मालपोत नै बनाउँछ कीर्ते कागजात



मनोज भट्ट, महेन्द्रनगर।

कञ्चनपुरको भूमि सुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा कीर्ते गरेर साढे ५ कट्ठा जमिन रहेको देखाएको छ। भूमि सुधार तथा मालपोत कार्यालको तल्लोदेखि माथिल्लो तहसम्मको ‘च्यानल’ नै मिलेर एक व्यक्तिको नाममा रहेको जग्गा–जमिन अर्को व्यक्तिको नाममा देखाएको हो।

मालपोत कार्यालयका मालपोत अधिकृत अशोकसिंह भण्डारीले उक्त जग्गाको कीर्ते कागजातमा हस्ताक्षर गरेको भेटिएको छ। भीमदत्त नगरपालिका–६ मा बस्ने करन चन्दको नाममा स्रेस्ता रहेको जमिनलाई अधिकृत भण्डारीलगायतको ‘च्यानलले’ भगतपुर बस्ने तुलसी दमाईको नाममा रहेको देखाएको हो।

स्रोतका अनुसार मालपोत कार्यालयको एक ‘च्यानल’ थुप्रै मान्छेका फर्जी तथा कीर्ते कागजात बनाउन र पैसा असुल्नमा संग्लन छ। यो कुरा स्रेस्तासहितको जमिन हुने र मालपोतले कीर्ते कागज बनाइदिएको व्यक्तिलाई समेत थाहा छैन। मालपोतले जमिन कीर्ते गरेको व्यक्ति तुलसी दमाईलाई समेत अदालतमा मुद्दा परेपछि मात्र यो घटना थाहा भएको हो।

लफडाको कथा

२०६६ सालमा भगतपुरका मदन दमाईले आफ्नो नाममा रहेको एक कट्ठा जमिन पद्मादेवी ओझालाई बिक्री गर्नुभयो। मदनले जग्गा बिक्री गर्दा श्रीमती तुलसी दमाईंलाई आफ्नो जग्गा बिक्री गरेको कुरा बताउनुभएन।मदनले यो एक कट्ठा जग्गा श्रीमतीलाई नजनाई बिक्री गरेको १० वर्ष पूरा भयो।

तर, लफडा भने बल्ल शुरू भयो। मदनकी श्रीमतीले उक्त जग्गा बिक्री गरेको १० वर्षसम्म थाहा पाउनुभएन। जब थाहा भयो तब मदनकी श्रीमती तुलसी रजिस्ट्रेसन पासबदर हक कायम र अंशका लागि आजभन्दा ५ महिना अगाडि कञ्चनपुर जिल्ला अदालत पुग्नुभयो।

अब तुलसीको लडाइँ रह्यो ओझासँग। जिल्ला अदालतले तुलसीका नाममा जग्गा भएको वा नभएको जान्न खोज्दा प्रतिवादी ओझाले तुलसी दमाईका नाममा ७७९८ कित्ता नम्बरको साढे ५ कट्ठा जग्गा रहेको भनेर यही महिनाको ११ गते जिल्ला अदालतमा निवेदन पेस गर्नुभयो।

त्यसपछि हुँदै नभएको जमिनको कित्ता आफ्नो नाममा कसरी आयो भनेर तुलसीका श्रीमान् मदनले भूमि सुधार तथा मालपोत कार्यालयमा बुझ्दा उक्त कार्यालयले टेरपुच्छर लगाएन। मालपोतले नटेरेपछि मदन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर पुग्नुभयो।

जिल्ला अदालतको पत्र टेर्दै नटेरेको मालपोतले तत्काल प्रशासनको पत्रको जवाफ पठायो। जवाफमा मालपोत अधिकृत भण्डारीले कित्ता नं. ७७९८ स्रेस्तामा निजको नाम नदेखिएको तर कम्प्युटरमा देखिएको भनेर सोमबार जिल्ला प्रशासनलाई जवाफ पठायो।

कम्प्युटरमा तुलसीको तीनपुस्ते देखाइएको छ। कृषि विकास बैंक कञ्चनपुरले तुलसी दमाईको नाममा रहेको ७७९८ कित्ता नं. को जग्गा रोक्कासमेत गरेको भनेर मालपोत अधिकृतले जनाउनुभएको छ। महेन्द्रनगरको कृषि विकास बैंकमा बुझ्दा तुलसी दमाईको नाममा रहेको कुनै पनि जग्गा बैंकले रोक्का नगरेको जनाएको छ।

के हो मनसाय ?

कञ्चनपुर जिल्ला अदालतमा चलिरहेको मुद्दामा प्रतिवादी ओझा र वादी तुलसीबीचको लफडामा मालपोत कार्यालयको एक ‘च्यानलले’ घटनालाई अर्कै दिशातर्फ मोडेको हो। जिल्ला अदालतमा मदनले आफुले बिक्री गरेको उक्त एक कठ्ठा जग्गाबाहेक अन्य कतै केही नरहेको कबुललाई ध्वस्त पारेर आफ्नो पक्षमा फैसलाको आशसहित जालसाझी गरिएको हुनसक्ने देखिन्छ।

 

प्रतिक्रिया दिनुहोस्