‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पानीबाट चल्ने गाडी आकर्षकको रुपमा राखिने



यमलाल भुसाल, बुटवल ।

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आगामी पुसमा सञ्चालन गर्न लागिएको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पानीबाट चल्ने गाडी आकर्षकको रुपमा रहने छ ।

गाडी चलाउन ईन्धन आवश्यक पर्ने भएकाले पानीबाट चल्ने गाडी कस्तो होला भन्ने सबैलाई उत्सुकता हुन सक्छ । पानीबाट गाडी चल्ने पद्धती तथा त्यसको बारेमा जानकारी गराउने उद्देश्यले मेलामा राख्नलागिएको बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य तथा मेला प्रचार प्रसार समितिका संयोजक मुक्ति अधिकारीले जानकारी गराउनु भयो ।

बुटवल मिलनचोकमा रहेको ‘जिसी रिसर्च एण्ड डेभलपमेन्ट कम्पनी’ले पानीबाट गाडी चल्ने प्रणालीको बिकास गरेको र त्यही प्रणालीलाई मेलामा राख्न लागिएको हो ।

उक्त कम्पनीले नेपालमा मात्रै नभएर विश्वमै पहिलो पटक पानीबाट गाडी चल्ने प्रणाली अध्ययन गरेर बिकास गरेको हो ।

त्यसकालागि गाडीमा एउटा छुट्टै डिभाईस जडान गर्नुपर्ने कम्पनीका मेकानिकल ईञ्जिनियर शिशिर जिसीले बताउनु भयो । उहाँका अनुसार हरेक प्रकारका गाडी र जेनेरेटरमा समेत यो डिभाईस जडान गर्न मिल्छ ।

गाडी चलाउनकालागि ६० प्रतिशत ईन्धन र ४० प्रतिशत पानी (केमिकल ट्रिट वाटर) आवश्यक पर्छ । जडान गरिएको डिभाईसबाट पानी सप्लाई गरिन्छ । उक्त पानी ग्याँसमा परिणत भएर ईञ्जिनमा प्रवेश गराईन्छ । उक्त डिभाईसमा ४ दशमलव ६ लिटर पानी अटाउँछ । त्यसले गाडीलाई १ हजार ५ सय किलोमिटर गुडाउँछ ।

सामान्यतया ईन्धनमा पानी मिसियो भने ईञ्जिनलाई सिज समेत गराउन सक्छ । तर यो प्रणालीबाट चलाईने गाडीको माईलेज, पावर, पिकअप बढाउने, ईञ्जिनलाई स्मुथ बनाउने र चलाउन समेत धेरै सजिलो हुने ईञ्जिनियर जिसी बताउनु हुन्छ ।

त्यस्तै गाडी भित्र शुद्ध अक्सिजन प्रदान गर्ने र यसैका कारण गाडीको साईलेन्सरबाट निस्कने धुवामा कार्वनमोनो अक्साईड र हाईड्रो कार्वन उत्सर्जनमा कमि हुने भएकाले वातावरणका हिसावले पनि बढी उपयोगी भएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्