जाडो बढेसँगै बढ्यो भारतबाट स्वेटरको तस्करी



नेपाल समाचारपत्र, लहान।

जाडो बढेसँगै सिराहामा पर्ने नेपाल भारत सीमामा कपडाको तस्करी बढेको छ। नेपाल भारत सीमामा पर्ने सिराहा जिल्लास्थित ठाँडी, झाँजपटी, बरियारपटी, कचनारी, माडरबाट व्यापारीले भारी मात्रामा राजस्व छली स्वेटरलगायत जाडोमा लगाउने कपडा भित्र्याउने गरेका छन्।

मंगलबार प्रहरीले माडर छेउमा पर्ने कल्याणपुर नगरपालिका–३ इटारीमा व्यापारीले भन्सार छली भारतबाट नेपाल भित्र्याउँदै गरेको करिब एक लाख रुपियाँबराबरको स्वेटर जफत गरेको छ। इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले चेकजाँच गर्दा उक्त कपडा पक्राउ गरेको हो।

प्रहरीले नियन्त्रणमा लिएको उक्त कपडा भन्सार कार्यालय माडरमा बुझाएको प्रहरीले जनाएको छ। त्यस्तै गएको सोमबार पनि भगवानपुर गाउँपालिका–२ गमहरिया चौकमा प्रहरीले राजश्व छली नेपाल भित्र्याउँदै गरेको करिब चौरासी हजार रुपियाँबराबरको स्विटरलगायत जाडोमा लगाउने कपडा पक्राउ गरेको थियो। अस्थायी प्रहरी पोस्ट भगवानपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले चेकजाँचका क्रममा उक्त कपडा पक्राउ गरी भन्सार कार्यालय ठाडीमा बुझाएको थियो।

त्यसै गरी गत सोमबार नै सिराहा नगरपालिका–१९ जोगिया टोलमा प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको १० हजार रुपियाँ मूल्यबराबरको कपडा नियन्त्रणमा लिई भन्सार कार्यालय माडरलाई बुझाएको थियो। भन्सार कार्यालय ठाँडीका नायव सुब्बा श्याम मगर जाडो बढेसँगै भारतबाट स्वेटर ज्याकेटको तस्करी बढेको स्वीकार्नुहुन्छ।

‘भारतबाट स्वेटरको व्यापक तस्करी हुन थालेको छ,’ सुब्बा मगरले भन्नुभयो। सिराहाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारी कपडा तस्करी नियन्त्रण गर्न सीमामा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको बताउँदै भन्नुहुन्छ– ‘जाडोको कपडा तस्करी बढेकाले सुरक्षा निकायको परिचालन बढाएका छौँ।’

जाडोमा लगाउने लुगासँगै भारतबाट किराना पसलका सामाग्रीको पनि तस्करी बढेको सुुरक्षा अधिकारी बताउँछन्। गएको सोमबार नै औरही गाउँपालिका–१ कुन्डलपुर गागन खोलामा प्रहरी चौकी हर्कट्टी सिराहाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको १५ हजार रुपियाँबराबरको किराना सामान नियन्त्रणमा लिई भन्सार कार्यालय माडरमा बुझाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्