अपांगताप्रतिको दृष्टिकोण र साझा सवाल

सन्दर्भ ः अन्तर्राष्ट्रिय अपांगता दिवस



 

टीका दाहाल

समाज परिवर्तनशील र गतिशील पनि छ। त्यसैलेत भनिन्छ, मानिसका सोच र व्यवहारहरू समय सुहाउँदो हुनु आवश्यक छ। त्यसैको प्रभाव होला,देशमा समय–समयमा राजनीतिक परिवर्तनहरू पनि भइरहेका छन्। यति बेला नेपालमा संघीय गणतान्त्रिक व्यवस्था लागू भई कार्यान्वयनमा रहेको छ। मानव अधिकारमैत्री कानुनहरू पनि निर्माण भइरहेका छन्। तसर्थ विभिन्न जाति, भाषा, धर्म, लैंगिकता, भूगोल, अपांगता भएका व्यक्ति आदिका आ–आफ्ना विशिष्ट मागहरू अगाडि सारिएका छन् र सोही अनुसार संविधान र कानुनमा समेत प्रस्ट व्यवस्था भई सम्बोधन पनि भएका छन्।

नेपालको संविधान २०७२ को प्रस्तावना र मौलिक हकले समेत लैंगिक समानता र सामाजिक समावेशीकरणलाई विशेष जोड दिएको छ। यसर्थ राजनीतिक, सामाजिक र व्यावहारिक रुपमा निकै राम्रो सुधार आएको पनि महसुस गर्न सकिन्छ। अन्य सीमान्तकृत समुदायलाई जस्तै अपांगता भएका व्यक्तिप्रतिको दृष्टिकोणमा शुरुवातमा दयामुुखी र परम्परावादी भए तापनि हाल आएर अधिकारमुखी अवधारणामा आधारित सोचहरू विकास हुँदै आएका छन्। तर पनि कोही व्यक्ति अचानक बिरामी पर्यो, अंगभंग भयो या शारीरिक, मानसिक रुपमा कमजोर भयो भने सहानुभूति र दयाको दृष्टिले हेर्ने चलन अधिक रहेको छ।

अपांगता हुनु पूर्वजन्मको पापले गर्दा हैन, अक्षमता वा श्राप होइन। अपांगता रोग, कमजोरी, अशक्तता पनि होइन। शरीरमा विभिन्न कारणले विचलनहरू आउनु सामान्य कुरा हो तर त्यसैको आधारमा कसैलाई भेदभाव, हेला वा उपेक्षा गर्नु वा एक्ल्याउनु अन्याय हो। त्यसैले अपांगतालाईयो एउटा अवस्था हो भन्ने बुझ्नुपर्छ।

अपांगता कसैको रहरले हुने कुरा हैन, हाम्रो जस्तो मुलुकमा अपांगता हुने कारणहरू थुप्रै छन्। जस्तो कि गरिबीको कारण, पोषणको अभाव, जनचेतनाको कमी, चिकित्सकीय कमजोरी, दुर्घटना, प्राकृतिक प्रकोप आदिका कारण घट्दो हैन बढ्दो नै छ। यो राम्रो हैन। त्यस्तै १२ बर्से सशस्त्र द्वन्द्व र २०७२ को भूकम्पको कारण अपांगताको संख्या निकै थपिएको अनुमान गर्न सकिन्छ। अर्कोतर्फ भौगोलिक विकटता, सडकको स्तरोन्नति नहुँदा वा अन्य कमजोरीका कारण दैनिकजसो सडक दुर्घटनाबाट मानिसको मृत्युहुनु र अपांगता वरण गर्नु सामान्यजस्तै भैसकेको छ। अपांगता मानिस जन्मदै या जुनसुकै उमेरमा पनि हुन सक्छ भन्ने कुरा सबैले हेक्का राख्नु जरुरी हुन्छ।

अपांगताको अवस्था

अझै पनि घरमा कोही अपांगता भएको बच्चा जन्म्यो अथवा कोही व्यक्ति अचानक अपांगता वरण गर्न पुग्यो भने परिवारमा या स्वयं व्यक्तिमा ठूलो विपत्ति आइपरेकोे ठान्छन्।त्यसपछि जीवन नै समाप्त भयो भनी हीनताबोधले ग्रस्त हुन्छन्,अब बच्चालाई कसरी हेरचाह गर्ने, कसरी पढाउने र उसको भविष्य कस्तो होला, कसलाई जिम्मा लगाउने आदि भनेर। व्यक्ति स्वयंमा पनि अबको दैनिक जीवन कसरी चलाउने, समाजका सोच र वातावरणसँग कसरी जुझ्ने र विभेदयुक्त समाजमा कसरी बाँच्ने भन्ने चिन्ताले अत्यधिक सताउँछ।

