सडक निर्माण कार्यले तीव्रता नपाउँदा स्थानीय आक्रोशित



उत्तम नेपाल, भद्रपुर।

ठेक्का सम्झौता मिति सकिएको तीन महिना बढी बित्दासमेत सडक निर्माण कार्यले तीव्रता नपाउँदा स्थानीय आक्रोशित देखिएका छन्। भारतको सीमावर्ती नाका जोड्ने पाठामारीदेखि बनियानी हुँदै बालुवाडीसम्मको कालोपत्रे सडक निर्माणका लागि सरकारले डीपीआर तयार गरी भ्याटसहित १६ करोड ३६ लाख ६३ हजार ८ सय ४९ रुपियाँ तोकेर टेन्डर आह्वान गरेको थियो।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गतको पूर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय, डिभिजन सडक कार्यालय दमकले २०७३ साल माघ २४ गते गजुरमुखी निर्माण कम्पनी इलामसँग ठेक्का सम्झौता गरेको थियो। ७ दशमलव १७ किलोमिटर सडकको चौडाइ ५ दशमलव ५ मिटर रहेको छ।

सडकमा ११ वटा ह्युमपाइप कल्भर्ट, ४ वटा स्ल्याभ कल्भर्ट, एउटा बक्स कल्भर्ट र ५ सय मिटर नालासहितको कालोपत्रे सडकको ठेक्का गजुरमुखीले १० करोड ८१ लाख ५७ हजार ३ सय १६ रुपियाँमा ठेक्का लिएको डिभिजन सडक कार्यालय दमकले जनाएको छ। ३० महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता गरेको निर्माण कम्पनी गजुरमुखीको म्याद २०७६ साल साउन २३ गते सकिसकेको छ। तर पनि सडक बनाउने विषयमा कुनै पहल नभएको स्थानीय गुनालाल गणेशले बताउनुभयो।

वर्षायाममा पानी जमेर र हिउँदमा धुलो उडेर सडक आसपासमा बस्नै नसकिने स्थानीय इस्माइल मियाँले बताउनुभयो। ३० महिनामा बनिसक्ने सडक अहिलेसम्म नबनेकाले बन्ने कुरामा निश्चित नभएको उहाँको भनाइ छ। जनप्रतिनिधिले समेत सडकको विषयमा अहिलेसम्म कुनै चासो नदेखाएको गणेशको आरोप छ। सडकको बारेमा जनप्रतिनिधिलाई सोध्दा हुन्छ मात्र भन्ने जवाफ दिने गरेको उहाँले सुनाउनुभयो। सं

घीय संरचनामा जानुअघिको तत्कालीन सरकारले दक्षिणी झापावासीको यातायात सुबिधालाई मध्यनजर गरी कालोपत्रे सडक निर्माणका लागि बजेट छुट्टाएको थियो।मेची राजमार्गबाहेक दक्षिणी झापाको केचनकवल गाउँपालिकामा पहिलो पटक भित्री सडक खण्डमा कालोपत्रे बनाउने योजना परेको थियो। साविक पाठामारी–बनियानी–बालुवाडी गरी तीन वटा गाविसलाई जोड्ने उद्देश्यले सरकारले कालोपत्रे सडक बनाउने योजना अघि सारेको थियो।

सरकारले टेन्डर आह्वान गरी ठेक्कासमेत लगाइसकेको छ। तर, निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण अहिलेसम्म सो सडक खण्ड बन्न सकेको छैन। सडक हुँदा पनि बर्खाको समयमा पाठामारी बजारसम्म यातायातका सवारीसाधन आउँदैन, गाउँमा कोही बिरामी परे बोकेर लैजानुपर्ने समस्या स्थानीयले भोग्दै आएका छन्।

विसं २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र ३ बाट निर्वाचित भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पाठामारीमा आयोजित एक कार्यक्रमका बीच सडकको शिलान्यास गरेका थिए। शिलान्यास कार्यक्रममा गजुरमुखी निर्माण कम्पनी ठेकेदार प्रकाश कडेरियाले ३० महिनाभित्र कालोपत्रे सडक सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।

ठेकेदार कडेरियाले गरेको प्रतिबद्धताअनुसार अहिलेसम्म सडक जस्ताको त्यस्तै छ। ३० महिनाको अवधिमा ठेकेदार कडेरियाले गरेको काम देखेर स्थानीय निराश देखिएका छन्।गजुरमुखी निर्माण कम्पनीले बनियानी बजार सडक आसपासको क्षेत्रमा ३३ महिनामा दुईतर्फ अधुरो पक्की नाला बनाएर छाडिदिएको छ। निर्माण कम्पनी बनियानी बजार क्षेत्रमा ५ सय मिटर स्ल्याभसहितको पक्की नाला बनाउनुपर्ने हो।

तर, अहिलेसम्म ५० मिटर नाला बनाउन बाँकी छ। स्थानीयका अनुसार निर्माण कम्पनीले अहिलेसम्म ३३ महिनाको अवधिमा नाला, ८ वटा ह्युमपाइप र केही कल्भर्ट मात्र बनाएको छ। निर्माण कम्पनीले नाला बनाउने काम पेटी ठेक्कामा रमेश पौडेल र मदन केसीलाई दिएको छ। निर्माण कम्पनीले अहिलेसम्म गरेको नाला र कल्भर्टको काम पनि गुणस्तरहीन बनेको स्थानीयको आरोप छ।

निर्माण कार्यमा कमसल बालुवा र गिट्टीमा सिमेन्टको मात्रामा कम दिएकाले गुणस्तरमा समेत प्रश्नचिह्न स्थानीयले उठाएका छन्।गजुरमुखी निर्माण कम्पनी इलामका ठेकेदार प्रकाश कडेरियाका अनुसार संघीय संरचनामा देश जानुअघि नै यो सडकको ठेक्का लागेको हो।

निर्माण भइरहेकै अवस्थामा देशको संरचना परिवर्तन हुँदा बजेट निकासमा समस्या आएका कारण समस्या देखिएको उहाँको भनाइ छ। ठेक्का लागिसकेको सडक संघीय वा प्रदेश सरकार कसले जिम्मा लिन्छ भनी कुर्दा १० महिना लागेका कारणले निर्माणमा ढिलाइ भएको उहाँले स्वीकार्नुभयो। डिभिजन सडक कार्यालय दमकबाट ६ महिनाको म्याद थपिसकेकोले अब ६ महिनाभित्रै कालोपत्रे सडकको काम सक्ने प्रतिबद्धता भएको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्