मेगा बैंक ‘बैंक अफ दि इयर’



मेगा बैंक नेपाल सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बन्न सफल भएको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने ‘दि बैंकर’ ले सन् २०१९ का लागि बैंक अफ दि एयर २०१९, नेपालबाट मेगा बैंकलाई सम्मान गरेको हो। लण्डनमा बिहीबार साँझ आयोजित एक समारोह बीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंक अफ दि एयर, २०१९ को सम्मान ग्रहण गर्नुभयो।

दि बैंकरले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरूका १ हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ। सम्मान ग्रहण गरेपछि मेगा बैंकका अध्यक्ष शाहले अनवरत रुपमा ग्राहकवर्गलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै थप हौसलाका साथ अघि बढ्न यो सम्मान मेगा बैंकका लागि महत्वपूर्ण कोसेढुंगाको रुपमा स्थापित भएको व्यहोरा व्यक्त गर्नुभयो।

अध्यक्ष शाहले मेगा बैंकको सफलता एवम् उपलब्धिमा आप्mनो सहयोग, साथ तथा हौसलाद्वारा महत्वपूर्ण योगदान पुर्याउने ग्राहकवर्ग, शेयरधनी, कर्मचारी, नियामक निकायहरू, सञ्चार जगत लगायत शुभेच्छुकहरूप्रति आभार र कृतज्ञता समेत व्यक्त गर्नुभयो।

यसैगरी मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले नौ वर्षको छोटो सञ्चालन अवधिमै गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गरेर प्रतिस्पर्धाको अग्रपङ्क्तिमा रहन सफल भएकै कारण मेगा बैंकले बैंक अफ दि एयर, २०१९ को उपाधि हासिल गरेको भन्दै आगामी दिनमा बैंकलाई थप सबल, समृद्ध एवं सक्षम बनाउन सबैको निरन्तर साथ र सहयोग रही रहने विश्वास प्रकट गर्दै आगामी दिनहरूमा समेत उत्कृष्ट सेवा प्रदान गर्न मेगा बैंक सदैब कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसै साता मेगा बैंकले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्