नगर प्रहरीलाई तालिम



नेपाल समाचारपत्र, बुटवल।

रुपन्देही जिल्लाका स्थानीय तह तिलोत्तमा, सैनामैना र ओमसतियाका नगर प्रहरीलाई ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रले आधारभूत तालिम प्रदान गरेको छ। नगर प्रहरीको कार्य सम्पादनलाई प्रभावकारी बनाउन पालिकाहरूको समन्वयमा प्रहरी तालिम केन्द्रले १५ दिने आवासीय तालिम सञ्चालन गरेको हो।

तालिममा तिलोत्तमाका ७, सैनामैनाका ३ र ओमसतियाका १० गरी जम्मा २० जना नगर प्रहरीको सहभागिता रहेको थियो। उनीहरूलाई प्रहरी अनुशासन, सुरक्षाकर्मीको काम–कर्तव्य, कार्यालय सुरक्षा विधि, टेलिफोन हैण्डलिङ तथा आगन्तुक अभिलेख, खतराको मूल्या·कनका आधार, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, जुलुस तथा आमसभाको सुरक्षा व्यवस्थालगायतका बारेमा तालिम दिइएको केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डा.गणेश रेग्मीले जानकारी दिनुभयो।

उनीहरूलाई फुटपाथको व्यवस्थापन, ट्राफिक तथा ई–रिक्साको व्यवस्थापन, हाटबजार व्यवस्थापन, अग्नी नियन्त्रण, सरसफाई तथा फोहर व्यवस्थापनका बारेमा पनि तालिम दिइएको थियो।नगर प्रहरीलाई जनसम्पर्क तथा सूचना संकलन, प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणलगायतका विषयमा पनि तालिम दिइएको केन्द्रका प्रहरी नायव उपरीक्षक सुवाष गैरेले बताउनुभयो।

नगर प्रहरीलाई शारीरिक व्यायाम, खेलकुद, कवाज, खालीहात लडाइँलगायतका बाह्य गतिविधिमा समेत संग्लन गराई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम दिइएको केन्द्रले जनाएको छ।

सम्बन्धित पालिका प्रमुखहरूको उपस्थितमा आयोजित नगर प्रहरी दीक्षान्त कार्यक्रममा नगर प्रहरीले कवाज, सपथ र दज्र्यानी चिन्ह ग्रहणगरेका थिए। त्यस अवसरमा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, सैनामैना नगर प्रमुख चित्र बहादुर कार्की, ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवटले स्थानीय सरकारका काम, कारवाहीलाई प्रभावकारी बनाउन तालिम आयोजना गरिएको बताउँदै सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्