२ सय २७ वटा विद्यालय भवन निर्माण सम्पन्न



नेपाल समाचारपत्र, सिन्धुली

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित प्रगतिशील माध्यमिक विद्यालय भूकम्पले ध्वस्त भएको थियो। भूकम्पले ध्वस्त भएपछि भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत एसियाली विकास बैंक(एडीबी)को सहयोगमा अहिले सुरक्षित विद्यालय भवन निर्माण भइरहेको छ। भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि अझै उक्त विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छैन।

लामो समयदेखि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वर माध्यमिक विद्यालय ग्वालटारमा अझै टहरामै पठनपाठन भइरहेको छ। जिल्लाका यी विद्यालयलगायतका दर्जन बढी विद्यालयहरूले अझै टहरोमै पठनपाठन सञ्चालन गर्दै आएका छन्। जिल्लामा भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि विद्यालय भवन अझै सुस्त गतिमा निर्माण भइरहेको छ। २०७२ सालमा गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन अझै धेरै निर्माण हुन बाँकी रहेका छन्।

पूर्ण रुपमा ध्वस्त भएका केही विद्यालय अझै टहरामै पठनपाठन गर्दै छन्। यसका अलवा जोखिमयुक्त विद्यालय भवनमा समेत पठनपाठन हुँदै आएको छ। भूकम्पपश्चात् विद्यालय भवन बनाउने तथा टहरा निर्माण गर्ने बहानामा विभिन्न एनजीओ तथा आईएनजीओले करोडौं रुपियाँ खर्चेको जनाए पनि हालसम्म आधा बढी मात्रै विद्यालय भवन निर्माण भएका छन्।

सरकारी तथ्याङ्कअनुसार जिल्लामा रहेको पाँच सय ७७ विद्यालयमध्ये विनाशकारी भूकम्पबाट पाँच सय ३५ विद्यालय प्रभावित भएका थिए। जसमध्ये ४५ वटा विद्यालय पूर्ण रुपमा माटोमै मिलेका थिए भने बाँकी विद्यालयहरू चर्कने तथा पठनपाठनका लागि असुरक्षित भएका थिए।

जिल्लामा हालसम्म पुनर्निर्माणको सूचिमा परेका मध्ये दुई सय २७ वटा नयाँ विद्यालय भवन निर्माण सम्मन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्दरीय आयोजना कार्यान्वयन इकाइ, जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा)का प्रमुख शिवकुमार सापकोटाले जानकारी दिनुभयो।‘भूकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माण हुने क्रममै छ।

भूकम्पबाट क्षतिग्रस्त एक सय आठ वटा विद्यालय भवन अझै निर्माण हुन सकेका छैनन्। बाँकी विद्यालय भवन भने निर्माणाधीन रहेका छन्’ –प्रमुख सापकोटाले भन्नुभयो।भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन निर्माणको जिम्मा एसियाली विकास बंैक, नेपाल सरकार, नेपाल रेडक्रससहित सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले लिएका छन्। उहाँले भँन्नुभयो– ‘क्षतिग्रस्त विद्यालय भवनको तथ्याङ्कअनुसार २६ सय ६७ वटा कक्षाकोठामा भूकम्पले क्षति पुर्याएको थियो।

अहिले बनेका विद्यालय भवन पहिलाका जस्ता कच्चा छैनन्। व्यवस्थित पक्कि भवन बनेका छन्।’ एसियाली विकास बंैकले जिल्लाभर गरी २६ वटा विद्यालय भवन बनाउने जिम्मा लिएको उहाँले बताउनुभयो। ‘१२ कोठेदेखि २४ कोठेसम्मका भवन एडीवीले बनाउने जिम्मा लिएको छ’, उहाँले भन्नुभयो– ‘२६ वटा एडीवी, १ सय ९९ वटा, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा), १३ वटा शिक्षा समन्वय इकाइले बनाउने जिम्मा लिएको छ।’

भूकम्प गएको पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिए पनि त्यो हुने सम्भावना देखिएको छैन। नेपाल सरकारले पाँच वर्षभित्र निजी आवाससहित अन्य क्षतिग्रस्त भवन बनाइसक्ने लक्ष्य लिए पनि सिन्धुलीमा भने निजी आवास र विद्यालय भवन सुस्त गतिमा निर्माण भएको छ।

२०७७ साल पौष महिनासम्ममा पुनर्निर्माण सक्नुपर्ने सरकारको लक्ष्य रहे पनि सिन्धुलीमा भने पुनर्निर्माण नसकिने देखिएको छ। पाँच वर्षमा झन्डै ९० प्रतिशत पुनर्निर्माण हुने देखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका निमित्त प्रमुख सुर्यप्रकाश विष्टले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्