नलगाड जलविद्युत् आयोजना समयमै निर्माण हुन्छ ऊर्जा : मन्त्री पुन



नेपाल समाचारपत्र, जाजरकोट

जाजरकोटको बारेकोट गाउँपालिकाको सेपुखेलामा निर्माण हुन थालेको ड्याम स्थल र नलगाड नगरपालिका दल्लीमा निर्माण हुन लागेको विद्युत् उत्पादन स्थलको चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाको उर्जा सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनलगायतको उच्च स्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ।

आयोजना डीपीआरको काम अन्तिम चरणमा पुगेको बेला नलगाड जलविद्युत् आयोजना अवलोकनका लागि जाजरकोट आएका वन तथा वातावरण मन्त्री शक्तिबहादुर वस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णाली प्रदेशका मन्त्री संसद, उर्जा सचिवलगायत उर्जा विज्ञसहितको उच्च स्तरीय टोलीले बारेकोटको सेपुखोलामा निर्माण हुन लागेको ड्याम स्थल, नलगाडको दिल्लीमा निर्माण हुन लागेको विद्युत् उत्पादनको स्थलगत अवलोकन गरेको हो।

उर्जा सिचाईं तथा जलस्रोत मन्त्री वर्षमान पुनले कर्णाली प्रदेशकै गौरवको आयोजना चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजना समयमै सम्पन्न हुने बताउनुभयो। आयोजना निर्धारित समयमा सम्पन्न गर्न जापानी सहयोग नियोग जाइकासँग छलफल भइरहेको बताउनुभयो।

आफू जापान भ्रमणमा गएको बेला जापान सरकार र सम्बन्धित अधिकारीहरूसँग नलगाड हाइड्रोपावर निर्माणका लागि आयोजनाका विषयमा कुरा राखेको बताउनुभयो। कर्णाली प्रदेशलगायत जाजरकोटी जनताको समग्र हितलाई ध्यानमा राखेर जलविद्युत आयोजना समयमै निर्माण हुनेमन्त्री पुनले बताउनुभयो।

बारेकोटको सेपुखोला र नलगाडको दिल्लीमा आयोजना गरेको कार्यक्रममा उर्जा सिचाई तथा जलस्रोत मन्त्री वर्षमान पुनले जनताको सहभागीता र लगानीमा निर्माण हुन लागेको जलाशययुक्त नलगाड जलविद्युत आयोजना निर्माण अध्ययनको काम एक वर्षभित्र सक्ने बताउँदै, निर्माणको काम शुरु हुने बताउनुभयो।

आयोजना स्थलका प्रभावित नागरिकलाई मुअब्जाका लागि आइपर्ने समस्या सरकारले समाधान गर्ने बताउनुभयो। उहाँले जाजरकोटको समग्र विकासमा ठूलो सहयोग लगायत राष्ट्रको उर्जा संकटको समाधान हुने भएकाले समयमै आयोजना निर्माण हुने बताउनुभयो।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले अथक प्रयासबाट निर्माण कार्य शुरु हुने तयारीमा रहेको नलगाड जलविद्युत् आयोजना जाजरकोटको गौरवपूर्ण आयोजना भएको बताउँदै, जाजरकोटी जनतालाई रोजगारी र समृद्धिका लागि बन्न लागेको जलविद्युत् आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग हुन आवश्यक रहेको बताउनुभयो।

जनताको इच्छा चाहाना आवश्यकताका योजनाहरू इमान्दारीताका साथ पुरा गर्ने मन्त्री बस्नेतले बताउनुभयो।बारेकोटको सेपुखोलामा भएको कार्यक्रममा उर्जा मन्त्री पुनसहितको टोलीलाई स्थानीयवासीहरूले १८ बुँदे माग पत्र पेश गरेका थिए।

आयोजना निर्माण स्थलका विस्थापित हुने नागरिकहरूको न्यायपूर्ण पुनस्थापन हुनुपर्ने, ड्यामनजिकका वस्तीहरूलाई उचित व्यवस्थापन गर्नुपर्ने आयोजना निर्माण स्थल वरपरका धार्मिक ऐतिहासिक सम्पदाहरू उचित स्थानमा व्यवस्थापन हुनुपर्ने, मुअब्जा वितरणमा न्यायपूर्ण हुनुपर्ने माग राखेका थिए।

मन्त्री पुनले स्थानीयवासीहरूले राखेका मागहरूलाई सरकारले उचित रुपमा सम्बोधन गर्ने बताउनुभयो।सरकारले केही दिनमै आयोजना प्रभावित छ सय ५७ घरपरिवारलाई २ अर्ब ७२ करोड मुअब्जा बाँड्ने तयारी गरेको छ।

नलगाड जलविद्युत् आयोजनाले नलगाड नगरपालिका ५ र ७ बारेकोट गाउँपालिका १, २, ५, ६, ७ र ८ वडाहरू प्रभावित हुनेछन्। अहिले नलगाड नगरपालिका ७ दल्लीमा भूमिगत रुपमा विद्युत् उत्पादन गृहको भूबनोट पत्ता लगाउनका लागि सुरुङ खन्ने काम चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्