प्रशंसनीय प्रस्तुति



काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक समुद्घाटन समारोह आइतबार सम्पन्न भयो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको सागको यस समारोहको प्रस्तुति निकै प्रशंसनीय रह्यो। नेपालले यति राम्रो व्यवस्थापन गरेर दक्षिण एसियाली अतिथिको उच्च सम्मान त गर्यो नै साथमा आफ्नो प्रतिष्ठा पनि बढायो। यसका लागि उद्घाटन समारोहका परिकल्पनाकार, सहभागी कलाकार तथा सुरक्षाकर्मी र सहयोगी सबै प्रशंसाका पात्र बनेका छन्। रंगशालामै गएर प्रत्यक्ष अवलोकन गर्नेले मात्र होइन टेलिभिजनको पर्दामा हेर्ने स्वदेश तथा विदेशमा रहेका नेपालीले पनि उज्यालो अनुहार बनाउँदै उनीहरूको प्रशंसा गरेको हुनुपर्छ।

दक्षिण एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव नेपालले २० वर्षपछि आयोजना गरेको हो। पहिलोपटक सन् १९८४ मा नेपालबाट शुरू भएको सागको आयोजना गर्ने अवसर नेपालले तेस्रोपटक पाएको हो। नेपालले दोस्रोपटक सन् १९९९ मा सागको आयोजना गरेको थियो। यसैपटक पोखरा र जनकपुरले पहिलोपटक साग आयोजनाको हिस्सेदार बन्ने अवसर पाएका छन्। यसका लागि दशरथ रंगशालाको पूर्वाधार निर्माण कार्य जुन तदारुकताका साथ भयो, त्यो पनि प्रशंसनीय नै रहेको छ। उद्घाटन समारोहमा आतिसबाजीदेखि कला र लाखे, कुमारी नाच, पुलुकिसी तथा देवीनाचलगायत प्रस्तुत गरिएको थियो। करिब तीन घन्टा चलेको उद्घाटन कार्यक्रमको कुनै पनि क्षण कम रोचक थिएन।

रंगशालामा ठूला पर्दा राखेर कार्यक्रमलाई अझ आकर्षक बनाइएको थियो। नेपालको संस्कृति झल्किने लाखे, पुलुकिसी र देवीनाचको झाँकीले नेपालको मौलिक संस्कृति उजागर गरेका थिए भने आतिसबाजी र मानव–चित्रको प्रस्तुतिले आधुनिक क्षेत्रमा नेपालको दक्षता देखाएका थिए।

समारोहमा १५ हजारको संख्यामा रहेका कलाकार र प्रस्तुतकर्ताको व्यवस्थापन मात्र पनि आफैंमा चुनौतीपूर्ण थियो। विभिन्न झाँकी, सातै प्रदेशका विविधता झल्किने सांस्कृतिक नृत्यले नेपाल संघीयतामा प्रवेश गरेको परिचय त दिएको थियो नै, नेपाललगायत सबै सार्क राष्ट्रको मौलिकता झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर परिकल्पनाकारले सार्क मुलुकलाई एक परिवारका रूपमा प्रस्तुत गरेका थिए। यसबाट, राजनीतिक तनाव सिर्जना गरेर टाढिने यसभित्रका केही मुलुकका नेताहरूलाई स्वादिलो जवाफ प्राप्त भएको हुनुपर्छ। नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरी बल (एपीएफ) को सीप र क्षमता उद्घाटन समारोहमा राम्रोसँग प्रस्तुत भयो।

दक्षिण एसियाली देशहरूमा खेलका पूर्वाधार निर्माण गर्ने, खेल वातावरण र संस्कार विकास गर्ने तथा आधुनिक प्रशिक्षणको व्यवस्था र सक्नेले नसक्नेलाई सहयोग गर्ने पवित्र उद्देश्य राखेर सागको जन्म भएको थियो। यसभित्र क्षेत्रीय शान्ति, भाइचारा, पारस्परिक मित्रता र सहयोगको औचित्यलाई उजागर गर्ने उद्देश्य निहित छ जसलाई भव्य उद्घाटन समारोहले प्रशंसनीय तरिकाले समेटेको देखियो। उद्घाटन समारोहको जसरी प्रशंसा गर्ने अवसर मिल्यो, त्यसरी नै खेलाडीको व्यावसायिक प्रवद्र्धन र जीविकोपार्जनको क्षेत्रमा पनि प्रशंसा गर्ने अवसर जुट्न सके यसप्रतिको आकर्षणले स्थायित्व पाउनेछ।

प्रतियोगिताको समग्र वस्तुस्थिति र व्यवस्थापन पनि उद्घाटन समारोह जस्तै प्रशंसनीय हुन सकोस्, नेपाली खेलाडीले मुलुकका लागि अधिकाधिक पदक ल्याउन सकून्, शुभकामना।

प्रतिक्रिया दिनुहोस्