प्रधानमन्त्रीले दिनुभो भिडियो स्वास्थ्य सन्देश



काठमाडौं, (नेस),
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शøयाबाट सोमबार आफ्नो पछिल्लो स्वास्थ्य अवस्थाबारे भिडियो सन्देश जारी गर्दै स्वास्थ्यमा सुधार भएको जानकारी दिनुभएको छ।

एक साताअघि मंगलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका प्रधानमन्त्रीले भन्नुभयो– ‘म यसरी बोल्नसक्ने भएको छु।’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा गलत हल्ला जनमानसमा फैलिएपछि प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गर्नुभएको हो। सोमबार बिहानैदेखि कसैले फैलाएको अप्रिय हल्लालाई खण्डन गर्न भिडियो जारी गरिएको प्रधानमन्त्रीका सहायकहरूले बताएका छन्।

प्रधानमन्त्रीले बोल्नुभएको २ मिनेट ६ सेकेन्डको सन्देशमा आफ्नो स्वास्थ्य अवस्थाका साथै दक्षिण एसियाली खेलको सफलताको पनि कामना गर्नुभएको छ। ‘मेरो स्वास्थ्य राम्ररी सुधार भइराखेको छ। एउटा मेजर अपरेसनपछि तपाईंहरू देखिरहनुभएको छ– म उठेर बोल्नसक्ने, साथीहरूसँग कुरा गर्नसक्ने अवस्थामा छु र समाचारहरू हेर्नसक्ने अवस्थामा छु।’ –प्रधानमन्त्री ओलीले भन्नुभएको छ।

उहाँको स्वास्थ्य सोचेभन्दा राम्रो सुधार भएको र शल्यक्रिया गरेको घाउ निको हुन केही समय लाग्ने उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। उहाँको मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेको र मिर्गौलाले राम्रोसँग काम गरिनरहेको अवस्थामा उहाँलाई डायलाइसिससमेत निरन्तर गरिरहेकाले उहाँलाई इम्युनोसप्रेसिभ दिइरहेकाले सामान्य बिरामीमा भन्दा संक्रमणको उच्च जोखिम हुने भएकै कारण चिकित्सकहरूले उच्च निगरानीमा अस्पतालमै राखी उपचार गरिरहेको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्