महिला एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक स्वर्ण



फिरोज राजोपाध्याय,काठमाडौं

सन्तोषी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा स्वर्ण जित्दै इतिहास रचेकी छन्। सन्तोषीले मंगलर त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्र्याकमा भएको महिलातर्फको १० हजार मिटर दौडमा स्वर्ण जितेकी हुन्।

यो उपलब्धिसँगै उनी साग र अन्तर्राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा स्वर्ण जित्ने पहिलो नेपाली महिला धाविका बन्दै इतिहास रच्न सफल भइन्। यसअघि कान्छीमाया कोजुले २००६ मा श्रीलंकामा भएको सागअन्तर्गत १० हजार मिटर दौडमा रजत पदक जितेको नै महिला नेपाली धाविकाका लागि उत्कृष्ट नतिजा थियो।

पुरुष धावकतर्फ वैकुण्ठ मानन्धर र राजेन्द्र भण्डारीले सागमै स्वर्ण जितेका थिए। सन्तोषीले १० हजार मिटरको दूरी ३५ मिनेट ०७.९४ सेकेन्डमा पूरा गर्दै नेपाललाई एथ्लेटिक्समा स्वर्ण दिलाएकी हुन्। उनले भारतकी धाविका कविता यादवलाई १ मिलिसेकेन्डमा पछाडि पारेकी हुन्।

रजतमै सीमित भएकी कविताले ३५ मिनेट ०७.९५ सेकेन्डको समय लिएकी हुन्। यस्तै श्रीलंकाकी निलान्थी लंकाले कांस्य पदक जितेकी छन्। ‘मैले स्वर्णको आशा गरेको थिइनँ।

दौडिँदै जाँदा मैले स्वर्ण जित्न सक्छु जस्तो पनि लाग्यो। तर, इतिहास बन्छ भन्ने लागेको थिएन। भारतीय धाविकासँग अनुभव छ मसँग छैन’, स्वर्ण जितेपछि सन्तोषीले भनिन्– ‘पहिला अभ्यासमा जुन टाइमिङमा दूरी सकाउनुपर्ने हो त्यसमा म ढिलो हुन्थें।

गुरुले मलाई समय मिलाएर कुद् भन्नुभयो। यही मन्त्रले स्वर्ण दिलाएँ। यो सफलताले महिला पनि दौडिन सक्छन् भन्ने सन्देश दिएको छ।’

प्रतिक्रिया दिनुहोस्