गाउँगाउँमा ‘हिन्दु संस्कार’ कक्षा



नेपाल समाचारपत्र, बाँके।

पहिला–पहिला गाउँगाउँमा प्रौढ शिक्षा कक्षा सञ्चालन हुन्थ्यो। निरक्षरलाई साक्षर गराउने सरकारी अभियान थियो त्यो। हो, यही शैलीमा ‘एकल विद्यालय’को नाम दिएर अहिले गाउँगाउँमा हिन्दू धर्म–संस्कार सिकाउने अभियान चलिरहेको छ। यो प्रौढ शिक्षाजस्तो सरकारी अभियान भने होइन। प्रौढ शिक्षामा प्रौढले पढ्थे भने एकल विद्यालयमा बालबालिका पढ्छन्।

‘च्यापिँदै’ गएको हिन्दू धर्म–संस्कारको ‘रक्षार्थ’ र बालबालिकालाई सानैदेखि हिन्दू रीतिरिवाज, देवीदेवता, चाडपर्वका बारेमा सिकाउन एकल विद्यालयको अभियान थालिएको हो।

अभियान बाँकेसहित ५४ जिल्लामा चलिरहेको छ।२०५३ फाल्गुन १३ गते धादिङको मलेखुबाट शुरू भएको एकल विद्यालय अभियान ५४ जिल्लामा फैलिँदा ४८ हजार ६ सय ३९ जना शिक्षित भएका छन्।

त्यसमा २३ हजार ४४ छात्र र २५ हजार ५ सय ९५ छात्रा छन्। १ सय ६२ जना सुपरभाइजर, १ हजार ९ सय २४ जना शिक्षकले पाँचदेखि १४ वर्षका बालबालिकालाई हिन्दू संस्कार सिकाइरहेका छन्।बहुसंख्याक हिन्दू भएको नेपालमा बालबालिकालाई सानैदेखि हिन्दू धर्म–संस्कार, रीतिरिवाज, चाडबाड, देवीदेवताका बारेमा जानकारी गराउन गाउँगाउँमा २५/३० जना बालबालिकालाई जम्मा पारेर कक्षा दिइने गरिएको छ।

बाँकेमा यस्ता ६० वटा विद्यालय छन्। प्रत्येक गाउँपालिकामा १५ र उपमहानगरपालिकामा ३० वटा विद्यालय पुर्याउने जनकल्याण प्रतिष्ठान नेपाल, एकल अभियानका राष्ट्रिय सहगतिविधि प्रमुख सुदामा यादवले बताउनुभयो।बाँकेको जानकी गाउँपालिका–३, बन्जारे गाउँमा रहेको आधारभूत विद्यालयमा १४ जिल्लाका ३४ जना ‘सुपरभाइजर, जिल्ला प्रमुख’ ले पाँच दिन बिताए।

उनीहरूलाई दक्षता वर्ग तालिम दिइएको थियो। उनीहरूले गाउँगाउँमा गएर सिकेको कुरा सिकाउने ५ नम्बर प्रदेश एकल अभियान प्रमुख कपिलेश्वर त्रिपाठीले जानकारी दिनुभयो।एकल विद्यालयमा पढाइने पाठ्क्रम नै बनाइएको छ। त्यसमा नैतिकता, देश र राष्ट्रभक्तिलाई समेटिएको छ।

‘हिन्दू धर्म संस्कारको जगेर्ना गर्नुका साथै नैतिकवान समाज निर्माणमा एकल विद्यालय अभियानले सघाउ पुर्याउँछ, राष्ट्रिय सहगतिविधि प्रमुख यादवले भन्नुभया– ‘बिहान उठेर आमाबबालाई ढोग्ने, सूर्यलाई जल चढाउने, देवी देवता, चाडबाडका बारेमा सिकाउँछौं। साप्ताहिकरूपमा सत्संग र भजनकिर्तन पनि हुन्छ।’

ओमप्रकाश सर्राफ अध्यक्ष, टीका पहाडी उपाध्यक्ष, महावीर धिरौया महासचिव र सुनिल अग्रवाल कोषाध्यक्ष रहेको जनकल्याण प्रतिष्ठान नेपाल, एकल अभियानले हिन्दू धर्म, संस्कार, रीतिरिवाज, चाडबाडको महत्व बढाउने काम गरेको छ।

धर्म परिवर्तन र आधुनिकताको नाममा आफ्नो धर्म संस्कार बिर्सिने परिपाटीलाई तोड्न अभियानले कोसिस गरिरहेको छ। भारतको नागपुरबाट तालिम लिएर आउनेहरूले अरुलाई तालिम दिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्