विद्यालय भवन साँझ परेपछि डेटिङस्थल



नेपाल समाचारपत्र, भद्रपुर।

अधुरो भवनमा विद्यार्थीहरू वर्षौँदेखि पठनपाठन गर्न बाध्य छन्। भवन विगत एक वर्षदेखि अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनीका ठेकेदार बेपत्ता भएपछि सामुदायिक विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बनेको हो।

भारतीय सहयोगमा निर्माणाधीन झापाको साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका–३ सूर्यनगर स्थित अरनिको माध्यमिक विद्यालयको अलपत्र अवस्थामा छाडिएको भवनमा यस्तो हँुदै आएको हो।

अधुरो विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बन्ने गरेको विद्यालयका शिक्षक तथा अभिभावक बताउँछन्। ३२ कोठे दुई तले विद्यालय भवन अधुरो छाडेर विगत एक वर्षदेखि निर्माण कम्पनीका ठेकेदार सम्पर्कविहीन बनेका छन्।

भवन नबनेकाले कक्षा कोठामा बिजुली बत्ती, पंखा जडान हुन सकेको छैन, खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ, विद्यालयको गेटसँगै वरिपरि घेराबारा नहुँदा विद्यार्थी र शिक्षक दुवै असुरक्षित महसुस गर्न थालेका छन्।

विस २०२४ सालमा स्थापना भएको अरनिको माविको भवन स्तरोन्नतीका लागि भारत सरकार तथा भारतीय राजदूतावासले चार करोड २१ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो। २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौंका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएका थिए।

ठेक्का लिएको करिब चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन निर्माणको काम शुरू गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले बताउनुभयो। तत्कालीन जिल्ला विकास समिति झापाको प्राविधिक रेखदेखमा शुरु भएको विद्यालय भवनको निर्माण कार्य विगत एक वर्षदेखि ठप्प बनेको उहाँले बताउनुभयो। भवन निर्माणको विषयमा पटकपटक तत्कालीन जिल्ला विकास समितिलाई जानकारी गराउँदासमेत कुनै सुनुवाइ नभएको उहाँको भनाइ छ।

भवन निर्माण नहुँदा बेलुका ५ बजेपछि विद्यालय भवन नै डेटिङ स्थल हुने गरेको उहाँको भनाई छ। साँझ परेपछि विद्यालयमा कोही पनि हुँदैन, विद्यालयमा गेट र कम्पाउन्ड वाल पनि छैन, अनि टाढा टाढाबाट केटाकेटी आउँने गरेको उहाँले बताउँनुभयो।

कक्षा कोठामा पानी पस्छ, गर्मीले बस्न सकिँदैन ठेकेदारले विद्यालय भवन अलपत्र छाडेर भागेपछि पठनपाठनमा समस्या उत्पन्न भएको कक्षा १० मा अध्ययनरत विद्यार्थी सरोज बाँस्कोटाले बताउनुभयो।

पानी र हावाहुरी चल्दा सरहरूले विद्यालय नै बन्द गर्नुपर्ने विद्यार्थीहरूको भनाई छ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शिलान्यास गरेको भवन अहिलेसम्म बन्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप सुवेदीले भन्नुभयो।

ठेकेदार लामाले भवनको जिम्मा पेटी ठेकेदार प्रकाश सिंहलाई दिएको उहाँले बताउँनुभयो। हालसम्म बनाइएको विद्यालय भवनको निरीक्षण गर्दै भारतीय राजदूतावासका प्रतिनिधिले पनि भवनको गुणस्तरमा प्रश्न चिन्ह उठाइएको उहाँको भनाइ छ। एक वर्षदेखि पेटी ठेकेदार सिंह विद्यालय नआएको उहाँको भनाइ छ।

समितिका पदाधिकारीहरू तत्कालीन जिविस हालको जिसस, सिडिओ कार्यालय, शिक्षा कार्यालय र भद्रपुर नगरपालिकालाई लिखित तथा मौखिक रूपमा ५०औँ पटक ध्यानाकर्षण गराए पनि हालसम्म काम सुचारु हुन् नसकेको जनाएका छन्।

२०६७ सालमा लागेको भवनको ठेक्का १० वर्ष बित्न लाग्दासमेत जस्ताको त्यस्तै छ। भारतीय सहयोगमा बन्ने विद्यालय भवनको निर्माण कार्य सम्पन्न गराउन जिल्ला समन्वय समिति झापाले पहल गरिरहेको अध्यक्ष सोमनाथ पोर्तेलले बताउँनुभयो।

भवनको अनुगमन गरेर सम्बन्धित निकायलाई जानकारी गराइसकेको उहाँले बताउँनुभयो। आउँदो २०७७ वैशाखसम्म अधुरो काम सम्पन्न गराइने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्