निर्जीवन बीमा कम्पनीले बढाए नाफा, पहिलो त्रैमासमा कमाए ८० करोड



नेपाल समाचारपत्र, काठमाडौं ।

निर्जीवन बीमा कम्पनीले नाफामा वृद्धि गरेका छन्। चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमास (साउनदेखि असोज) मा यी कम्पनीले ८० करोड २७ लाख नाफा आर्जन गरेका छन्।

मुलुकभर सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। गत वर्षको तुलनामा यी कम्पनीको नाफा १४ करोड ४६ लाख रुपियाँले बढी हो।

समिक्षा अवधिमा सबैभन्दा बढी नाफा शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ। यस कम्पनीले १२ करोड १४ लाख नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस कम्पनीले १० करोड ५७ लाख रुपियाँ नाफा आर्जन गरेको थियो।

यसपछि बढी नाफा कमाउनेमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ। ७ करोड ५३ लाख नाफा कमाउँदै पहिलो त्रैमासमा बढी नाफा लिने निर्जीवन बीमा कम्पनीमध्ये यो दोस्रो स्थानमा उभिएको छ।
यस्तै, नेसनल इन्स्योरेन्सले ६ करोड ४१ लाख रुपियाँ नाफा आर्जन गरेको छ। पहिलो त्रैमासमा यसले नाफा बढी कमाउनेमध्ये यो कम्पनी तेस्रो स्थानमा छ।

यस्तै पहिलो त्रैमासको सार्वजनिक वित्तीय विवरणअनुसार सरकारी स्वामित्वमा स्थापित राष्ट्रिय बीमा कम्पनीले निजीस्तरको नेसनल इन्स्योरेन्सलाई पछ्याएको देखिन्छ। यस कम्पनीले ६ करोड १० लाख रुपियाँ नाफा आर्जन गरेको छ।

पहिलो त्रैमासमा ५ करोड देखि ६ करोड रुपियाँसम्म नाफा कमाउने निर्जीवन बीमा कम्पनीमा प्रिमियर, एनएलजी र सगरमाथा इन्स्योरेन्स रहेका छन्। यी कम्पनीहरूले क्रमशः ५ करोड ७८ लाख, ५ करोड २५ लाख र ५ करोड १ लाख रुपियाँ नाफा आर्जन गरेका छन्।

यी कम्पनीहरूले कमाएको नाफाको अन्तर भने धेरै नै देखिएको छ। यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले ४ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेको छ। सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ४ करोड ७५ लाख रुपियाँ नाफा कमाएको छ। यस्तै प्रभु इन्स्योरेन्स कम्पनीले ४ करोड १० लाख रुपियाँ नाफा कमाएका छन्।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले नाफा घटाएको छ। यस कम्पनीले ३ करोड ७४ लाखमा सीमित गरेको छ। गत आर्थिक वर्षको समीक्षा अवधिमा यस कम्पनीले ४ करोड १८ लाख नाफा कमाएको थियो।

यस्तै नाफा घटाउने कम्पनीहरूमा हिमालय जनरल र प्रडेन्सियल इन्स्योरेन्स कम्पनी रहेका छन्। हिमालय जनरल इन्स्योरेन्स कम्पनीले चालू वर्षको पहिलो त्रैमासमा ३ करोड १९ लाख रुपियाँ नाफा आर्जन गरेको छ।

यद्यपि, गत आर्थिक वर्षको समिक्षा अवधिमा ४ करोड ५ लाख नाफा कमाएको थियो।
प्रडेन्सियल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको समिक्षा अवधिमा ३ करोड १२ लाख नाफा कमाएको छ। गत आर्थिक वर्षको समिक्षा अवधिमा यस कम्पनीले ३ करोड ३२ लाख नाफा कमँएको थियो।

यसैगरी चालू आर्थिक वर्षको पहिलो त्रैमासमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीले २ करोड ७४ लाख रुपियाँ नाफा आर्जन गरेका छन्। यस्तै एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ करोड २ लाख रुपियाँ नाफा कमाउँदा युनाइटेड इन्स्योरेन्स कम्पनीले १ करोड २८ लाख रुपियाँमा नाफा सिमित गरेको छ।

यसैगरी अजोड इन्स्योरेन्सले ७७ लाख नाफा कमाएको छ भने सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ७४ लाख रुपियाँ नाफा आर्जन गरेको छ। यस्तै जनरल इन्स्योरेन्सले ५८ लाख रुपियाँ नाफा आर्जन गरेको छ। भारतीय स्वामित्वमा रहेको दि ओरियन्ट इन्स्योरेन्सले भने वित्तीय विवरण सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्