गढीमाई मेलामा जुवा र अश्लील नृत्य 



नेपाल समाचारपत्र, बारा। 
बाराको बरियारपुरमा जारी  पञ्चवर्षीय गढीमाई  मेलामा मनोरञ्जनका नाममा  जुवा र अश्लिल नृत्य हुने गरेको पाइएको छ। महागढिमाई नगरपालिका र मेला व्यवस्थापन मुल समितिको मिलेमतोमा गैरकानुनी र अश्लिल नृत्यले प्रश्रय पाएको हो।
नगरपालिकाले  मेलामा मनोरञ्जनका लागि भारतको रेशमा  एण्ड  करिशमा थिएटरलाई १ करोड २२ लाखमा  ठेक्का दिइएको छ।  मनोरञ्जनको ठेक्का पाएको ठेकेदारले मेला परिशरमा बाल उद्यान, मौतका कुवा, सर्कस्, पिङसगै अश्लिल गित बजाएर अर्धनग्न नाचसमेत सञ्चालन गर्दै आएको छ। सरोकारवाला निकायले नियन्त्रण गर्न चासो नदेखाएपछि अश्लिल सामाग्रीका कारण मेला भर्न आएका सर्वसाधारणले समस्या बेहोर्नु परेको छ।
मनोरञ्जनको नाममा दैनिक हजारौ युवाहरू थिएटरको अश्लिल नृत्यमा आकर्षित हुने गरेका छन्। सो कम्पनीको बाहेक मेला परिशरमा थप १० कम्पनीका थिएटरहरू पनि सञ्चालनमा छन्। मेला आयोजक समितिले थिएटरहरू मध्ये ९ ओटासँग प्रति थिए टर २ लाख  र एउटासँग ३ लाख रुपियाँ लिने सम्झौता अनुसार ७ लाख रुपियाँ अग्रिम रकम बुझिसकेको  छ।
ति थिएटरहरूमा ९ बजे पछि रातभर अश्लिल गित बजाएर नग्न नृत्य हुने गरेको छ। अश्लिल नृत्यको लागि काठमाडौका डान्सबारबाट  युवतीहरू झिकाइएको स्रोतले बताएको छ। गढिमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष  रामचन्द्र साह तेलिले पनि मेलामा जुवातास र  अश्लिल गित बजाएर नाँगो नाच सञ्चालन हुने गरेको बताउनुभयो।
‘यसपटकबाट नगरपालिकाले मेलामा अश्लिल नृत्य र जुवातास संचालन गरेको छ, अध्यक्ष तेलीले भन्नुभयो– ‘स्थानीय प्रशासनले गैह्रकानुनी कार्य गर्ने गराउनेमाथि तत्काल कारवाही गर्नुपर्छ।’ उहाँले अफुलाई कुनै जानकारी नै नदिइ मेलामा गैरकानुनी कार्य हुदै आएको पनि बताउनुभयो। यसअघि समितिको अध्यक्षको रुपमा ३ पटक गढिमाई पञ्चवर्षीय मेला सञ्चालन गरिसक्नुभएका अध्यक्ष तेलिले  मेलामा अश्लिल नाचगान  र  खुल्ला रुपमा  जुवातास  भने पहिलो पटक सञ्चालनमा आएको  बताउनुभयो।

यसअघि मेला गढिमाई मन्दिर संचालन तथा विकास समिति मार्फत  संचालन हुदै आएको मेला यस वर्षदेखि भने नगरपालिका आफैंले मुल समिति गठन गरेर संचालन गर्दै आएको छ। स्थानीय स्वायत्त शासन ऐन अनुसार महागढीमाई नगरपालिकाले मेलको सबै ठेक्कापट्टा आफै लगाएर कारोबार गर्दै आएको छ। मंसिर १  गतेदेखि सञ्चालनमा आएको मेलामा  अश्लिल थिएटर भने  १० गतेदेखि चालु भएको  तेलिले जानकारी दिनुभयो।

बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले  मेला भइरहेको भनिएको जुवातस र अश्लिल नृत्य बारे आफूहरूलाई जानकारी नभएको बताउनुभयो। ‘मेलामा कुन चिज कति बेलासम्म चल्छ हामीलाई पनि थाहा हुँदैन, प्रजिअ पोखरेलले भन्नुभयो, ‘समितिले मेलामा जाँड रक्सी जुवातास र अश्लिल गतिविधि निषेध गरेको छ,  यदि कसैले लुकिछिपी रुपमा त्यस्तो काम गरेको भए पनि बन्द हुन्छ।’

प्रतिक्रिया दिनुहोस्