बैंकर्स एसोसिएसनमा दाहालको नेतृत्व पक्का



काठमाडौं, (नेस)

बैंकर्स एसोसिएसन नेपालको अध्यक्ष सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल हुने पक्का भएको छ।

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा अन्य उम्मेदवारी नपर्दा दाहाल नै संघको अध्यक्ष हुने पक्का भएको हो।

उम्मेदवारी दर्ता गराउने अन्तिम दिनसम्ममा पनि उहाँको मात्रै उम्मेदवारी परेपछि दाहाल निर्विरोध अध्यक्ष बन्नु हुने भएको हो।

संघले आगामी अध्यक्ष चयनका लागि निर्वाचन कमिटी गठन गरी मंसिर १७ गतेसम्म उम्मेदवारी दर्ता, १८ गते उम्मेदवारी फिर्ता र १९ गते संघको साधारणसभाबाट अध्यक्ष चयन गर्ने कार्यतालिका बनाएको छ।

कार्यतालिका अनुसार उहाँ १९ गते बस्ने संघको साधारणसभाबाट अध्यक्षमा निर्वाचित हुनुहुनेछ।
उहाँले संघमा दुई कार्यकाल कार्यकारिणी सदस्य भएर काम गर्नुभएको छ।

हाल संघको अध्यक्षमा नेपाल बंगलादेशको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र उपाध्यक्षमा नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक अनुकुल भट्नाकर रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्