आस्थाको अर्को सांगीतिक आधार



लोकप्रिय पप गायिका आस्था राउतले नयाँ गीति अडियो एल्बम आधार भाग–२ सार्वजनिक गरेकी छिन्। आस्थाले आधार भाग–१ को सफलतापछि आधार भाग–२ सार्वजनिक गरेकी हुन्। म्युजिक नेपालको उत्पादन रहेको एल्बममा आस्थाको एकल स्वर रहेको छ।

राजधानीको पिंगलास्थानस्थित नेपाल म्युजिक सेन्टरमा आयोजित समारोहमा ख्यातिप्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथमा गायक राजु लामा, संगीतकार सुरेश अधिकारी, आस्थाका गायक पिता हरिबहादुर राउत र माता सावित्री राउतले एल्बम सार्वजनिक गरेका थिए।

सार्वजनिक एल्बममा सिमाना, राम साइँली, नाकैमा फुली, दशैं आयो तिहार आयो, को छ यहाँ, कलधारा, हवाईजहाजको टिकट र झलझल गर्ने बोलका ७ गीत गीत संगृहित छन्।

यी गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ भने को छ यहाँ बोलको गीतमा आस्थाकी आमा सावित्री राउतको शब्द रचना रहेको छ। समारोहमा नाकैमा फुली बोलको गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ। शान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा आँचल शर्मा र महेश खड्काले मोडलिङ गरेका छन् भने अनिल के मानन्धर र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

कार्यक्रममा बोल्दै अभिनेता मदनकृष्ण श्रेष्ठले कम उमेरमै आस्थाले नेपाली सांगीतिक क्षेत्रमा प्रगति गरेको चर्चा गरे। ‘सांगीतिक वातावरणमा जन्मेर, हुर्केर होला, आस्थामा गायकीको नयाँ फ्लेभर पाइन्छ।’ –मदनकृष्णले भने। त्यसै गरी अर्का अभिनेता हरिवंश आचार्यले आस्थाको स्वर भिन्न रहेको चर्चा गरे। ‘जो–कोहीको गीत सुनिरहँदा त्यो गीत सोही गायकगायिकाको हो कि होइन भन्ने अन्यौल हुन्छ। किनकि त्यस्तै किसिमको स्वर अन्य गायकगायिकाको पनि हुन्छ।

तर, आस्थाको स्वर सुन्दा उनको जस्तो स्वर अन्यमा पाइँदैन। त्यस कारण परबाटै यो गीत आस्थाले नै गाएको हो भन्नेमा ढुक्क भइन्छ।’ –हरिवंशले भने। संगीतकार सुरेश अधिकारीले आस्था जस्तोसुकै फ्लेभरको गीत पनि गाउन सक्ने प्रतिभाशाली गायिका भएको चर्चा गरे भने आस्थाका गायक पिता हरिबहादुरले आफूलाई आस्थाको पिता भनेर चिनाउन पाउँदा खुसी लाग्ने बताए।

लोकप्रिय रियालिटी सो भ्वाइस अफ नेपालको कोचसमेत रहेकी आस्थाले आफूले क्वान्टिटीमा भन्दा क्वलिटीमा विश्वास राखेर काम गरेको जनाउँदै गीत राम्रो हुन शब्दको ठूलो भूमिका रहने चर्चा गरिन्।

प्रतिक्रिया दिनुहोस्