अझ अपांगतामा पनि आफ्नो लागि आफैं केही गर्न सक्ने छन् भने केही सहज होला तर अरूको सहयोगमा दैनिक जीवन चलाउनुपर्ने अवस्थाका बौद्धिक अपांगता भएका व्यक्ति, अटिजम, डाउनसिन्ड्रोम, बहुअपांगता भएका व्यक्ति छन् भने त झन् उसलाई कुन संस्थामा राख्ने, कसले पालिदिन्छ भन्दै अभिभावकसमेत सहयोगको खोजीमा हिँड्छन् र सकेसम्म अरूको जिम्मा लगाउन पाए बोझ हलुका हुन्थ्यो भन्ने ठान्छन्।

त्यस्तै दृष्टिविहीन व्यक्तिले हिँडडुल गर्ने, सूचना पाउने अधिकारवाट वञ्चित हुनुपर्दछ भने बहिरा व्यक्तिलाईसंकेतकै अभावमा भाषा सञ्चारमा कठिनाइ भोग्नबाध्य पारिन्छन् भने उमेरअनुसारकोशिक्षा सांकेतिक भाषामा पाउन नसक्दा समग्र सञ्चार र सूचनाको पहुँचबाहिर भएर सम्पूर्ण अवसरबाट वञ्चित हुने गर्छन्।मनोसामाजिक अपांगताको कुरा गरौं, यो अवस्थाको शुरुवातमा नै थाहा पाएर खुलेर समाधान गर्ने परिपाटी एकदमै कम छ।

तसर्थ जब मानिसको अवस्था नियन्त्रणबाहिर जान्छ अनि उसप्रति हेर्ने दृष्टिकोण पूर्णरुपमा नकारात्मक भइदिन्छ। निको हुँदैन भन्ने सोच राखी उपचार नगर्ने र थप विभेद गर्ने कारण परिवार र समाजबाट एक्लिनुपर्ने र विभिन्न लाञ्छना लाग्ने, कुटपिट, दुव्र्यवहार खेप्न बाध्य पारिन्छन्। अझ मनोसामाजिक अपांगता भएका महिलालाई परिवारबाटै घर निकाला गर्ने कारण सडकमा बस्न बाध्य पारिन्छन्। अनि सडकमै पटक–पटक बलात्कारको सिकार हुने र बच्चा जन्माउन बाध्य पारिएका थुप्रै घटना छन्। त्यस्तै हेमोफेलिया र बहिरा, दृष्टिविहीनहरूको समस्या त झन् पहिचान नै हुन सकेको छैन।

भइहाले पनि औषधि उपचार र पुनस्र्थापनाको अभावमा समस्या झन्बढिरहेको छ। यद्यपि सुगम र शिक्षित परिवारमा भने अभिभावकबाटै केही सकारात्मक पहलहरूभएको पाइन्छ। अपांगताभित्रको अर्को पाटो अपांगता भएका महिलाका विशिष्टीकृत समस्याहरू भने अझै जटिल अवस्थामा रहेका छन्। अपांगता हुनु, महिला हुनुले बहुविभेदको सिकार हुने गरेका छन्।

हाम्रो समाज अझै पनि पितृसत्तात्मक सोच, मूल्य–मान्यताका आधारमा सञ्चालित रहेको अवस्थामा समग्र महिलासमेत लैंगिक विभेदको सिकार हुने गरेका छन् भने अपांगता भएका महिलामा विभेदको तह र शृङ्खला अझ बढी हुने गरेको छ। उनीहरूलाई परिवारबाटै समेत विभेद गरिन्छ। हुर्कने क्रममा नै अन्य बच्चाले जस्तो उचित स्याहार, पोषण र शिक्षा पाउनबाट वञ्चित हुन्छन्। किशोरी अवस्थामा र युवा अवस्थामा विभिन्न खालका यौन हिंसा, बलात्कारको जोखिम व्यहोर्न बाध्य हुन्छन् भने यौन तथा प्रजनन स्वास्थ्यको समस्या, जीवन साथी रोज्न पाउने तथा विवाह गर्ने अधिकारबाट समेत पूर्णरुपमा वञ्चित हुने गरेका छन्। साथै रोजगार, स्वरोजगारीका समस्या, आर्थिक अभाव र राजनीतिक तथा सामाजिक सहभागिताबाट समेत वञ्चितहुँदा उनीहरूको दैनिक जीवन झन् कष्टकर बन्दै गएको पाइन्छ।

अपांगतालाई यसरी बुझौं

अपांगता हुनु पूर्वजन्मको पापले गर्दा हैन, अक्षमता वा श्राप होइन। अपांगता रोग, कमजोरी, अशक्तता पनि होइन। शरीरमा विभिन्न कारणले विचलनहरू आउनु सामान्य कुरा हो तर त्यसैको आधारमा कसैलाई भेदभाव, हेला वा उपेक्षा गर्नु वा एक्ल्याउनु अन्याय हो। त्यसैले अपांगतालाईयो एउटा अवस्था हो भन्ने बुझ्नुपर्छ। शरीरका अंगहरू र शारीरिक प्रणालीमा भएका समस्याका कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणका साथै सञ्चारसमेतबाट सिर्जना भएको अवरोधले दैनिक क्रियाकलाप सामान्यरुपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्था अपांगता हो।

