‘बढायो’ कांग्रेसको आत्मबल



काठमाडौं, (नेस)
शनिबार सम्पन्न उपनिर्वाचनको परिणामबारे नेपाली कांग्रेसले आफ्नो आत्मबल बढेको आधिकारिक प्रतिक्रिया दिएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले ‘निर्वाचनको मत परिणामले कांग्रेसको आत्मबल बढेको छ भने नेकपालाई सच्चिन दबाब बढेको छ’ भन्नुभयो।

‘निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न सरकारले सबै शक्ति प्रयोग गर्दा पनि कांग्रेसले जनमत बढाएको, यसअघि कांग्रेस नेतृत्वको सरकारले गराएको निर्वाचन निष्पक्ष र स्वच्छ भए पनि यो पटक निर्वाचन आचारसंहिता विपरीतका धेरै काम भएको’ प्रवक्ता शर्माको टिप्पणी थियो।

कांग्रेसले हारेको कतिपय ठाउँमा पनि गत निर्वाचनभन्दा मत बढाएकाले कांग्रेसको थप आत्मविश्वास बढेको भन्दै प्रवक्ता शर्माले कतिपय ठाउँमा नेकपाले सहानुभूतिको आधारमा मत संकलन गरेको बताउनुभयो। कास्कीको सन्दर्भमा नेकपालाई सहानुभूतिको मत प्राप्त भएको भन्दै उहाँले सहानुभूतिको मत धेरै समयसम्म नरहने टिप्पणी गर्नुभयो। उहाँले नेकपाका दिवंगत नेता रवीन्द्र अधिकारीको ठाउँमा उहाँकी श्रीमती विद्या भट्टराईले हासिल गर्नुभएको विजयका सम्बन्धमा टिप्पणी गर्नुभएको हो।

खासगरी धरानको मतपरिणामले विशेष महत्व राख्ने भन्दै उहाँले यसले समग्र मतपरिणामको सन्देश गएको पनि बताउनुभयो। लगातार वामपन्थीले जित्दैआएको ठाउँ धरान उपमहानगरपालिकाको मेयरमा नेकाका तिलक राईले हासिल गरेको विजयप्रति प्रवक्ता निकै उत्साही देखिनुहुन्थ्यो।

आन्तरिक संगठन सुदृढीकरण गरी आगामी आमनिर्वाचनको तयारीमा जुटिरहेको कांग्रेसलाई अहिलेको मतपरिणमले थप हौसला मिलेको भन्दै प्रवक्ता शर्माले उपनिर्वाचन मार्फत् एक ढंगको जनमत सर्भेक्षण सार्वजनिक भएको र यसलाई विश्लेषण र आत्मसात गर्दै अघि बढ्ने बताउनुभयो।

मंसिर १४ गते प्रतिनिधिसभा सदस्य–३, प्रदेश सभा सदस्य–१, उपमहानगरपालिका प्रमुख–३, गाउँपालिका अध्यक्ष–१ उपाध्यक्ष र ४३ वडाध्यक्षसहित जम्मा ५२ स्थानमा उपनिर्वाचन सम्पन्न भएको थियो।

उपनिर्वाचनमा कांग्रेसले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र केही वडाध्यक्ष गुमाएको छ। प्रदेश २ को रौतहट, सुदूरपश्चिम प्रदेशको बैतडी, प्रदेश ५ को अर्घाखाँची अनि प्रदेश ३ को चितवन, प्रदेश १ को धरान र उपत्यकाको भक्तपुरमा प्राप्त परिणामले नेपाली कांग्रेस उत्साही बनेको छ।

नेपाली कांग्रेसलाई मत दिने नागरिकलाई धन्यवाद दिंदै प्रवक्ता शर्माले बितेको २१ महिनामा कांग्रेसले प्रस्तुत गरेको जिम्मेवार र शालिन प्रतिपक्षी भूमिकाको अनुमोदनका रूपमा समेत अर्थ लगाउनुभयो।

प्रतिक्रिया दिनुहोस्