भिडियोमा ऐना हेरेर



गायक राजेशमान केसीले लोक भाकामा गाएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।गायक केसीको केही वर्षअघि सार्वजनिक गीति एल्बममा संगृहित विभिन्न आठ लोक तथा आधुनिक गीतमध्ये लोक भाकामा गाइएको गीत ऐना हेरेरको म्युजिक भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

छवि थापा मगरको कोरियोग्राफी, सुशील डाँगीको छायांकन र विजय थापाको सम्पादन रहेको म्युजिक भिडियोमा राजेश वाडे र नमीता खड्काले मोडलिङ गरेका छन्। गीतका संकलनकर्ता स्याङ्जाका स्व. केशरबहादुर सेन हुन् भने गीतमा उल्लिखित शब्द सोरेक डाँडा पनि स्याङ्जामै पर्दछ।

सामाजिक सञ्जालमा दर्शक एवं स्रोताबाट गीतको राम्रो प्रतिक्रिया आइरहेको गायक केसीले बताए। रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी विभिन्न राष्ट्रिय, आधुनिक, भजन र नेवारीसमेत करिब १ दर्जन गीत रेकर्ड गराइसकेका गायक केसीका केही गीत नेपाल टेलिभिजनबाट पनि प्रसारण भएका छन्।

आफू जागिरे जीवनबाट निवृत्त भइसकेकाले बाँकी समय गीतसंगीतमै लगाउने उनले बताए। उनी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा सेवारत रहँदा रेडियो नेपाल र रेडियो सगरमाथाबाट विज्ञान प्रविधि कार्यक्रम सञ्चालन गर्दथे।

प्रतिक्रिया दिनुहोस्