जिप दुर्घटनामा बेपत्ता एकको शव फेला



नेपाल समाचारपत्र, गुल्मी। 

गुल्मी र बागलुङको कोप्चेमा जिप दुर्घटनामा बेपत्ता भएका एकको शव फेला परेको छ। दुर्घटनामा इस्मा गाउँपालिका–४ बस्ने ६५ वर्षीय धनबहादुर कार्की शव फेला परेको प्रहरीले जनाएको छ। दुर्घटनामा बेपत्ता भएका कार्कीको शव दुर्घटनास्थल भन्दा तल खोलामा बुधबार भेटिएको हो।

जिल्लाको इस्मा गाउँपालिका–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको–७ कोप्चेमा दुर्घटनामा परको थियो। दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ। जिप दुर्घटनामा १ जना बच्चासहित १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा ३ जना गम्भीर घाइते भएका थिए।

उनीहरूको थप उपचारको लागि हेलिकोप्टरमार्फत मंगलबार नै काठमाडौं लगिएको छ। गुल्मीको इस्माबाट २४ जना जिपमा सवार रहेको र बीचबाटोमा प्रहरीले केहीलाई गाडीबाट झारेर अर्को गाडीमा पठाएको बताइएको छ। दुर्घटनामा परेको जिपमा १८ जना सवार रहेको बताइएको छ।

दुर्घटनामा परी मृत्यु हुनेको शोकमा इस्मा गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ। जिपमा सवार सबै गुल्मीबाट कुल पूजाका लागि बागलुङको निसीखोला गाउँपालिका हिँडेका थिए। पूर्वमन्त्री गोकर्ण विष्टले घाइतेको उपचारमा सरकारले कुनै कसुर बाँकी नराख्ने बताउँदै दुर्घटनाले गुल्मीलाई स्तब्ध बनाउनुका साथै अपुरणीय क्षती पुगेको बताउनुभयो।

मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

इस्माबाट बागलुङको निसीखोलातर्फ जाँदै गरेको लु१ज ५२१९ नम्बरको जिप मंसिर १७ गते बागलुङको बडिगाड गाउँपालिका–७ कोप्चेमा दुर्घटना हँुदा १४ यात्रुको निधन भएको र तीन जना गम्भीर घाइते भएको खबरले स्तब्ध बनाएको प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलद्वारा जारी शोक विज्ञप्तिमा उल्लेख छ।

दुर्घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको उल्लेख छ। साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको मुख्यमन्त्रीद्वारा विज्ञप्तिमा उल्लेख छ। दिनप्रतिदिन बढिरहेको सडक दुर्घटनाले नागरिकको ज्यान जोखिममा पर्दै गएको छ।

बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न सरकार संवेदनशील छ। सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरबाही, सवारी साधनको अवस्थालगायत विविध कारणले दुर्घटना भइरहेकाले दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष संवेदनशील हुन आवश्यक रहेको उल्लेख गरिएको छ।

दुर्घटनाको कारण पत्ता लगाएर आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिन सबै पक्षको सहयोग आवश्यक मुख्यमन्त्रीको शोक विज्ञप्तिमा उल्लेख छ।प्रदेश सरकारले दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा कार्यक्रम अघि बढाएको छ।

यो अभियानलाई सफल बनाउन स्थानीय तह, प्रहरी, यातायात व्यवसायी, मजदुरलगायत सबै सरोकारवाला निकायको एकताबद्ध र सार्थक पहलकदमी आवश्यक उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्