विविध कार्यक्रमसहित २८औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो



नेपाल समाचारपत्र, म्याग्दी। 

‘पहुँचयुक्त भविष्य, बनाउनेछौं अवश्य’ भन्ने मूल नारासहित मंगलबार म्याग्दीको बेनीमा २८औं अन्तर्राष्ट्रिय अपांगता दिवस–२०७६ मनाइएको छ। बेनी नगरपालिकाको सहयोगमा, बेनपास्थित अपांग सञ्जाल बेनी, बौद्धिक अपांगता अभिभावक संघ, अपांग–बहिरा–नेत्रहीन संघ म्याग्दीको संयुक्त आयोजनामा विविध कार्यक्रमसहित दिवस मनाइएको हो।

दिवसको अवसर पारेर जिल्लाको विभिन्न ठाउँका अपांगता भएका व्यक्तिहलाई सहायता सामग्री प्रदान गरिएको छ। सहायता सामग्रीको अभावमा कष्टपूर्ण जीवन बिताइरहेका म्याग्दीका १८ जना अपांगता भएका व्यक्तिलाई सहायता सामग्री सहयोग गरिएको अपांग संघ म्याग्दीले जनाएको छ। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, बेनी नगरपालिका र अपांग संघ म्याग्दीको आर्थिक सहयोगमा सहायता सामग्री खरिद गरी वितरण गरिएको हो।

कार्यक्रममा छवटा सादा लठ्ठी, पाँचवटा ह्विल चियर, चार दृष्टिविहीनलाई सेतो छडी र तीन बैसाखी उपलब्ध गराइएको अपांग संघका जिल्ला सचिव सुरेन्द्र केसीले जानकारी दिनुभएको छ।

कार्यक्रमको अवसरमा बाल जागृति आधारभूत विद्यालयको बौद्धिक अपांगता स्रोतकक्षा र धौलागिरि माविको बहिरा स्रोतकक्षामा अध्ययनरत सुस्त श्रवण विद्यार्थीलाई खेलकुद प्रतियोगितामा सहभागी तथा उत्कृष्ट स्थान हासिल गरेकालाई शिक्षा विकास तथा समन्वय इकाइले पुरस्कृत गरेको छ।

उक्त सहायता सामग्री तथा नगद र प्रमाणपत्रसहितको पुरस्कार बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, नेपाली कांग्रेस म्याग्दीका सचिव मीनबहादुर कार्की, जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइराला र अपांग संघका जिल्ला अध्यक्ष गोपाल केसीले अपांगता व्यक्ति र प्रतियोगितामा सहभागी विद्यार्थीलाई वितरण गरेका थिए।

सामग्री एवं पुरस्कार वितरण गर्दै बेनपाका उपप्रमुख बरुवालले अपांगता भएका व्यक्तिलाई सबैले सहयोग र अवसर दिएको खण्डमा समाज परिवर्तन गर्न सक्ने क्षमता रहेको बताउनुभयो।

उनले नगरपालिकामार्फत अपांगताको क्षेत्रमा विभिन्न कार्यक्रम तथा व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ। सहायक प्रजिअ सुवेदीले अपांगता भएका व्यक्तिलाई आत्मबल बलियो बनाएर अगाडि बढ्न सुझाव दिनुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कार्की, समन्वय अधिकारी कोइराला, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दलबहादुर थापा, बेनी नगर कार्यपालिका सदस्य गोरी दर्जी, गैरसरकारी संस्था महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष अमर बानियाँ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखा अध्यक्ष तारानाथ शर्मा, अपांग उत्थान समाज पर्वतका सचिव जमुना आचार्य र धौलागिरि मावि सिंगाका प्रधानाध्यापक डण्डपाणि सापकोटालगायतले मन्तव्य राख्नुभएको थियो।

अपांग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बौद्धिक अपांगता अभिभावक संघका अध्यक्ष यामबहादुर बानियाँले स्वागत गर्नुभएको थियो। औपचारिक कार्यक्रम शुरू हुनुपूर्व सदरमुकाम बेनीमा ब्यानर र प्लेकार्डसहित प्रभातफेरी आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्