पृथ्वीमै मंगलग्रहको जस्तो वातावरण



लन्डन, (एजेन्सी)।

वैज्ञानिकहरुले पृथ्वी मै एक त्यस्तो स्थान फेला पारेका छन् जहाँ जीवनको सम्भावना शून्य छ। यो एक जलीय वातावरण रहेको स्थान हो। यो खोजको उद्देश्य जीवनको सम्भावनालाई कम गर्ने स्थितिको प्रारम्भिक जानकारी हासिल गर्नु हो।

नेचर इकोलोजी एन्ड इभोलुसन नामक पत्रिकामा प्रकाशित यस अध्ययनमा इथियोपियाको डेलोलस्थित जियो थर्मल क्षेत्रको गर्मी, नुनिलोपना, अत्यन्त कडा अम्लीय गुण भएको तालमा जीवन पूर्ण रुपमा असम्भव भएको उल्लेख गरेको छ। यो तालमा कुनै पनि प्रकारका सूक्ष्म जीव उपस्थित छैन।

स्पेनिस फाउन्डेसन फर साइन्स एन्ड टेक्नोलोजीका अनुसन्धानकर्ताका अनुसार डेलोल क्षेत्र नुनले भरिएको ज्वालामुखीको मुख अर्थात् खाल्डोमा अवस्थित छ।
हाइड्रोथर्मल सक्रियताका कारण यस क्रेटरबाट लगातार उम्लेको पानी र विषाक्त ग्यास निस्कने गर्छ। जाडोमा पनि यो स्थानको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा धेरै हुने गरेको उनीहरुले बताएका छन्। यो पृथ्वीको सबैभन्दा गर्मी वातावरण भएका क्षेत्र मध्यको एक हो।

यस क्षेत्रमा अत्यधिक नुन भएको र अल्ट्रा एसिडिक तलाउ पाइन्छ। अल्ट्रा एसिडिकको शून्यदेखि उच्च अल्कालाइन १४ को मानकभन्दा पनि तल पीएच शून्यभन्दा पनि कम अर्थात् नेगेटिभ स्तरमा पुगेको अनुसन्धानकर्ताहरुले बताएका छन्। शुरूमा यस प्रकारको कठिन वातावरणमा केही सूक्ष्म जीव हुर्कन सक्ने सम्भावना भएको अनुसन्धानमा उल्लेख गरिएको थियो।

अनुसन्धानकर्ताहरुले यो स्थानलाई मंगल ग्रहजस्तो मानेका छन्। उनीहरुका अनुसार यहाँको स्थिति मंंगलग्रहको जस्तो छ। यस अनुसन्धानका सहलेखिका लोपेज गार्सियाले भनिन्– ‘विगतका अनुसन्धानको तुलनामा हामीले यो पटक धेरै नमुनाको जाँच गर्यौं। यो नुनिलो, तातो र अल्ट्रा एसिडिक तालमा सूक्ष्म जीव बाँच्न सक्ने सम्भावना शून्य भएको निष्कर्षमा पुग्यौं।’

प्रतिक्रिया दिनुहोस्