नाथम १३औं साग खेल्नबाट वञ्चित



कविरस शर्मा, काठमाडौं । 

नेपालगन्जमा सम्पन्न आठांै राष्ट्रिय खेलकुद प्रतियोगितामा ४ वटा स्वर्ण जितेका पौडीवाज नाथम दोर्जे शेर्पा १३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका छन् । १३औं सागमा आवश्यक कागजात पेश गर्न नसकेपछि नाथमले खेल्न नपाउने भएका हुन् ।

आठौमा नन् रेसिडेन्ट नेपाली एसोसिएसन (एनआरएनए) बाट प्रतिस्पर्धा गरेका नाथमले दुई नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाएका थिए । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले तोकेको कागजात पुर्याउन नसक्दा उनी खेल्नबाट बन्चित हुनुपर्यो ।

आठौंमा १ सय, २ सय, ४ सय र ८ सय मिटर स्पर्धामा गरी ४ स्वर्ण जितेका उनले नेपाली नागरिकता नभएका कारण १३औं साग गुमाउनु परेको नेपाली स्विमिंग संघका अध्यक्ष अशोक बज्राचार्यले बताउनु भयो । उहाँले भन्नुभयो– ‘नाथम १३औं सागमा पदक जित्ने प्रबल सम्भावना भएका खेलाडी हुन् ।

तर नियम अनुसार एसएओसीलाई चाहिने आवश्यक कागजात बुझाउन नसकेपछि खेल्नबाट वञ्चित हुनुपर्यो ।’तर एनआरएएन स्पोर्ट्स च्याप्टर नेपालका संयोजक स्वयम्भुराज डंगोलले भने नाथम नेपाली नागरिक नै भएपनि खेल्नबाट वञ्चित हुनुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,– ‘आठौंमा उच्च प्रदर्शन गरेका नाथम १३औं सागको अन्तिमसम्म बन्द शिविर प्रशिक्षणमा सहभागी भएका थिए । त्यस अवधिसम्म आवश्यक कागजात बनाउन सम्बन्धित निकायले कुनै चासो नदिएकाले अहिले यस्तो अवस्था सिर्जना भएको हो ।’

अमेरिकामा बस्दै आएका नाथम १३औं सागमा खेल्नबाट बन्चित भएपछि केही दिनअघि अमेरिका फर्किेसकेको डंगोलले जानकारी गराउनुभयो ।

नाथमका बुवा र आमासँग नेपाली पासपोर्ट रहेको अवस्थामा नाथमको पनि नेपाली जन्मदर्ताको कागजात पेश गर्दासमेत नागरिकता बनाउन सम्बन्धित निकायले र राज्यले चासो नदिएकाले यस्तो अवस्था आएको डंगोलले गुनासो गर्नुभयो ।

उहाँले बताउनुभयोे,– ‘लगानीको आधारमा नेपालमा राम्रा खेलाडी उत्पादन गर्न सहज छैन । तर अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने हैसियत राख्ने खेलाडी खेल्नबाट बञ्चित हुँदासमेत राज्यले चासो नदेखाउनु दुर्भाग्यपूर्ण हो ।

यदि राष्ट्रिय खेलकुद परिषदले यो विषयमा चासो देखाएको भए तत्कालै नाथमको कागजात तयार हुनसक्थ्यो, तर त्यसो भएन ।’

१३औं सागमा नाथम ४ सय र ८ सय मिटर प्रतिस्पर्धामा पदक जित्ने प्रबल सम्भावना भएका खेलाडी भएको डंगोल बताउनुहुन्छ ।

नाथमले आठौंमा स्विमिंगको १ सय मिटर ब्याकस्ट्रोक १.०४.०६ र २ सय मिटर इन्डिभिजुएल मेड्ले २.२१.३१ समयमा पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्