिएको थियो।

प्रतिक्रिया दिनुहोस्