सम्पत्ति शुद्धीकरणसम्बन्धी नेपाली अधिकारीलाई तालिम



काठमाडौं, (नेस),

नेपालका २१ अधिकारीहरुको तेस्रो समूहले सोमबारबाट भारतको फरिदाबादस्थित नेसनल एकेडेमी अफ कस्टम इन्डाइरेक्ट ट्याक्सेज एन्ड नार्कोटिक्समा ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण’ बारे ६ दिने प्रशिक्षण शुरू गरेका छन्।

६० अधिकारीको लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो। नेपाल सरकारका विभिन्न निकायको क्षमतालाई अभिवृद्धि गर्ने भारतको प्रतिबद्धता अनुरूप यस कार्यक्रमलाई लिइएको छ।

भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग रहेको छ। यस प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलालाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नेछ। यसअघि नेपाली अधिकारीहरुका दुई ब्याचले भारतमा प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्