नेकालाई असन्तुष्टिको लाभ !



मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि राजनीतिमा चासो राख्नेहरूबाट विभिन्न टिप्पणी आउन थालेको छ । खास गरी सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सोचेजस्तो सफलता नपाएको भन्ने टिप्पणी नै सर्वत्र छ ।

मतदाताले पनि कि नेकपा कि कांग्रेस भनेजस्तो गरे तापनि दुवै पक्ष प्रफुल्ल हुने अवस्था भने रहेन । यसअघि सत्ताघटक दलले जितेका कतिपय ठाउँमा कांग्रेसले जित हासिल गर्यो भने कांग्रेसले जितेका ठाउँमा नेकपाका उम्मेदवारले जित हासिल गरे । धरान, भक्तपुर र चितवनमा जित हासिल गरेपछि प्रतिपक्ष दल कांग्रेसले जति प्रफुल्लता देखाउँदै पत्रकार सम्मेलन गरे पनि सोअनुसारको सन्तुष्टि लिने ठाउँ नभएको धेरैको टिप्पणी छ ।

प्रतिपक्ष दलले कतिपय ठाउँमा हार बेहोरे पनि गत निर्वाचनभन्दा मत बढाएको सही हो, तर नेपाली कांग्रेसलाई उसको राम्रो व्यवहारका कारण मत प्राप्त भएको हो कि सत्ताधारी नेकपासँग नागरिक असन्तुष्ट रहेको अभिव्यक्ति हो भनेर मनन गर्नु भने आवश्यक छ । सरकारविरुद्ध जनमत सिर्जना भइरहेका बेला यो मत परिणाम कांग्रेसका लागि उत्साहजनक भने होइन ।

नेकालाई जनताले सरकारसँगको असन्तुष्टिको लाभ मात्र दिएको हुनसक्ने सम्भावना पनि त्यत्तिकै बलियो छ ।उपनिर्वाचनको मत परिणामबारे विश्लेषण गर्दै कांग्रेसले आफूहरू थप उत्साहित भएको र सरकारलाई सच्चिन सन्देश दिएको बताएको छ ।

तर मतपरिणाम हेर्दा मतदाताहरू कांग्रेसको विकल्प नेकपा र नेकपाको विकल्प कांग्रेस हो भन्ने मनोभावनामा रहेको पाइन्छ । लामो समय सत्ताको सेरोफेरोमा रहेका कम्युनिस्ट र कांग्रेस दुवै दलको विकल्पमा खासै जनमत देखिएको छैन ।

तराईमा तराई केन्द्रित केही दलको पकडबाहेक बाँकी जिल्लामा नेकपा र कांग्रेस मात्र अस्तित्वमा छन् कि भन्ने आभास यो उपनिर्वाचनले दिलाएको छ । अहिले निश्चित प्रतिशत थ्रेसहोल्डका कारण राष्ट्रिय दलको मान्यता पाउने राजनीतिक दलको संख्या घटेका बेला एकको विकल्प अर्को हुने गरी दुईदल मात्र अघि आउनु राष्ट्रका लागि फाइदा कि घाटा भन्ने छुट्टै बहसको विषय पनि छ ।

तर, विश्वका प्रभावशाली र राजनीतिक स्थायित्व हासिल गरेका मुलुकमा दुई–तीनवटा दलहरू नै प्रभावमा रहेको पाइन्छ । जे होस्, पार्टीभित्रको आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा अघिल्लो निर्वाचनमा लज्जास्पद हार बेहोरेको कांग्रेसले दुई वर्षको अवधिमा नेकपासँगको मतान्तर घटाएको देखिन्छ ।

उपनिर्वाचनको विश्लेषण गर्दै कांग्रेसले भनेको छ– यसले एकातर्फ नेपाली कांग्रेसको सांगठनिक आत्मबलमा अभिवृद्धि गराएको छ भने अर्कोतर्फ आगामी निर्वाचनको लक्ष्य हासिल गर्ने दृढतामा अघि बढ्न उपनिर्वाचनको मैदानको झैं ‘बाहिर गति र भित्र अन्तर्विश्वास’ बढाउन खुला सन्देश सिंगो पार्टी पंक्तिलाई प्राप्त भएको छ ।

वस्तुतः आन्तरिकरूपमा गुट–उपगुट हटाएर पार्टीलाई एकढिक्का बनाउन सकेमा मात्र नेका आगामी आम निर्वाचनमा नेकपालाई हराउने शक्ति बन्न सक्छ । पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई कायम राखेमा र नेतृत्वमा परिवर्तन नल्याएमा नेकाले ठूलो परिणामको अपेक्षा गर्न सक्तैन । हिन्दूराष्ट्र चाहिन्छ भन्ने कमल थापा र संघीयता चाहिँदैन भन्ने चित्रबहादुर केसीलाई पनि भोट नदिने जनताको मनोविज्ञानलाई पनि कांग्रेसले बेलैमा ख्याल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्