नेपाली टोलीले साँच्चिकै सबैको मन जित्यो



सगरमाथाको चुचुरोमा पुग्नै लाग्दा गाइडर शेर्पाबाट अक्सिजन सकिन लागेको संकेत पाउँदा पनि आरोही फर्कन मान्दैनन्, ज्यानको बाजी लगाएर चुचुरो चुम्न खोज्छन्। संसारकै सर्वोच्च शिखरमा पुग्नुको आनन्द शायद अरूलाई थाहा हुँदैन। तसर्थ जितको नजिकै पुग्दा पनि नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि कस्तो हुन्छ।

त्यो नेपाली महिला भलिबल टिमलाई थाहा होला। १३औं दक्षिण एसियाली खेलकुद (साग) मा मंगलबार सम्पन्न महिला भलिबलको उपाधि भिडन्तको दृश्य देखेर मलाई एकछिन् खिन्न बनायो। राम्रो खेल्दाखेल्दै पनि कहिलेकाहीँ जित हात नपर्दो रहेछ। तर खेल त हो नि। हारजित त कसै न कसैको कुनै न कुनैको त भैहाल्छ नि।

उपराष्ट्रपति नन्दबहादुर पुनलाई साक्षी राख्दै नेपाली टोलीले कोर्टमा साँच्चिकै बहादुरी देखायो। जहाँ नेपाली खेलकुदको समग्र नेतृत्व उपस्थित थियो। त्यो भन्दा पनि दर्शक संख्याका हिसाबले साँच्चिकै लोभलाग्दो माहोलमा राम्रो खेल्दाखेल्दै पनि नेपालले परिणाम हात पार्न सकेन। तर मन, साँच्चिकै सबैको जित्यो नेपालले।

नतिजा आफ्नो पोल्टामा पार्न नसकेपछि भलिबल टिमका खेलाडी अरूणा शाही र प्रतिभालाई देखेर मेरा आँखामा मूल फुट्यो। वास्तवमा खेलमा हारजित प्राविधिक पक्ष हो। जित्नुपर्ने आमदर्शकको मन नै हो। त्यसैले त भनिन्छ खेल कला हो, सीप हो, क्षमता हो। त्यही कलाले सबैको मन जित्छ।

हुन त युद्धशास्त्रले जितलाई नै सर्वोपरि ठान्छ, खेलशास्त्रको नियम अलिक बेग्लै छ। यसले हार्न पनि सिकाउँछ। राम्रो खेल पस्कन प्रेरित गर्छ। विश्वकपमा क्रोएसियाले मन जितेको थियो, फ्रान्सले विश्वकप ट्रफी उचाल्यो। त्यसैले भन्न सकिन्छ, खेलशास्त्रले जितहारलाई प्राविधिक पक्षका रुपमा लिन्छ। अनिवार्य सर्त भनेको राम्रो खेल्न प्रेरित गर्नु मात्र हो।

साग इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेर पनि उच्चकोटीको खेल पस्किएर समेत उपाधि चुम्नबाट वञ्चित नेपाली टोलीमाथि सहानुभूति, माया र प्रेमका शब्दहरू सामाजिक सञ्जालमा छरपस्टिएका छन्। प्रायः सबैले भनेका छन्, ‘भारतले खेल जित्यो तर नेपालले नेपालीको मन जित्यो।’

साँच्चिकै अब नेपालको सर्वाधिक लोकप्रिय खेल भलिबल भनेको खेल मात्र रहेन, मन जित्ने साधन पनि बनेको छ। भलिबल पनि अब जीवन जिउने कला हो, प्रतिस्पर्धा गर्न सिकाउने माध्यम हो, अनुशासन हो, भ्रातृत्वको भावना हो, मैत्री सम्बन्ध कायम गर्ने विधा हो। कम्तीमा यति भन्न सकिने आधार तयार गरिदिएको छ महिला भलिबलले।