अपांगता हुनु व्यक्तिको दोष होइन। यो शारीरिक वा मानसिक अवस्थाको कारणले नभएर अवरोधहरूको कारणले उत्पन्न हुन्छ। जस्तै– हाम्रो वरिपरिका वातावरण, सार्वजनिक भवनहरू, शौचालय, चमेनागृह, विद्यालय, कलेज, बजार, सिनेमा घर, अस्पताल, मन्दिर, पिक्निक स्थलहरू, सार्वजनिक यातायातका साधनहरू, रोड, सञ्चार तथा सूचनाका सामग्रीहरू अपांगता भएका व्यक्तिका लागि सहज नहुँदा अधिकारबाट वञ्चित हुनुपर्दछ। त्यस्तै अपांगता भएका व्यक्तिप्रति नकारात्मक दृष्टिकोणले हेरिनु, उनीहरू काम गर्न सक्दैनन् भन्ने ठान्नु, फरक हुन् भन्ने ठानीफरक व्यवहार गरिनु, एक्ल्याउनु र उनीहरूका लागि काम गर्न धेरै खर्चालु हुँदाबोझ हुन्छ भन्ने ठान्दा उनीहरू एक्लो र कठिनपूर्ण जीवन बाँच्न वाध्य हुन्छन्। त्यो नै अपांगताको अवस्था हो।

अझै पनि अपांगताको सवालमा समस्याहरू आएमा याअपांगता भएका महिलाविरुद्धका हिंसाका घटनाहरूका बारेमा सीधै अपांगतासँग सम्बन्धित संस्था या व्यक्तिको मात्र जिम्मेवारी हो भनी पन्छाउने चलन छ। साथै अपांगता भएका व्यक्तिलेप्रयोग गर्ने सहायक सामग्री, सांकेतिक भाषा आदिका बारेमा जानकारी लिनु–दिनुपरेमा अपांगतामा सरोकार राख्नेबाहेक विरलै मानिसलाई मात्र ज्ञान र चासो हुने गर्दछ। त्यति मात्र हैन, अपांगता भएका व्यक्तिले प्रयोग गर्ने ह्वीलचियर, बैसाखी, सेतो छडी, चारपांग्रे स्कुटरलगायतका सहायक सामग्री, सांकेतिक भाषा र अन्य डिभाइसका बारेमा सूक्ष्म जानकारी राख्नु त कता हो, बाटोमा देखिहाले पनि छक्क परेर हेर्ने गरेको पाइन्छ। यदि अपांगताको सवालमा परिवार र व्यक्ति–व्यक्तिले चासो गरी सकारात्मक सोच, सहजरुपमा लिई अवसरमा समानता सृजना गरिने होे भने समृद्ध समाज निर्माण हुन सक्छ। अझै भन्नुपर्दा कानुनमा भएका व्यवस्था कार्यान्वयन गर्न सबै पक्षको सकारात्मक पहल हुन आवश्यक छ। अपांगता भएकै कारण कसैले पनि एक्लो र फरक महसुस गर्नु नपरोस्,समानताको अनुभूति गर्न पाइयोस्।

सभ्य भाषाको प्रयोग गरौं

सम्मानित शब्दको प्रयोगले मानिसलाई ऊर्जा मिल्ने गर्दछ। आफ्नो पहिचान नामसँग जोडिएको हुन्छ। सोही अनुसार नै सम्बोधन होस् भन्ने सबैले चाहेका हुन्छन्। तर जानेर या नजानेर मानिसले बिग्रेको, भत्केको या कामको नराम्रो परिणामको संज्ञा दिनुपर्यो भने अपांगतासँग जोडेर नराम्रो रुपमा प्रयोग गर्ने चलन छ। विशेष गरी राजनीतिक जगत्मा, संसद् भवनमा बढी प्रयोग भएको पाइन्छ। तर अबअपांगताको आधारमा कुनै पनि अपशब्द बोलिन्छ भने त्यो कानुनीरुपमा दण्डनीय ठहर गर्दछ। तसर्थ फरक क्षमता भएका नभनौं, अपांगता भएका व्यक्ति भनौं। त्यस्तै दृष्टिविहीनता, सुन्न–बोल्न समस्या भएका व्यक्ति, बौद्धिक अपांगता, अटिजम, डाउन सिन्ड्रोम, मनोसामाजिक अपांगता, शारीरिक अपांगता भनी सम्बोधन गरौं। साथै अपांगतालाई बिग्रेको, भत्केको र कमजोर वस्तुको रुपमा संज्ञा नदिऔं, सम्मानित शब्दको प्रयोग गरौं।

(लेखक दाहाल अपांगता, महिला अधिकारकर्मी हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्