उपनिर्वाचन सुदूरपश्चिम : पाँच वडामा नेकपा दुईमा कांग्रेस विजयी



नेपाल समाचारपत्र, बैतडी।  
बैतडीसहित सुदूरपश्चिममा रिक्त रहेका ५ जिल्लाका ७ वडामा उपनिर्वाचन सम्पन्न भएको छ। अन्तिम मत परिणाममा ७ वडामध्ये ५ वडामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र २ वडामा नेपाली कांग्रेस विजयी भएको छ।  बैतडीको पुर्चौडी नगरपालिका–४, डोटीको आदर्श गाउँपालिका–२, अछामको मेल्लेख गाउँपालिका–५, बाजुराको त्रिवेणी नगरपालिका–१  र कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा नेकपाका उमेदवार विजयी भएका छन्।
सुदूरपश्चिममा बैतडीको दोगडाकेदार गाउँपालिका ४ र  सुर्नया गाउँपालिका १ मा मात्रै नेपाली कांग्रेस विजयी भएको हो। बैतडीको पुर्चौडी नगरपालिका ४ मा नेकपाका शैलेन्द्र धानुकले १ सय ५ मत बढी ल्याएर विजयी हुनुभएको छ। कुल खसेको १ हजार ३ सय ३० मतमध्ये विजयी धानुकले ६ सय ६३ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोबिन्दबहादुर धामीले ५ सय ५८ मत प्राप्त गर्नुभयो।
यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर बोहराले ३५ मत प्राप्त गर्नुभयो भने भने ७५ मत बदर भयो।  डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका रामबहादुर बोहरा ६ सय ६८ ल्याएर विजयी हुनुभएको छ।

उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका महादेव साउँदले ६ सय ५६ मत प्राप्त गरेका छन्। त्यस्तै राप्रपाका कासिराम ओझाले १५ र स्वतन्त्र उम्मेदवार भूमिसिंह खड्काले १ सय ९१ मत प्राप्त गर्नुभएको छ। डोटीमा कुल १ हजार ५ सय ९० मत खसेकोमा ६० मत बदर भयो।

अछामको मेल्लेख गाउँपालिका–५ मा नेकपाका  उम्मेदवार रमेश खड्का ७ सय ७८ ल्याएर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वीरबहादुर बोहराले ५ सय ६३ मत प्राप्त गर्नुभएको छ। कुल १ हजार ३ सय ५६ मत खसेकोमा  १५ मत बदर भएको थियो।

बाजुराको त्रिवेणी नगरपालिका–१ छतारामा  कांग्रेसका  खगेन्द्र चदारालाई २० मतले पराजित गर्दै नेकपाका वडा अध्यक्ष मनराज बुढा विजयी हुनुभएको छ। मनराजले ३ सय ६७ मत पाउनुभयो भयो चदाराले ३ सय ४७ मत प्राप्त गर्नुभयो।  यस्तै कञ्चनपुरको  पुर्नवास नगरपालिका–३ मा नेकपाका उम्मेदवार विजयी हुनुभएको छ। नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ ५ सय २८ मत ल्याएर विजयी हुनुभएको छ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत प्राप्त गर्नुभएको छ। यस्तै समाजवादी पार्टी नेपालका भीम तामाङले ७५ मत प्राप्त गर्नुभएको छ। कुल एक हजार १ सय २९ मतदातामध्ये ९ सय २४ मत खसेको थियो। जसमा ४ मत बदर भएको छ।
कांग्रेस बैतडीका दुई वडामा मात्रै विजयी

सुदूरपश्चिमका ७ वडामा सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेस बैतडीका २ वडामा मात्रै विजयी भएको छ। दोगडाकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।  दोगडाकेदार–४ मा विजयी सुरेन्द्रप्रसाद भट्टले निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेन्द्रप्रसाद भट्टभन्दा १ सय बढी भोट प्राप्त गरेर विजयी हुनुभएको हो।

कुल खसेको १ हजार ९८ मतमध्ये विजयी भट्टले ५ सय ८४ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी भट्टले ४ सय ८४ मत प्राप्त गर्नुभयो।  यस्तै राप्रपा संयुक्तका देबसिंह खत्रीले ६ मत पाउनुभयो भने २४ मत बदर गयो।

यस्तै  सुर्नया गाँउपालिका–१ मा कांग्रेसका उम्मेदवार गजेन्द्रबहादुर चन्द विजयी हुनुभएको छ। मतदानमा खसेको जम्मा ४ सय ३८ मतमध्ये २ सय १९ मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो।

उहाँका प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २ सय १५ मत प्राप्त गर्नुभएको छ भने ४ मत बदर भएको छ।

सुदूरपश्चिममका ५ जिल्लाका ७ वटा वडाअध्यक्ष पदको रिक्त पदका लागि २२ जना चुनावी मैदानमा रहेका थिए।

प्रतिक्रिया दिनुहोस्