सुटिङका लागि आयो लोकेसन गाइड



नेपालमा स्वदेशी र विदेशी फिल्मको सुटिङ गर्न सघाउन चलचित्र विकास बोर्डले लोकेसन गाइड सार्वजनिक गरेको छ। हालै बोर्डमा आयोजित एक समारोहबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फिल्मिङ इन नेपाल, द अल्टिमेट ट्राभल गाइड टु फिल्म्स् साइटस्– भोलुम १ लोकार्पण गरेका हुन्।

सोही कार्यक्रममा मन्त्री बाँस्कोटाको रोहबरमा बोर्ड र ब्रिटिस काउन्सिलबीच फिल्म संग्रहालय तथा अन्य सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

कार्यक्रममा मन्त्री बाँस्कोटाले नेपाल आफैं फिल्म छायांकनका लागि प्राकृतिक स्टुडियो भएको चर्चा गर्दै यो पुस्तकले नेपालको सुन्दरताबारे देश–विदेशमा जानकारी गराउने विश्वास व्यक्त गरे।

विदेशीलाई नेपालको सुन्दरता र यहाँ छायांकन गर्ने सुविधाबारे जानकारी गराउन हरेक देशका नेपाली कूटनीतिक नियोगमार्फत ती देशका सिनेकर्मीको हातमा पुस्तक पुर्याउन उनले सुझाए। पुस्तकमा भएका तस्वीर र सूचनाहरू वेबसाइट बनाएर राख्न पनि उनले सुझाए।

मन्त्री बाँस्कोटाले चलचित्र ऐन अहिले मन्त्रालयबाट क्याबिनेटमा पठाएको जानकारी गराउँदै अब यो कानुन मन्त्रालयमा जाने र त्यसपछि संसद् हुँदै चाँडै पारित भएर आउने पनि बताए। उनले इन्डोर सुटिङ स्टुडियोका लागि काभ्रेमा जग्गा खोजेको जानकारीसमेत गराउँदै बालाजुको एनएफडीसीको जग्गा फिर्ता लिन कानुनी पहल गर्ने जनाए।

बोर्डका अध्यक्ष केशव भट्टराईले नेपाललाई विश्वका सिनेकर्मीको सुटिङ डेस्टिनेसनका रूपमा विकास गर्ने सरकारी योजनाअनुसार निकै छोटो समयमा पुस्तक तयार गरेर ल्याइएको बताए।

नेपालका छायांकनस्थलको बारेमा पूर्ण जानकारीसहितको वेबसाइटसमेत चाँडै नै सार्वजनिक गर्ने जनाउँदै उनले लोकेसन गाइडको भिडियो बुक तयार गर्ने कार्य भइरहेको बताए। बोर्डका सदस्य–सचिव महेन्द्रप्रसाद साँखीको स्वागत मन्तव्यबाट शुरू भएको सो कार्यक्रममा बोर्डका सदस्य तथा लोकेसन गाइड प्रकाशन समितिका संयोजक दयाराम दाहालले फिल्म लोकेसन गाइड पुस्तकबारे जानकारी गराए। करिब २ सय २० पृष्ठको यो पुस्तक निकै छोटो समयमा तयार गरिए पनि धेरैभन्दा धेरै कुरा समेट्ने कोशिस गरेको उनले बताए।

कार्यक्रममा ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डिरेक्टर डा. जोभन ल्लिकबीच चलचित्र संग्रहालय तथा अन्य सहकार्यका लागि भएको समझदारीपत्र चलचित्र उद्योगका लागि एउटा राम्रो कार्यको शुरुआत भएको बोर्ड अध्यक्ष भट्टराईले बताए।

डा. जोभनले बोर्डसँग भएका पुराना सिनेमालाई डिजिटाइज गर्ने, बोर्डको सिनेमा संग्रहालयका लागि भवन बनाउने, संग्रहालय स्थापना गर्ने, बोर्डमार्फत विद्यार्थीलाई सिनेमाको शिक्षा तथा प्रशिक्षण दिने, सिनेमाको नयाँ करिकोलम बनाउन विज्ञहरू उपलब्ध गराउने, बाल फिल्म महोत्सव गर्ने जस्ता विभिन्न योजनामा काम गर्ने जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्