सीमामा सीसी क्यामेरा



मधुसूदन रायमाझी, काठमाडौं।

नेपालको सीमालाई सुरक्षित बनाउन सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा नाकाको १० स्थानमा सीसी क्यामेरा जडान गरेको छ। जनशक्तिसँगै प्रविधिको प्रयोग बढाउने मुख्य उद्देश्य राखी सशस्त्र प्रहरीले सीमाको १० स्थानमा सीसी क्यामेरा जडान गरेको हो।

सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण र चोरीपैठारी रोक्न सशस्त्र प्रहरी बलले सीसी क्यामेरा जडान गर्ने अवधारणा अगाडि सारेको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता सुरज श्रेष्ठले दक्षिण सीमाका विभिन्न १० स्थानमा अत्याधुनिक सीसी क्यामेरा जडान गरिएको नेपाल समाचारपत्रलाई बताउनुभयो।

उहाँले मोरङको जोगबनी, पर्साको वीरगन्ज, कपिलवस्तुको चकरछाउडा, रौतहटको गौर, महोत्तरीको जलेश्वर, सिरहाको मरदर, रूपन्देहीको बलैया, कैलालीको त्रिनगर, बाँकेको जमुना नाकामा सीसी क्यामेरा जडान गरिएको बताउनुभयो। सशस्त्र प्रहरीले मुख्य सीमा नाकाहरूमा सीसी क्यामेरा जडान गर्दै लैजानुपर्ने योजना अगाडि सारेको छ।

सीमा नाकाहरूमा जडान भएका क्यामेराको बोर्डर आउट पोस्ट (बीओपी) बाट निगरानी हुने गरी व्यवस्था मिलाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।

‘आधुनिक प्रविधिको सीसी क्यामेरा जडान गरिएको छ, रातदिन नै निगरानी गर्न सकिने गरी व्यवस्था गरेका छौं’, उहाँले भन्नुभयो– ‘सीमामा हुन सक्ने सम्भावित घटनालाई रोक्न सीसी क्यामेरा प्रभावकारी हुन्छ।’

सीमा सुरक्षा र विपद् व्यवस्थापनको मुख्य जिम्मेवारी प्राप्त गरेको सशस्त्र प्रहरीलाई सीमा सुरक्षालाई व्यवस्थित बनाउन सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सीसी क्यामेरा जडान गर्ने योजना अगाडि सार्नुभएको हो।

‘प्रत्येक वर्ष सीसी क्यामेरा जडानको कामलाई निरन्तरता दिँदै लैजाने योजना रहेको छ।’ –प्रवक्ता श्रेष्ठले भन्नुभयो। दक्षिणतर्फको सीमामा हालसम्म १ सय ७ स्थानमा बीओपी रहेको छ।

सशस्त्र प्रहरीले नेपाल–भारत सीमामा २ सय ६५ वटा बीओपी पुर्याउनुपर्ने प्रस्ताव गरेको छ। हालै सात स्थानमा बीओपी राख्न सरकारले स्वीकृति दिएको छ। इलामको मानेभञ्ज्याङ, झापालगायतका स्थानमा बीओपी राख्न लागिएको हो।

नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ पनि सशस्त्र प्रहरीले बीओपी स्थापना गर्ने गृहकार्य अगाडि बढाएको छ। सशस्त्र प्रहरीले दार्चुला, हुम्ला, मुस्ताङ र संखुवासभामा रहेका उत्तरी नाकामा बीओपी स्थापना गर्न लागेको बताउँदै प्रवक्ता श्रेष्ठले दार्चुला तिङ्कर नाकामा बीओपी राख्ने गृहकार्य अगाडि बढेको बताउनुभयो।

सरकारले दक्षिणतर्फको नाकासँगै उत्तरतर्फको नाकामा पनि पहिलोपटक बीओपी राख्न लागेको हो। नेपाल–भारत सीमामा भारतको एसएसबीको करिब ५ सय ३३ स्थानमा बीओपी रहेको छ भने नेपालको हालसम्म १ सय ७ स्थानमा मात्र बीओपी रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्