चार संगीतकर्मी सम्मानित



गीत प्रवीण नरराज ढकाल स्मृति प्रतिष्ठानले राजधानीमा एक कार्यक्रम आयोजना गरी चार संगीतकर्मीलाई सम्मान गरेको छ।कार्यक्रममा तबलावादक रवीनलाल श्रेष्ठलाई २० हजार रुपियाँसहित मरणोपरान्त संगीत प्रवीण नरराज ढकाल पुरस्कार प्रदान गरियो। सम्मान उनकी पत्नीले ग्रहण गरेकी थिइन्।

त्यसै गरी लक्ष्मण शमशेर प्रतिभा पुरस्कारबाट सरोदवादक सुरजराज आचार्य तथा तबलावादक डङकनदास चौधरीलाई नगद १० हजार रुपियाँसहित सम्मान गरियो। कार्यक्रममा रामेश्वर युवा संगीत पुरस्कार सुजाता बर्मालाई प्रदान गरियो।

कार्यक्रममा बोल्दै हिमालय शमशेर जबराले आफू बाँचुन्जेलसम्म यो पुरस्कार वितरण गरिरहने बताए। उनले आफ्ना पिता लक्ष्मण शमशेर जबराले नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे।

शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली संगीतको विकासको सहयोगार्थ प्रतिष्ठानले गरेको काम सानोजस्तो लागे पनि महत्वपूर्ण रहेको चर्चा गरे। कार्यक्रममा काठमाडौं विश्वविद्यालय संगीत विभागका विद्यँर्थीले गुरुवन्दना र सरस्वती वन्दना प्रस्तुत गरेका थिए भने सम्मानित व्यक्तित्वले सांगीतिक प्रस्तुति दिएका थिए।

२०६८ सालदेखि प्रदान गरिँदै आएको संगीत प्रवीण नरराज ढकाल पुरस्कारबाट यसअघि बेलावादक गोपालनाथ योगी, शास्त्रीय गायक पूर्णबहादुर थापा, सरोदवादक मोहनप्रसाद जोशी, तबलावादक होमनाथ उपाध्याय, ध्रुद गायक भवनाथ शर्मा, शास्त्रीय गायिका रत्नकुमारी गुरुङ, तबलावादक रामहरि गुरुङ र शास्त्रीय गायक श्रीराम आचार्य सम्मानित भइसकेका छन्।

यसै गरी २०७१ देखि प्रदान गर्न थालिएको नरराज रामेश्वर युवा संगीत पुरस्कारबाट शास्त्रीय गायक विष्णु आचार्य, बेलावादक मिलन तण्डुकार, तबलावादक लक्ष्मीप्रसाद डंगोल, शास्त्रीय गायक शिवप्रसाद पौडेल र श्री केसी सम्मानित भइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्