हाते ट्याक्टर वितरण गर्दै स्थानीय सरकार



नेपाल समाचारपत्र, रामेछाप। 

पछिल्लो समय गाउँघरमा किसानहरूले गाईवस्तु पाल्न छोडेसँगै खेतबारी जोत्नका लागि गोरु पनि पाइन छाडेका छन्। कृषकहरूले खेतबारी जोत्नका लागि गाउँमा गोरु नपाइएको गुनासो गरेपछि स्थानीय सरकारले हाते ट्याक्टर उपलब्ध गराउन थालेका छन्।

मन्थली नगरपालिका–१४ फुलासीका कृषकहरूलाई वडा कार्यालयले ट्याक्टर उपलब्ध गराएको छ। आधुनिक खेती प्रणालीमा सहयोग पुर्याउनुका साथै गोरु नपाइएको समस्या समधान गर्ने उद्देश्यले किसानहरूलाई ट्याक्टर उपलब्ध गराइएको वडा कार्यालयले बताएको छ।

वडा कार्यालयको आर्थिक सहयोग रह्याङला कृषि सहकारी संस्था लिमिटेड फुलासीको सहकार्यमा २४ वटा ट्याक्टर वितरण गरिएको वडाध्यक्ष भरतसिंंह वाइबाले बताउनुभयो। किसानहरूलाई ट्याक्टर हस्तान्तरण गर्दै वडा अध्यक्ष वाइबाले कृषि क्षेत्रको विकासका लागि किसानको मागअुनसार जुनसुकै प्रकारको सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

कृषिको व्यवसायिकरण गर्नु नै वडाको आर्थिक समृद्धिको आधार भएको अध्यक्ष वाइबाको भनाइ रहेको छ। २४ वटा ट्याक्टर खरिद गर्न २० लाख ५२ हजार खर्च भएको वडाध्यक्ष वाइबाले बताउनुभयो। त्यस्तै किसानहरूलाई घँँस काट्नका लागि पनि दुई वटा घाँस काट्ने आधुनिक मेसिन उपलब्ध गराइएको छ।

आधुनिक कृषि प्रणालीमा थोरै समयमा धेरै काम गर्ने ट्याक्टरले किसानहरूलाई धेरै सहयोग पुग्नेह्याङला कृषि सहकारी संस्था लिमिटेड फुलासीका अध्यक्ष तुलाबहादुर तामाङको भनाइ छ।
खेतीपाती गर्नका लागि आधुनिक मेसिन पाएसँगै फुलासीका किसानहरू खुसी भएका छन्।

अब खेतबारी मेसिनले जोत्ने भएपछि कृषि उत्पादन बढ्ने उनीहरूले विश्वास गरेका छन्। युवाहरू गाउँबाट शहर पलायन भएपछि खेतबारी जोत्ने र खन्ने काम नहुँदा उर्वर खेतबारीसमेत बाँझै बसेका छन्। जग्गाधनीले तालिम प्राप्त खेतबारी जोत्ने प्राविधिकलाई खेत जोतखन गर्ने काम दिएपछि स्थानीय स्तरमा कृषि रोजगारीसमेत सिर्जना हुने वडाध्यक्षको अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस्