मालपोत कार्यालय आफै बनाउछ किर्ते कागजात



मनोज भट्ट, महेन्द्रनगर ।

कञ्चनपुरको भूमिसुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा किर्ते गरेर साढे ५ कट्टा जमिन रहेको देखाएको छ । भूमिसुधार तथा मालपोत कार्यालको तल्लो देखि माथिल्लो तह सम्मको ‘च्यानल’ नै मिलेर एक व्यक्तिको नाममा रहेको जग्गा, जमिन अर्को व्यक्तिको नाममा देखाएको हो ।

मालपोत कार्यालयका मालपोत अधिकृत असोक सिंह भण्डारीले उक्त जग्गाको किर्ते कागजातमा हस्ताक्षर गरेको भेटिएको छ । भीमदत्त नगरपालिका–६ मा बस्ने करन चन्दको नाममा श्रेस्ता रहेको जमिनलाई अधिकृत भण्डारी लगायतको ‘च्यानलले’ भगतपुर बस्ने तुलसी दमाईको नाममा रहेको देखाएको हो ।

स्रोतका अनुसार मालपोत कार्यालयको एक ‘च्यानल’ थुप्रै मान्छेहरुका फर्जी तथा किर्ते कागजात बनाउन र पैसा असुल्नमा संग्लन छ ।

अचम्मको कुरा के छ भने श्रेस्ता सहितको जमिन जसको हो त्यसलाई पनि थाँहा छैन कि आफ्नो जमिन अर्काको नाममा छ भन्ने र मालपोत कार्यालयले जसको नाममा कागज किर्ते गरेको छ, त्यसलाईपनि थाँहा छैन्, कि अरुको जमिन आफ्नो नाममा छ भन्ने । यी दुई पक्षलाई छोडेर तेस्रो पक्षले बिचमा भूमिका खेलको संकेत छ । जसको नाममा मालपोतले जमिन किर्ते गरेको छ, त्यो व्यक्ति अर्थात तुलसी दमाईलाई पनि अदालतमा मुद्धा परेपछि अकस्मात थाँहा हुन्छ ।

आखिर के हो लफडा ?

वि.स. २०६६ सालमा भगतपुरका मदन दमाईले आफ्नो नाममा रहेको एक कट्टा जमिन पद्मा देवी ओझालाई बिक्रि गरे । मदनले जग्गा बिक्रि गर्दा श्रीमती तुलसी दमाईलाई आफ्ना जग्गा बिक्रि गरेको कुरा बताएनन् ।

मदनले यो एक कट्टा जग्गा श्रीमतीलाई नजनाई बिक्रि गरेको १० वर्षपुरा भयो । तर लफडा भने बल्ल सुरु भयो । मदनकी श्रीमतीले उक्त जग्गा बिक्रि गरेको १० वर्ष सम्म थाँहा पाएनन् ।

जब थाँहा भयो तब मदनकी श्रीमती तुलसी रजिस्टेसन पास(रपा) बदर हक कायम र अंशकालागि आज भन्दा ५ महिना अगाडी कञ्चनपुर जिल्ला अदालत पुगिन् ।

अब तुलसीको लडाई रह्यो ओझा संगको । जिल्ला अदालतले तुलसीका नाममा जग्गा भएको वा नभएको जान्न खोज्दा प्रतिवादी ओझाले तुलसी दमाईका नाममा ७७९८ कित्ता नंम्बरको साढे ५ कट्टा जग्गा रहेको भनेर यहि महिनाको ११ गते जिल्ला अदालतमा निवेदन पेश गरिन् ।

त्यसपछि हुँदै नभएको जमिनको कित्ता आफ्नो नाममा कसरी आयो भनेर तुलसीका श्रीमान मदनले भूमिसुधार तथा मालपोत कार्यालयमा बुझ्दा उक्त कार्यालयले टेरपुच्छर लगाएन् । मालपोतले नटेरे पछि मदन जिल्ला प्रशासन कार्यालय कञ्चनपुर पुगे ।

जिल्ला अदालतको पत्र टेर्दै नटेरेको मालपोतले तत्काल प्रशासनको पत्रको जवाफ पठायो । जवाफमा मालपोत अधिकत भण्डारीले कि.न. ७७९८ श्रेस्तामा निजको नाम नदेखिएको तर कम्प्युटरमा देखिएको भनेर सोमवार जिल्ल प्रशासनलाई जवाफ पठायो ।

कम्प्युटरमा तुलसीको तिन पुस्ते देखाएको छ । कृषि विकास वैंक कञ्चनपुरले तुलसी दमाईको नाममा रहेको ७७९८ कि.न.को जग्गा रोक्का समेत गरेको भनेर मालपोत अधिकृत ले जनाएका छन् । महेन्द्रनगरको कृषि विकास वैंकमा बुझ्दा तुलसी दमाईको नाममा रहेको कुनै पनि जग्गा वैंकले रोक्का नगरेको जनाएको छ ।

के हो मनसाय ?

कञ्चनपुर जिल्ला अदालतमा चलिरहेको मुद्धामा प्रतिवादी ओझा र वादी तुलसी बिचको लफडामा मालपोत कार्यालयको एक ‘च्यानलले’ घटनालाई अर्कै दिशा तर्फ मोडेको हो ।

जिल्ला अदालतमा मदनले आफ्नो बिक्रि गरेको त्यो १ कट्टा जग्गा बाहेक अन्य कतै केहि नरहेको कबुललाई ध्वस्त पारेर आफ्नो पक्षमा फैसलाको आश सहित उक्त जालसाझी गरिएको हुन सक्ने संकेत देखिन्छ ।

अरु व्यक्तिलाई फाईदा पुर्याउने हेतुले मालपोत कार्यालयको एक ‘च्यानल’ साजिस प्रयोग भएको प्रष्ट देख्न सकिन्छ । वादीलाई सिध्याउन प्रतिवादीले चालेको ढुंग्रो मालपोत कार्यालयमा गएर बजेको मदन बताउछन् ।

प्रतिक्रिया दिनुहोस्