त्यसैले त खेल भनेकै एकता, अनुशासन, प्रतिस्पर्धा, परिणाम, मनोरञ्जन र व्यायामको स्रोत पनि हो। मानव समाजलाई छोटो समय विभिन्न टिमका नाममा विभाजित बनाए पनि यसले मित्रता र ऊर्जा बढाउने काम पनि सँगसँगै गरिरहेकै हुन्छ। दक्षिण एसियाली राष्ट्रहरूमाझ यो सन्देश प्रवाह भएकै छ।

हुन त भलिबल मात्र हैन, समग्र खेलकुदले एकता, भ्रातृत्व र प्रतिस्पर्धाको भावनालाई बढाइदिन्छ। जीवनलाई जीवनजस्तै राख्न खेलको ठूलो भूमिका छ। खेलहरूले मैत्रीपूर्ण भावनाको विकास गराउँछ। आपसमा सहयोग र आदानप्रदान गर्न सिकाउँछ। हामीले फुटबल, भलिबल मात्र नभएर अन्य सारा खेलहरूबाट सिक्न सक्ने कुरा पनि शायद यही हो।

हामीले दिनुपर्नेचाहिँ खेल संस्कार खास विषय हो। खेल संस्कृतिको प्रवद्र्धन मुख्य कुरा हो। हारजितभन्दा पनि खेलकुदको मर्म र भावनालाई आत्मसात् गर्न सिकाइ, आपसी भाइचाराको सन्देशलाई प्रवाह गर्नु हरेक अभिभावकको कर्तब्य हो। विद्यालयको जिम्मेवारी हो।

वास्तवमा जीवनलाई भलिबलसँग तुलना गर्नु सान्दर्भिक देखिन्छ। जति नै मेहनत र परिश्रम गर्दा पनि सदृश्य परिणाम हात नपर्न सक्छ मान्छेको जीवनमा। सागमा मेहनत गर्नेहरू र राम्रो खेल्नेहरू अरू पनि थिए। उनीहरू अन्तिमसम्म टिक्न सकेनन्, रहन सम्भव पनि हुँदैन। किनकि उपाधि भिडन्तमा उत्रने त दुई टिम मात्र हो। यस हिसाबले भाग्यमानी नेपाल र भारत नै रहे यसपटक।

साग हामी सबैका लागि बहुप्रतीक्षित थियो। दश बर्से जनयुद्ध र ७२ सालको भूकम्पपछि नेपाल शान्त छ, समृद्धिको बाटो पछ्याउँदै छ भन्ने देखाउनु थियो। तसर्थ उपविजेता बन्दा पनि हाम्रो खुशी दक्षिण एसियाली राष्ट्रहरूसम्म पुर्याउन हामी सफल भएका छौं।

तसर्थ समग्र नेपाली समर्थक उपविजेतामै पनि खुशी देखिए। भलिबल कभर्डहल साँच्चिकै साँघुरो भइसकेछ। कैयौं दर्शक आज प्रत्यक्षदर्शी बन्ने अवसरबाट वञ्चित रहे। युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनार, राखेप उपाध्यक्ष पिताम्बर तिमम्सिना, सदस्यसचिव रमेश सिलवाल, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ साक्षी बनेको मंगलबारको परिदृश्यले अब नेपालमा भलिबलको लोकप्रियता चुलिएको पुष्टि गरिसकेको छ।

राष्ट्र र राष्ट्रियता हाम्रा लागि जसरी सदैव शिरोधार्य हुन्छ, त्यसै गरी राष्ट्रिय खेल पनि राज्यको उच्च प्राथमिकतामा हुनै पर्छ। यसतर्फ नेतृत्वको ध्यान जानै पर्छ। तसर्थ नेतृत्ववर्गहरूले जनअपेक्षाको सम्बोधन र भलिबलको विकासमा लाग्न अत्यन्तै जरुरी छ।

– भावना कँडेल,
नयाँबजार, पोखरा।

 

प्रतिक्रिया दिनुहोस्