गोरुको विकल्पमा हाते ट्याक्टर वितरण गर्दै स्थानीय सरकार



रामचन्द्र वि.क, रामेछाप ।

पछिल्लो समय गाउँघरमा किसानहरुले गाइबस्तु पाल्न छोडेसँगै खेतबारी जोत्नको लागि गोरु पनि पाइन छोडेको छ । कृषकहरुले खेतबारी जोत्नको लागि गाउँमा गोरु नपाईएको गुनासो गरे पछि स्थानीय सरकारले खेतबारी जोत्ने ट्याक्टर उपलब्ध गराउन थालेको छ ।

जिल्लाको मन्थली नगरपालिका वडा नं १४ फुलासीका कृषकहरुलाई वडा कार्यालयले ट्याक्टर उपलव्ध गराएको छ । आधुनिक खेती प्रणालीमा सहयोग पु¥याउनु साथै गोरु नपाइएको समस्या समधान गर्ने उद्देश्यका साथ किसानहरुलाई ट्याक्टर उपलब्ध गराईएको वडा कार्यालयले बताएको छ ।

वडा कार्यालयको आर्थिक सहयोग र ह्याङला कृषि सहकारी संस्था लिमिटेड फुलासीको सहकार्यमा २४ वटा ट्याक्टर वितरण गरिएको वडाध्यक्ष भरत सिं वाईबाले बताउनुभयो ।

किसानहरुलाई ट्याक्टर हस्तान्तरण गर्दै वडा अध्यक्ष वाईबाले कृषि क्षेत्रको विकासको लागी किसानको माग अुनसार जुनसुकै प्रकारको सहयोग गर्न आँफू तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो । कृषिको व्यवसायिकरण नै वडाको आर्थिक समृद्धीको आधार भएको अध्यक्ष वाईबाको भनाई रहेको छ ।

२४ वटा ट्याक्टर खरिद गर्न २० लाख ५२ हजार खर्च भएको वडाध्यक्ष वाइबाले बताउनुभयो । त्यस्तै किसानहरुलाई घाँस काट्नको लागि पनि २ वटा घाँस काट्ने आधुनिक मेसिन उपलब्ध गराईको छ ।

आधुनिक कृषि प्रणालीमा थोरै समयमा धेरै काम गर्ने ट्याक्टरले किसानहरुलाई धेरै सहयोग पुग्ने ह्याङला कृषि सहकारी संस्था लिमिटेड फुलासीका अध्यक्ष तुला वहादुर तामाङको भनाई छ ।

खेतीपाती गर्नको लागि आधुनिक मेसिन पाएसंगै फुलासीका किसानहरु खुशी भएका छन् । अव खेतबारी मेसिनले जोत्ने भएपछि कृषि उत्पादन बढ्ने उनिहरुले विश्वास गरेका छन् ।

युवाहरु गाउँबाट शहर पलायन भएपछि खेतबारी जोत्ने र खन्ने काम नहुँदा उर्वर खेतबारी समेत बाँझै बसेका छन् । जग्गाधनीले तालिम प्राप्त खेतबारी जोत्ने प्राविधिकलाई खेत जोतखन गर्ने काम दिएपछि स्थानीय स्तरमा कृषि रोजगारीसमेत सिर्जना हुने वडाध्यक्षको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्