त्रिवि उपकुलपतिको एक महिने ‘परिचय’



ईश्वरराज ढकाल, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्राडा धर्मकान्त बाँस्कोटालाई उपकुलपति नियुक्त गरेको आज एक महिना पूरा भएको छ तर देखिने गरी कुनै काम भएको छैन। सोध्नेहरूलाई उहाँले ‘परिचयात्मक गतिविधि हुँदै छ’ भन्ने गर्नुभएको छ।

पदभार ग्रहण गर्ने क्रममा प्राडा बाँस्कोटाले त्रिविलाई राजनीतिबाट मुक्त गर्ने र आर्थिक पारदर्शिता कायम गर्ने बताउनुभएको थियो। यस अवधिमा उहाँ अधिकांश समय विभिन्न निकायसँगको भेटघाटमा देखिनुभयो। उहाँको योजनाको बारेमा पत्रकार भेटघाट गर्न पुग्दा भन्ने गर्नुभएको थियो छ– ‘अहिले म केही पनि बोल्दिनँ, बोल्ने बेलामा तपाईंहरूलाई बोलाउँला।’

त्रिविका एक अधिकारीका अनुसार उहाँले अहिलेसम्म केही गर्नुभएको छैन, केबल गफगाफ गर्ने अनि यो गर्छु र त्यो गर्छु मात्र भन्ने गर्नुभएको छ।

त्रिविका सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल संयोजक रहेको सर्च कमिटीले सिफारिस गरेका तीन जनामध्ये डा. भगवान कोइराला र प्राडा चन्द्रमणि पोखरेललाई पछि पार्दै नियुक्त हुँदा उहाँले धेरै काम गर्ने बताउनुभएको थियो।

एकमहिना अवधिमा उहाँले डीन, विभागीय प्रमुख, विभिन्न निकायका कार्यकारी निर्देशक, महाशाखा प्रमुख, विभागीय प्रमुख, उपत्यकाका क्याम्पस प्रमुख, त्रिवि प्राध्यापक संघ र कर्मचारी संघ–संगठन, नेपाल विद्यार्थी संघ र दलसँग आबद्ध संगठनका नेतासँग भेट गर्नुभएको छ। अधिकांश भेटमा उहाँले आफूले सबै विषय बुझेर मात्र निर्णय गर्छु भन्ने गर्नुभएको छ, अब के गर्ने भन्ने विषय निर्णय लिनुभएको छैन। यस अवधिमा उहाँले पूर्वउपकुलपतिले तय गरेको बजेट कार्यक्रम मात्र सम्पन्न गर्नुभएको छ।

उपकुलपतिको ‘परिचय अवधि’ लम्बिनुमा रजिस्ट्रार डिल्लीराम उप्रेती र शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठी बिदाइ भएपछि नयाँ आउने पदाधिकारीसँग मिलेर मात्र कार्ययोजना बनाउने रणनीति कारणका रूपमा रहेको बताइन्छ। दुवै पदाधिकारीको म्याद यही पुस ८ गते सकिँदै छ।

दर्जनौं चुनौतीको सामना गर्ने गह्रौं जिम्मेवारी लिएर त्रिविको बागडोर सम्हालेका उपकुलपतिले महाशाखा प्रमुख र अन्य उच्च निकायका कर्मचारीसँग एकपटक ब्रिफिङ सुन्नेबाहेक पुनः भेटसम्म गर्नुभएको छैन।

‘उहाँले सल्लाह लिन नबोलाएपछि हामी किन जाने’ अधिकांश उच्च तहका अधिकारीले यसै भन्ने गरेका छन्। त्रिविको १९औं उपकुलपतिको कार्यभार सम्हालेलगत्तै दशकौंदेखि थाति रहेको चुनौतीलाई कसरी समाधान गर्ने भन्ने विषय उहाँको मुख्य काम देखिएको छ।

‘उहाँले भन्नुभएजस्तो राजनीतिमा लागेकालाई त्रिविको नयाँ रेक्टर र रजिस्ट्रारमा नियुक्ति गर्न सिफारिस गर्नुहुन्छ कि हुन्न, हामी हेरिरहेका छौं।’ –एक उच्च अधिकारीले टिप्पणी गरे।

अहिले रिक्त रहेका क्याम्पस प्रमुखमा राजनीति भागबण्डामा नियुक्ति गर्ने कि नगर्ने– यो उहाँको मुख्य चुनौती हो। त्रिविमा हाजिर गर्ने तर अर्कै कलेजमा पढाउने प्रवृत्ति रहेका ‘हेल्मेट शिक्षक’लाई कसरी रोक्ने, विद्यार्थी अति कम भएका तर शिक्षक धेरै भएका राजनीति शास्त्र, संस्कृत, हिन्दी, शिक्षा, इतिहास, बुद्धिस्ट स्टडीजस्ता दर्जनौं विषयमा अध्यापनरत स्थायी शिक्षकलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय उहाँसामु चुनौतीका रूपमा छ।

पार्टीका कार्यकर्ताका रूपमा भर्ती भएका कर्मचारीलाई कसरी काम गर्न लगाउने, हाजिर नै नगरी जागिर खाइरहेका कर्मचारी र शिक्षकलाई कसरी काममा ल्याउने वातावरण मिलाउने, सेवा र सुविधामा देखिएको विभेद कसरी अन्त्य गर्नेलगायत विषयको तत्काल समाधन गर्नुपर्ने उपकुलपतिको विषय हो।

समयसापेक्ष शुल्क समायोजन, त्रिविको सम्पत्तिको एकिन तथ्याङ्क निकालेर त्यसको संरक्षण, भूकम्पले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, कक्षाकोठा र पुस्तकालय व्यवस्थापन, एकद्वार खाता प्रणालीको शुरुआत, पछिल्लो पटक सम्बन्धनमा देखिएका विवाद र थप सम्बन्धनको पर्खाइमा रहेका कलेजलाई सम्बन्धन दिने कि नदिने वा त्यसलाई कसरी समाधान गर्ने, कृषि तथा वन विश्वविद्यालय र त्रिविबीचको सम्पत्ति विवादलगायतका विषयमा सम्बोधन हुन थालिनुपर्ने अपेक्षा त्रिविका कर्मचारीहरूमा छ।

प्रतिक्रिया दिनुहोस्